आइतबार, असार २१ गते २०८३    
आइतबार, असार २१ २०८३

कुखुराबाट ऋणमा डुबेका अनिललाई गाईभैँसी र तरकारीले उकास्यो, वार्षिक २० लाखभन्दा बढीको कारोबार

सोमबार, कात्तिक १३ २०८०
कुखुराबाट ऋणमा डुबेका अनिललाई गाईभैँसी र तरकारीले उकास्यो, वार्षिक २० लाखभन्दा बढीको कारोबार

उनलाई फार्ममा काम गर्नका लागि परिवारले पनि सघाउँदै आएका छन्। उनले बाहिरी दुई जनालाई दैनिक रोजगारसमेत दिएका छन्।

गल्याङ- स्याङ्जाको फेदीखोला गाउँपालिका-३, भाटखोलाका २८ वर्षीय अनिल पौडेल साथीसंगी लहलहैमा लागेर १८ वर्षको उमेरमै विदेश पसे। पढाइमा अब्बल मानिएका उनको १२ कक्षा उत्तीर्णपछि औपचारक शिक्षा बीचमै रोकिन पुग्यो। उनी विदेश पसेर राम्रै कमाइ गर्न थाले तर बिरामी परेपछि स्वदेश फर्किए।

उनले विदेश कहिल्यै नजाने निधो गरेर फेदीखोला गाउँपालिका-२, खड्केटारीमा पाँच वर्ष पहिले एक हजार कुखुरापालनबाट व्यवसाय सुरु गरे। चार लाखबाट सुरु गरेको अनिलको व्यवसाय बजारको अभावमा दुई वर्ष नपुग्दै सात लाख ऋणमा डुब्यो।

व्यवसायबाट सन्तुष्ट हुन नसकेका उनले कुखुरापालन छोडेर १० लाख रूपैयाँ ऋण लिएर महालक्ष्मी कृषि तथा पशुपालन फार्ममार्फत पुनः भैँसी पाल्न सुरु गरे। 'अहिले फार्ममा ६ भैँसी र तीन गाई छन्, भैँसीमध्ये तीन दुहुना र तीन ब्याउनी हुन्, गाईमध्ये एक दुहुनो, एक ब्याउनी र एक बाच्छी हुन्', उनले भने, 'चार पाडी अँधिया पाल्न दिएको छु, दैनिक ३०/३५ लिटर दूध उत्पादन हुन्छ, वार्षिक १२ देखि १५ लाख रूपैयाँको दूध बिक्री हुन्छ।' कुनै बेला १८ सम्म भैँसी पुर्‍याएका उनले कामदार अभावमा भैँसीलाई घटाएर गाई थपे।

उनले १४ टनेलमा गोलभेँडा, काँक्रो, सिमी, काउलीलगायतका तरकारी उत्पादन गर्दै आएका छन्। 'तीनदेखि पाँच टनेलबाट वार्षिक दुई हजार, २१ सय किलो अमिता जातको गोलभेँडा उत्पादन गरेर बिक्री गर्ने गरेको छु', उनले थपे, 'गोलभेँडा गुणस्तरीय भएकाले प्रतिकिलो एकसय २० रूपैयाँमा सजिलै बिक्री हुन्छ, गोलभेँडाको वार्षिक दुई लाख ४० हजारको कारोबार हुन्छ।'

त्यस्तै उनले तीन टनेलबाट वार्षिक चार हजार किलो बेमौसमी क्राँक्रो उत्पादन गर्दै आएका छन्। किसान अनिलले एक सय ४० देखि एक सय ५० रूपैयाँमा प्रतिकिलो काँक्रो बिक्री गर्दै आएका छन्। उनले काँक्रोको वार्षिक पाँच लाख रूपैयाँको कारोबार गर्छन्। उनले काँक्रो सकिएपछि खरभुजा लगाउने जानकारी दिए। 'मेरो फार्ममा तीन टनेलमा इटलियन एफवान जातको वार्षिक पाँच/छ सय किलो सिमी उत्पादन गर्दै आएको छु', उनले भने, 'सिमीको बजार भाउ ७० देखि एक सय २० सम्म हुन्छ, सिमीको पनि रु ६० देखि ८० हजार रूपैयाँसम्मको कारोबार हुन्छ।

