शुक्रबार, मंसिर ७ गते २०८१    
images
images

काभ्रेमा बढ्दैछ व्यावसायिक कृषिको लहर

images
शुक्रबार, कात्तिक १७ २०८०
images
images
काभ्रेमा बढ्दैछ व्यावसायिक कृषिको लहर

त्यसो त पाँचखाल क्षेत्रका किसान आफैले उत्पादन गरेको आलु र गोलभेँडाबाट परिकार उत्पादनतर्फ उन्मुख देखिएका छन्। आलुबाट चिप्स तथा गोलभेँडाबाट सस बनाउने अभियानमा लागेका उनीहरु ‘उद्योगी’ बन्ने तरखरमा छन्।

images
images

काभ्रेपलाञ्चोक- केन्द्रीय राजधानी काठमाडौंलगायत मुख्य सहरमा चाहिने तरकारीमध्ये ३० प्रतिशत काभ्रेपलाञ्चोकको उत्पादनले धानेको प्रतिवेदनले देखाउँदै आएको छ। विशेषगरी आलु र गोलभेँडाले काभ्रेपलाञ्चोक प्रख्यात छ।

images
images
images

अन्य तरकारीमा पनि अग्रणी देखिएको यस जिल्लामा पछिल्लो वर्ष व्यावसायिक रुपमा कृषि उत्पादनमा लागेको पाइन्छ। यहाँका पानी उपलब्ध भएका जमिन र हरेक समथर फाँटमा टनेलमा सुरक्षित साथ तरकारी उत्पादन गरेको देख्न सकिन्छ।

images

काभ्रेपलाञ्चोकको पनौती नगरपालिका-८ खरिबोटका कृष्ण श्रेष्ठ र इन्दु श्रेष्ठको दैनिकी हिजोआज आफ्नै खेतबारीमा बित्ने गरेको छ। केही वर्षअघि वैदेशिक रोजगारीमा गएर सोचेजस्तो कमाइ नभएपछि तीन वर्षअघि स्वदेश फर्किएर उनीहरुले पनौतीमै सात रोपनी जग्गा भाडामा लिएर व्यावसायिक तरकारी खेतीमा लागे। अहिले उनीहरु आफ्नै व्यवसायबाट सन्तुष्ट छन्।

images

इन्दुले नौ वर्ष र कृष्णले तीन वर्ष विदेशमा बसेर दम्पतीले कमाएको पाँच लाख र थप पाँच लाख रूपैयाँ सापटी लिएर सुरु गरेको तरकारी खेतीबाट उनीहरुले अहिले वार्षिक १० देखि १२ लाख रूपैयाँसम्म कमाइ हुने गरेको छ। 'यसबाट हामी सन्तुष्ट छौँ', इन्दुले भनिन्। उनीहरुले सात रोपनी जग्गाको वार्षिक एक लाख ३० हजार रूपैयाँ भाडा तिर्नुपर्ने सम्झौता गरेका छन्।

त्यसो त, नेपालमा बेरोजगार भएपछि वैदेशिक रोजगारीमा जानु हिजोआज सामान्य जस्तै भएको छ। एकातिर यो बाध्यता भएको छ भने अर्कातिर ‘फेसन’कै रुपमा विदेशिएका पनि पाइन्छन्। यसै बीचमा विदेशमा भनेजस्तो काम नपाएर हन्डर खाएपछि स्वदेश फर्किएर कृषिमा रमाउनेहरु पनि भेटिन थालेका छन्।

वरिपरि हरियो वातावरणसँगै फाँटै सेताम्य हुने गरी प्लास्टिकका टनेलले भरिएको श्रेष्ठ दम्पतीको कृषि फार्म अहिले गोलभेँडालगायत ४५ वटा टनेलामा तरकारीले भरिएको छ। तरकारी खेतीका लागि सिँचाइको पनि व्यवस्था आफैले मिलाएको उनले बताए। 'केही गर्छु भन्नेका लागि स्वदेशमै आम्दानीको अवसर रहेछ, हामी काम खोज्दै विदेश गएर धेरै दुःख पायौँ, अहिले हामी खुसी छौँ, उत्पादन त राम्रै हुन्छ तर कुनै वर्ष तरकारीको उचित मूल्य पाइँदैन, यस वर्ष भने गोलभेँडाले राम्रै भाउ पायो र लगानी उठाउन सहज भयो', कृष्णले भने।

