बुधबार, माघ ९ गते २०८१    
बुधबार, माघ ९ २०८१
images
images

७ करोड ८१ लाख लागतमा महोत्तरीमा बन्दैछ कृषि उपज केन्द्र

images
आइतबार, कात्तिक १२ २०८०
images
images
७ करोड ८१ लाख लागतमा महोत्तरीमा बन्दैछ कृषि उपज केन्द्र
फाइल तस्बिर

अबको करिब एक वर्षभित्रै कृषि उपज केन्द्रको अत्याधुनिक भवन निर्माण सम्पन्न भइसक्ने बताइएको छ। दुःखले उब्जाइएको फसलले बजार नपाउँदा दिक्क बनेका किसानलाई केन्द्र निर्माण थालिएपछि ढाडस मिलेको छ।

images
images

महोत्तरी- आफ्नो फसल (बाली) ले राम्रो बजार नपाएको आमकिसानको गुनासो बढिरहेका बेला महोत्तरीको गौशालामा कृषि उपज केन्द्र निर्माण गर्न थालिएपछि यस क्षेत्रका किसान उत्साहित भएका छन्।

images
images
images

खेतीपातीका लागि आवश्यक वस्तुको अभावबीच दुःखले उब्जाइएको फसलले बजार नपाउँदा दिक्क बनेका किसानलाई केन्द्र निर्माण थालिएपछि ढाडस मिलेको हो। 'न समयमा बीउ मल पाइन्छ, न सिँचाइको भरपर्दो उपाय, त्यही पनि हामी नङ्ग्रा खियाएर जेनतेन बाली उब्जाउँदैछौँ', गौशाला-४ का ६५ वर्षीय चन्द्रमान तामाङ भन्छन्, 'यसरी उब्जाइएको फसलले पनि राम्रो बजार कहिल्यै पाएका थिएनौँ, बल्ल कृषि उपज केन्द्र बन्न थालेछ।'

images

कृषि उपज केन्द्रको भवन बनिसकेपछि आफ्नो उत्पादन बेच्न, भण्डारण गर्न सहज हुने भएकाले किसानलाई आश पलाएको छ। जिल्लामै फलफूल (आँप, लिची) र तरकारी उत्पादनको ‘पकेटक्षेत्र’ मानिएको गौशाला नगर क्षेत्रमा उपज भण्डारण र संकलन तथा बिक्री केन्द्र नहुँदा टिपेर साप्ताहिक हटिया (विभिन्न बार पारेर ठाउँठाउँमा लाग्ने साप्ताहिक हटिया) पुर्‍याएपछि कौडीकै दाममा बेचेर फर्कनुपर्ने अवस्था केन्द्र निर्माणले अन्त्य हुने किसानको विश्वास छ।

images
images
images

किसानले व्यहोरिरहेका समस्यालाई मध्यनजर गरेर नै गौशाला-५ बजार छेउमै मडहा नदीको किनारको नदी उकास प्रतिजग्गामा कृषि उपज केन्द्रको अत्याधुनिक भवन निर्माण सुरु गरिएको गौशालाका नगरप्रमुख डा दिपेन्द्र महतोले जानकारी दिए। 'नेपाल सरकारबाट केन्द्र निर्माणका लागि रकम प्राप्त भएको छ, ठेक्का बन्दोबस्तबाट निर्माण कार्य थालिएको छ', नगरप्रमुख डा महतोले भने, 'अबको करिब एक वर्षभित्रै कृषिउपज केन्द्रको अत्याधुनिक भवन निर्माण सम्पन्न भइसक्नेछ।'

केन्द्र निर्माणका लागि नेपाल सरकारले सात करोड ८१ लाख ३४ हजार तीन सय ७६ रूपैयाँको ठेक्का बन्दोबस्त गरेको नगरप्रमुख डा महतोले स्पष्ट पारे। केन्द्र निर्माणका लागि ठेक्का पाएको काठमाडौंस्थित सान्दोर्जे निर्माण सेवाले कार्यादेशमा तोकिएको समय सीमाभित्रै निर्माण कार्य सम्पन्न गरिने प्रतिबद्धता जनाएको छ।

केन्द्र निर्माण भएपछि किसानले उत्पादित फसल यहाँ ल्याएर बेच्ने र केही दिनका लागि भण्डारण गर्न सक्नेछन्। कृषि उपजको व्यापार गर्नेलाईसमेत केन्द्र निर्माणले सहज बनाउने नगरप्रमुख महतोको भनाइ छ। केन्द्र सञ्चालनमा आएपछि दैनिक चौबिसै घण्टा ताजा तरकारीको बजार रहने डा महतो बताउँछन्।

जम्मा १२ वडाको नगरक्षेत्रका करिब ५० भन्दाबढी बस्ती विभिन्न मौसमी बेमौसमी तरकारी उत्पादनका लागि उर्वरक्षेत्र मानिन्छन्। त्यसैगरी आँप र लिचीसहितका फलफूलको पनि गौशाला नगरक्षेत्र पकेटक्षेत्र रहँदै आएको छ। केन्द्र निर्माणले सबै फसलको बजार सहजीकरण गरे पनि तरकारी र फलफूल किसान बढी लाभान्वित हुने कृषि ज्ञानकेन्द्र जलेश्वरका प्रमुख वरिष्ठ कृषि विकास अधिकृत डा रामचन्द्र यादव बताउँछन्। रासस


प्रकाशित : आइतबार, कात्तिक १२ २०८००६:०७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend