बुधबार, माघ ९ गते २०८१    
बुधबार, माघ ९ २०८१
images
images

आज पाटन घुमेर भोलि पोखरा जाँदैछन् राष्ट्रसंघका महासचिव गुटेरेस, मंगलबार लुम्बिनी पुग्ने

पर्यटन प्रवर्द्धनदेखि शान्ति प्रवाहसम्मका अपेक्षा

images
आइतबार, कात्तिक १२ २०८०
images
images
आज पाटन घुमेर भोलि पोखरा जाँदैछन् राष्ट्रसंघका महासचिव गुटेरेस, मंगलबार लुम्बिनी पुग्ने

संयुक्त राष्ट्रसंघका महासचिवको करिब १५ वर्षपछि नेपालमा हुन लागेको भ्रमणलाई निकै महत्त्वका साथ हेरिएको छ।

images
images
काठमाडौं- नेपालको औपचारिक भ्रमणमा रहेका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस सिंहदरबार पुगेका छन्। नेपालको चारदिने भ्रमणमा रहेका उनले आज सिंहदरबारमा प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड', उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का र परराष्ट्रमन्त्री एनपी साउदलाई भेटेका छन्। 
 
उनी आजै पाटन दरबार क्षेत्रको अवलोकन गर्न ललितपुर जाँदैछन्। गुटेरेसले आज दिउँसो पाटन दरबार क्षेत्रको अवलोकन भ्रमण गर्ने कार्यक्रम रहेको पाटन सङ्ग्रहालय अधिकृत सुरेशमान लाखेले जानकारी दिए।
 
पाटन दरबार क्षेत्र अवलोकनका लागि आउने महासचिव गुटेरेसलाई महानगरका प्रमुख चिरीबाबु महर्जन, उपप्रमुख मञ्जली शाक्य, प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डित, महानगरका प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्रदेव भारती, वडा नं १६ का वडाध्यक्ष निर्मलरत्न शाक्य, वडा नं १२ का वडा अध्यक्ष नारायणलाल अवाले, पाटन दरबार क्षेत्रका प्रमुख मञ्जु सिह, सङ्ग्रहालय अधिकृत सुरेशमान लाखेसहितले स्वागत गर्ने कार्यक्रम रहेको छ। अवलोकन भ्रमणपश्चात् महासचिव गुटेरेस पत्रकारसँग संक्षिप्त प्रतिक्रियासमेत दिने कार्यक्रम रहेको नगरप्रमुख महर्जनले जानकारी दिए।
 
उपत्यकाका प्रसिद्ध तीन सहरमध्ये पाटन सबैभन्दा पुरानो सहर मानिन्छ। यो सहर बरदेवले स्थापना गराएका हुन्। पाटन दरबार क्षेत्र एक प्राचीन स्मारकको धरोहरका रूपमा छ। यहाँ सत्रौँ शताब्दीदेखिका कला र सांस्कृतिक सम्पदा रहेको छ।
 
यस्तै सोमबार महासचिव गुटेरेस पर्यटकीय नगरी पोखरा जाने कार्यक्रम छ। आइतबार काठमाडौं आएका उनी सोमबार पोखरा भ्रमणमा जान लागेका हुन्। महासचिव गुटेरेस मंगलबार बिहान अन्नपूर्ण आधार शिविर जाने कार्यक्रम रहेको कास्कीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले जानकारी दिए। उनको भ्रमण लक्षित गरी सुरक्षाव्यवस्था समेत कडा पारिएको छ।
 
सन् २०१७ मा संयुक्त राष्ट्रसंघको महासचिव भएपछि पहिलोपटक नेपालको भ्रमण गर्न लागेका गुटेरेसले यहाँको शान्ति प्रक्रिया, दिगो विकास, जलवायु परिवर्तनलगायत विषयमा छलफल गर्ने जनाइएको छ। राष्ट्रसंघका महासचिवको करिब १५ वर्षपछि नेपालमा हुन लागेको यस भ्रमणलाई निकै महत्त्वका साथ हेरिएको छ। महासचिव गुटेरेसको भ्रमणमा पर्यटकीय नगरी पोखरा समेटिनुले पोखराको गरिमा र महत्त्व अझै बढ्ने विश्वास लिइएको छ।
 
अतिविशिष्ट व्यक्तिको पोखरामा हुन लागेको भ्रमण आफूहरूका लागि ठूलो गौरवको विषय भएको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले बताए। 'महासचिव गुटेरेस पोखरा आउनुहुने कुरा हाम्रा लागि अत्यन्त खुसीको कुरा हो', उनले भने, 'पोखराबाट अन्नपूर्ण आधार शिविरमा पुगी उहाँले जलवायु परिवर्तन, यसले पारेका प्रभाव, हिमालको अवस्था आदिको स्थलगत अवलोकनसँगै स्थानीयसँग गर्ने भनिएको छलफल एवं अन्तरक्रियाले ठूलो महत्त्व राख्दछ।' 
 