यतिबेला गोलभेँडा र विविध तरकारीले श्रेष्ठ दम्पतीको कृषि व्यवसाय ढाकिएको छ। उनीहरुले अब एउटा सानो गाडी भाडामा लिएर भए पनि आफै चलाएर तरकारी बजार लैजाने योजना बनाएका छन्। इन्दुलाई सानो काखे बच्चा च्यापेर दिनभरि काममा खटिन सजिलो त छैन तर विदेशमा गएर काम गर्नुभन्दा आफ्नैमा जे सकेको गर्न र जे भएको खान पाइएकामा उनी सन्तुष्ट देखिन्छिन्। उनी भन्छिन्, 'दैनिक रुपमा विदेशिएका हजारौँ युवालाई सरकारले यस्ता कृषि कार्यमा लगाउनुपर्नेमा त्यसो हुन सकेको छैन।' काम नपाएर विदेशको मात्रै रटान दिनेहरुका लागि श्रेष्ठ दम्पती उदाहरण बनेका छन्। अब शरीरले सकुन्जेल यसरी नै तरकारी खेती गरिरहने कृष्ण र इन्दुले सोच बनाएका छन्।

मौसमअनुसारका सबैखाले तरकारी लगाउने गर्छन् उनीहरु। काउली, बन्दाकोभी, बोडी, साग, करेला, गोलभेँडा, काँक्रालगायत तरकारी लगाउँदै आएका उनीहरुले व्यावसायिक कृषिका नाममा कतैबाट सहयोग लिएका छैनन्। सरकारले सहयोग गरे थप ४५ वटा टनेल थपेर अरू पनि तरकारी खेती गर्ने कृष्णले बताए।

यस्तै काभ्रेपलाञ्चोकको सदरमुकाम धुलिखेलबाट करिब सय किलोमिटर टाढा कोशीपारिस्थित चौँरीदेउराली-७ मादनकुँडारीका युवा दवामानसिंह लामा यतिबेला बारीमा उत्पादन भएको तरकारी बजारमा बेच्नमा व्यस्त छन्। विगत केही वर्षदेखि तरकारी उत्पादन गर्दै बजारीकरण गरेर आम्दानीको स्रोत पहिल्याउँदै आएका उनले बारीमा बन्दाकोभी, धनियाँ, पालुङ, घ्यू सिमी, काउली, चम्सुर, मेथी, लसुन, बोडी र सागसब्जी उत्पादन गर्दै आएका छन्।

पाँच वर्षअघि क्षेत्रीय कृषि तालिम केन्द्र धनुषाबाट ५१ दिनको तरकारी खेती गर्ने तरिकासम्बन्धी तालिम लिएका लामाले करिब दुई वर्षअगाडि देखि निरन्तर खेतीमा लाग्दै आएका छन्। 'बारीमा उत्पादन भएको तरकारी गाउँकै मादन, कुँडारी, कात्तिके देउरालीको बजारमा बिक्री हुने गरेको छ', उनले भने।

एकातिर बजार सानो अर्कोतिर आफ्नो भएको थोरै बारीमा उत्पादन गरेको तरकारी बिक्रीका लागि खासै समस्या नभएको उनले बताए। उनका अनुसार वडाका कर्मचारी तथा विद्यालयका शिक्षक आफैले पनि ताजा तरकारीका लागि बारीमा नै आएर किनेर लैजाने गर्छन्।