यस्तै उनको फार्ममा चार/पाँच सय बोट काउली हुर्किरहेका छन्। काउली प्रतिकिलो एक सयदेखि एक सय ५० रूपैयाँ सम्ममा बिक्री हुन्छ। एक महिनाभित्र यहाँ उत्पादित काउली बजार पठाउन सकिने उनले बताए। उनले यसअघि उत्पादन भएको काउलीको एक वर्षको अवधिमा ५० हजारको कारोबार भएको दाबी गरे। उनले वार्षिक ८०/९० मुरी धान समेत उत्पादन गर्छन्। अनिलले उत्पादित तरकारी र दूध पोखराका विभिन्न डेरी र पसलमा आफैले पुर्‍याएर फर्कन्छन्।

फार्म ७० रोपनी क्षेत्रफलमा फैलिएको छ। त्योमध्ये ३५ रोपनी आफ्नै जग्गा र ३५ रोपनी भाडाको जग्गा हो। अनिलको कामदार र परिवारका लागि छुट्टाछुट्टै दुई वटा आवास, एक गोठ, १४ प्लाष्टिक टनेल छन्। उनले उन्नत जातका घाँस पनि लगाएका छन्। 'युएनडिपीको कार्यक्रमअन्तर्गत ५० प्रतिशत लागत साझेदारीमा पाँच टनेलका लागि पाँच लाख पाएपछि व्यवसाय विस्तारका लागि झन हौसला बढ्यो', उनले भने, 'युएनडिपीको अनुदान प्राप्त गर्नका लागि गाउँपालिकाले मलाई सिफारिस गर्‍यो।'

उनले गाउँपालिकाले किसानले उत्पादन गरेको कृषिउपज खरिद गर्ने कार्य प्रशंसायोग्य भए पनि खरिद मूल्य अत्यन्त न्यून रहेको दुखेसो पोखे। 'कृषि ज्ञान केन्द्र स्याङ्जाले ३० रोपनी क्षेत्रफलमा आलु लगाउने समूहलाई अनुदान दिने भनेको रहेछ', उनले भने, 'मैले ३० रोपनीमा हैन ४० रोपनीमा आलु लगाउँछु, मलाई अनुदान दिनुहोस् भनेको छु।' उनलाई फार्ममा काम गर्नका लागि बुबा उमालाल र आमा कमला उपाध्याय, श्रीमती मञ्जु पौडेलले सहयोग गर्दै आएका छन्। उनले बाहिरी दुई जनालाई दैनिक रोजगारसमेत दिएका छन्।

फेदीखोला गाउँपालिकाका अध्यक्ष घनश्याम सुवेदीले पालिकाभित्र बाँझो जग्गालाई अधिकतम प्रयोगमा ल्याएर उत्पादन र उत्पादकत्व वृद्धि गराउने उद्देश्यले बाँझो जग्गा अधिकतम उपयोग गर्ने किसानलाई कार्यविधि बनाएर अनुदान दिएको बताए। उनले १८ रोपनी बाँझो जग्गा भाडामा लिए धान र तरकारीजन्य कृषिउपज उत्पादन गरेको जनाउँदै महालक्ष्मी कषि तथा पशुपालन फार्मका सञ्चालक अनिललाई ४५ हजार रूपैयाँ अनुदान दिएको बताए।

'फेदीखोला गाउँपालिकामा बाँझो जग्गा उपयोग अनुदान कार्यक्रमअन्तर्गत अहिलेसम्मकै बढी अनुदान पाउने कृषकमा अनिल पर्नुहुन्छ', गाउँपालिका अध्यक्ष सुवेदीले भने, 'गाउँपालिकाले उनलाई युवा उद्यम कार्यक्रममार्फत बिनाब्याज बिनाधितो पाँच वर्षका लागि पाँच लाख रूपैयाँ ऋणसमेत उपलब्ध गराएको छ।' वैदेशिक रोजगारबाट फर्किएर गाउँ फर्केका हरेक युवालाई पालिकाले स्वरोजगार बन्न सहयोग गरिरहेको उनले बताए। रासस


प्रकाशित : सोमबार, कात्तिक १३ २०८००५:४०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend