काठमाडौं- उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गत खानी तथा भूगर्भ विभागले खनिज पदार्थ भण्डार गर्ने तथा जम्मा गर्ने स्थलमा खनिज कार्यको परिमाण नाप गर्ने यथोचित यन्त्र (तौलपुल) नराख्ने उद्योगलाई खनिज उत्खनन गर्न प्रतिबन्ध लगाएको छ।
विभागले बारम्बार परिमाण नाप गर्ने तौलपुल राख्नुपर्ने सूचना जारी गरिरहेको थियो। विभागको सूचनालाई बेवास्ता गरी नाप गर्ने यन्त्र नराख्नेको हकमा खनिज पदार्थ उत्खननमा नै प्रतिबन्ध लगाइएको हो।
विभागले २०७९ पुस १ गते र २०८० असार ३ गते यन्त्र राख्नका लागि आग्रह गर्दै सूचना प्रकाशित गरेको थियो। सूचना प्रकाशित भएपछि पनि तौलपुल नराख्ने उद्योगलाई उत्खननमा नै प्रतिबन्ध लगाएको हो।
विभागले खनिज पदार्थको अनियन्त्रित दोहन रोक्नका लागि उत्खनन गर्न लाइसेन्स लिएका कम्पनीहरुले अनिवार्यरुपमा मापन गर्ने तौलपुल राख्नुपर्ने व्यवस्था कार्यान्वयनमा लैजान लागेको हो।
उत्खनन अनुमतिपत्र प्राप्त गरी नियमानुसार खनिज पदार्थ उत्खनन कार्यको स्वीकृति प्राप्त गर्ने व्यक्ति/कम्पनीहरुले विद्यमान खानी तथा खनिज पदार्थ नियमावली, २०५६ को नियम १९ को (ङ) बमोजिम खनिज पदार्थ भण्डार गर्ने तथा जम्मा गर्ने स्थलमा खनिज कार्यको परिमाणको नाप गर्ने यथोचित यन्त्रहरु राख्नुपर्ने कानूनी व्यवस्था छ।
तौलपुल तथा मापन गर्ने यन्त्र राख्नुपर्ने कानूनी व्यवस्था भए पनि कतिपय कम्पनीहरुले मापन यन्त्र नराखेको अनुगमनबाट फेला परेको समेत विभागले जनाएको छ। विभागबाट उत्खनन अनुमतिपत्र जारी गर्दाको समयमा नै अनिवार्यरुपमा तौलपुलको व्यवस्था गर्नुपर्ने समेतको सर्त तोकिने गरेको छ। तर कतिपय उद्योगहरुले त्यसको पालना गरेका थिएनन्।
उत्खनन अनुतिपत्र जारी गरिएका खानी क्षेत्रमा विभागीय अनुगमनको क्रममा कतिपय खानी सञ्चालकहरुले सम्पूर्ण प्रक्रिया पूरा गरी उत्खनन/उत्पादन गरी उत्खनित खनिज पदार्थको परिमाण यकिन गर्न खानीद्वारमा तौलपुलको व्यवस्था नगरेको पाइएको विभागले जनाएको छ। अनिवार्य रुपमा तौलपुलको व्यवस्था गर्न र सोको जानकारी विभागलाई गराउन पटकपटक निर्देशन दिइएता पनि कम्पनीहरुले पालना नगरेको विभागको ठहर छ।
विभागको निर्देशन हालसम्म पालना नगरेको तथा कतिपय खानी सञ्चालकहरुले खानीद्वारमा तौलपुलको व्यवस्था नगरी अन्य स्थानमा लगेर तौल यकिन गरी सोबमोजिम रोयल्टी दाखिला गरेको पाइएको समेत विभागले जनाएको छ।
विभागले अब उप्रान्त जेठ मसान्तसम्म भित्र खानी तथा खनिज पदार्थ नियमावली, २०५६ को उल्लेखित व्यवस्था बमोजिम खानीद्वारमा अनिवार्यरुपमा तौलपुलको व्यवस्था गरी/गराई सोको जानकारी विभागलाई गराउनू भनेको छ। विभागको निर्देशन तथा कानूनअनुसार काम नभएको अवस्थामा प्रचलित खानी तथा खनिज पदार्थ सम्बन्धी कानून बमोजिम कारबाही प्रक्रिया अगाडि बढाइने विभागले चेतावनी दिएको छ।