तरकारी खेतीबाट शिक्षण र घर खर्चका लागि कुनै समस्या नभएको उनी बताउँछन्। तरकारी खेतीका लागि आवश्यक पानी नहुँदा सोचेजति उत्पादन गर्न नसकेको उनले दुखेसो गरे। हाल उनी हातधुने र कपडा धोएर खेर जाने पानीलाई संकलन गरेर तरकारी खेती गर्छन्। उनीहरुजस्ता परिश्रमी र पौरखी किसानलाई सरकारले आवश्यक सहयोग गर्नैपर्ने जरुरी देखिन्छ।

त्यसो त पाँचखाल क्षेत्रका किसान आफैले उत्पादन गरेको आलु र गोलभेँडाबाट परिकार उत्पादनतर्फ उन्मुख देखिएका छन्। आलुबाट चिप्स तथा गोलभेँडाबाट सस बनाउने अभियानमा लागेका उनीहरु ‘उद्योगी’ बन्ने तरखरमा छन्। एकीकृत शत्रुजीव व्यवस्थापन प्रविधि (आईपीएम) कृषक पाठशालामा अध्ययन गरी तरकारीलगायत खाद्यान्नमा विषादी न्यूनीकरण गरिरहेका पाँचखालका कृषकलाई लव ग्रिन नेपाल नामक संस्थाले उद्यामीतर्फ प्रोत्साहित गरिरहेको छ। उक्त संस्थाले स्थानीय चार सहकारीका महिलालाई चिप्स र सस बनाउने तालिम प्रदान गरिसकेको छ।

'क्रमशः अन्य सहकारीमा आबद्ध कृषकलाई तालिमसँगै उद्यमी बनाउने अभियानमा छौँ, उद्यामी बन्ने कृषकलाई सहकारीमार्फत लगानी गर्दे जानेछौँ', लभ ग्रीनका कार्यकारी निर्देशक नारायण ज्ञवालीले भने।

किसानलाई उद्योगी बनाउने यस उद्देश्यले पाँचखाल नगरपालिकाको उत्पादनमूलक उद्योग स्थापना गर्ने उद्देश्य पूर्ति गर्दै जाने अपेक्षा गरिएको छ। किसानले सानो पूँजीले आफैले उत्पादन गरेको तरकारीबाट घरमै थप परिकार निर्माण गरी आयआर्जन गर्न सकिने उद्देश्यले इच्छुक कृषकलाई तालिम प्रदान गर्दै जाने उक्त संस्थाको योजना छ। उक्त संस्थाले केही वर्षदेखि पाँचखालमा आईपीएम, पशु व्यवस्थापन तथा स्वस्थ दूध उत्पादनजस्ता कृषक उपयोगी तालिम दिँदै आएको छ भने तरकारीमा विषादी तथा रासायनिक मल न्यूनीकरण गरी कृषकलाई प्रांगारिक कृषि उत्पादनतर्फ लैजान निरन्तर प्रयासरत छ।

पाँचखाल नपा-७ का शिवराज श्रेष्ठ तरकारीलगायत अन्य बालीमा रासायनिक विषादीको विकल्पमा आफै जैविक विषादी बनाएर बालीमा हाल्दै आएका छन्। 'जैविक विषादी र मल बनाउन घरमा थेग्न सक्नेसम्म गाईवस्तु थप्ने गरेको छु, गाईवस्तुबाट जैविकताका लागि मलमूत्र महत्वपूर्ण हुन्छ', उनले भने। उनले आफ्नो २० रोपनी खेतबारीमा जैविक विषादी प्रयोग गरी केही वर्षदेखि अर्गानिक तरकारी ‘सुरक्षित उत्पादन’ उत्पादन गर्दै आएका छन्।

पाँचखाल नगरपालिका-६ का किसान सीताराम दुलाल र केदार ढुंगानाको पनि बालीमा जैविक विषादी प्रयोग गर्ने तौरतरिका एउटै छ। 'स्थानीयस्तरमा उपलब्ध जडीबुटीबाट जैविक विषादी तयार गरेर बालीमा प्रयोग गर्दा स्वस्थकर र उत्पादन लागत कम हुनेगर्दै आएको छ', ढुंगानाले भने।


प्रकाशित : शुक्रबार, कात्तिक १७ २०८००९:१३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend