काठमाडौं- न्यून राजस्व संकलनले अस्तव्यस्त बनेको सार्वजनिक वित्तमा बढेको आयातले राहत दिएको छ। गएको असोजमा आयातमा वृद्धि भएपछि त्यसको प्रभाव राजस्व संकलनमा देखिएको छ।
सरकारले गरेको कडाइ तथा न्यून आर्थिक गतिविधिका कारणले घटेको वैदेशिक व्यापार बढ्न थालेसँगै राजस्व पनि बढेको छ।
भन्सार विभागको तथ्यांक अनुसार चालु वर्षको तीन महिनामा सरकारले भन्सारबाट १ खर्ब ९ अर्ब राजस्व संकलन गरेको छ। यो गत वर्षको तुलनामा १२ अर्ब धेरै हो।
गत वर्षको तीन महिनामा सरकारले ९६ अर्ब राजस्व संकलन गरेको थियो। भन्सार विभागले सार्वजनिक गरेको चालु वर्षको तीन महिनाको तथ्यांक अनुसार वैदेशिक व्यापार १.३१ प्रतिशतले बढेको छ।
त्यस्तै आयात पनि बढेको छ। दशै तथा तिहार जस्ता प्रमुख चाडपर्वको मुखमा आयात वृद्धि भएको हो। विभागका अनुसार साउनदेखि भदौस्ममको अवधिमा आयात १.६९ प्रतिशतले बढेको छ।
तीन महिनामा ४ खर्ब ७ अर्ब ७५ करोड रुपैयाँको आयात भएको छ। गत वर्षको यही अवधिमा आयात ४ खर्ब रुपैयाँको भएको थियो।
तर निर्यात भने यो अवधिमा घटेको छ। विभागका अनुसार चालु वर्षको तीन महिनामा ४० अर्ब ८७ करोड रुपैयाँको निर्यात भएको छ। गत वर्षको यही अवधिमा निर्यात ४१ अर्बको भएको थियो।
आयात बढ्ने तथा निर्यात घट्ने हुँदा व्यापार घटा २ प्रतिशतले विस्तार भएको छ।