महासचिव गुटेरेस अन्नपूर्ण आधार शिविर जाने कुराले त्यहाँका पर्यटन व्यवसायी पनि हर्षित छन्। आरोहणका दृष्टिले विश्वकै जेठो हिमालका रुपमा चर्चा कमाएको अन्नपूर्ण हिमालको आधार शिविरमा संयुक्त राष्ट्रसंघका महासचिव स्वयं आउन लागेको विषयले यहाँका पर्यटन व्यवसायी उत्साहित बनेको छोम्रोङ पर्यटन समितिका सचिव दिलीप गुरुङले बताए। महासचिवको आगमनले अन्नपूर्ण हिमाल, आधार शिविरसँगै समग्र यस क्षेत्रको विश्वव्यापी प्रवर्द्धन हुने विश्वास लिइएको उनले बताए।
 
पोखरा भ्रमणपछि महासचिव गुटेरेस मंगलबार लुम्बिनी पुग्नेछन्। उनको भ्रमण बाट लुम्बिनीको विकासका कोसेढुंगा सावित हुने लुम्बिनी विकास कोषका उपाध्यक्ष डा ल्हारक्याल लामाले बताए।
 
'नेपाल भ्रमण गर्ने हरेक राष्ट्रसंघका महासचिवको बुद्धको जन्मस्थल भ्रमण गर्नु लुम्बिनीकै  इतिहास, गौरव र बुद्धको सन्देश संसारभर पुर्‍याउन सफलता मिलेको छ', उनले भने, 'यसपटक पनि भ्रमणले निरन्तरता पाउने भएकाले लुम्बिनीवासीका लागि यो गौरवको विषय बनेको छ।'
 
महासचिव गुटेरेसको भ्रमणका क्रममा प्रधानमन्त्री प्रचण्डसमेत लुम्बिनी जाने कार्यक्रम तय भएको कोषका उपाध्यक्ष डा लामाले जानकारी दिए। यसबाट राष्ट्रसंघको रोहवरमा दस वर्षे युद्धपछि माओवादी पार्टी शान्ति प्रक्रियामा आएको र विस्तृत शान्तिसम्झौता हुँदै हाल संविधान कार्यान्वयन र शान्ति प्रक्रियाकै अन्तिम चरणमा रहेको अवस्थामा महासचिवको लुम्बिनी भ्रमणका बेला प्रधानमन्त्रीसमेतको सहभागिताले विश्वभर शान्तिको सन्देश जाने उनले बताए।
 
राष्ट्रसंघको मुख्य उद्देश्य विश्वमा शान्तिको सन्देश पुर्‍याउनु हो। महासचिवको लुम्बिनी भ्रमणले नेपालको भूमिबाट विश्वभर शान्तिको सन्देश पुग्नु नेपालका लागि गौरवको विषय भएको उपाध्यक्ष लामाको भनाइ थियो। यस भ्रमणले अहिले विभिन्न मुलुकबीच भइरहेका युद्धलाई नेपालबाट शान्तिको सन्देश प्रभाहित हुनु नेपालका लागि अर्को गौरवको विषय हुने भएको छ। यस भ्रमणले नेपालमा अहिले देखिएको आर्थिक संकटलगायत समस्या समाधान गर्न, लुम्बिनीलाई धार्मिक पर्यटकीय हिसाबले विकास गर्न, बृहत्तर लुम्बिनीको पर्यटन प्रवर्द्धनबारे विश्वभर प्रचारप्रसार गर्न र संसारका सम्पूर्ण मानवको शान्तिका लागि सहयोग मिल्ने अपेक्षा गरिएको छ।
 
महासचिव गुटेरेसको स्वागतका लागि कोषले आवश्यक तयारीसमेत गरिसकेको कोषका सदस्यसचिव सानुराजा शाक्यले जानकारी दिए। उनका अनुसार मंगलबार बिहान करिब ९ बजेदेखि १० बजेभित्र महासचिव गुटेरेस लुम्बिनीको औपचारिक कार्यक्रममा रहनेछन्।
 
महासचिव गुटेरेसलाई मंगलबार बिहान बुद्धको जन्मस्थलमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती, लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशीला श्रीपाली, कोषका उपाध्यक्ष डा लामालगायतले स्वागत गर्नेछन्।
 
यसलगत्तै महासचिव गुटेरेस शान्तिदीप हुँदै मायादेवी मन्दिरमा पुगेर प्रार्थना गर्नाका साथै र त्यहाँको वातावरण अवलोकन गर्ने कोषले जनाएको छ। कोषकतर्फबाट त्यहाँ लुम्बिनी क्षेत्र र गुरुयोजनाका विषयमा जानकारीपश्चात् सञ्चारकर्मीसँग गुटेरेसले आफ्नो शान्तिको सन्देशसहितको भनाइ राख्ने कार्यक्रम तय भएको सदस्यसचिव शाक्यले बताए। 
 
महासचिव गुटेरेस शान्तिदीपबाट मायादेवी मन्दिरसम्म पैदलै जाने र त्यसक्रममा स्थानीय आमा समूह, लुम्बिनीस्थित विभिन्न भिक्षु भिक्षुणीले स्थानीय कलासंस्कृतिसहित स्वागत गर्ने कार्यक्रम छ। 
 
उनले मंगलबार नै दिउँसो ४ बजे संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने कार्यक्रम पनि छ।


प्रकाशित : आइतबार, कात्तिक १२ २०८००९:३९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend