बलेवा- नगरपालिकाभित्र कम्तीमा १० वटा गौरवका आयोजना सञ्चालन गरेर आन्तरिक आय बढाउने र रोजगारी प्रवर्द्धन गर्ने लक्ष्यसहित बागलुङ नगरपालिकाले आवधिक योजना बनाएको छ।
पाँच वर्षका लागि बजेटसहितको कार्यक्रम र २० वर्षसम्मका दीर्घकालीन योजना समावेश गरेर योजना बनाइएको नगर प्रमुख वसन्तकुमार श्रेष्ठले बताए। नगरका धार्मिक तथा पर्यटकीय गन्तव्य जोड्ने करिडोर निर्माण गर्ने योजनामा उल्लेख छ। पर्यटन प्रवर्द्धन हुँदा स्वतः रोजगारीका अवसर सिर्जना हुने योजना बनाइएको हो।
शिक्षा र स्वास्थ्यको गुणस्तर बढाउने, शतप्रतिशत संस्थागत सुत्केरी गराउने, प्रत्येक वडामा आधारभूत सेवासहितका स्वास्थ्य संस्था स्थापना गर्ने एवं ५० श्ययाको नगर अस्पताल र धौलागिरि अस्पताललाई शिक्षण अस्पतालका रुपमा विकास गर्ने योजना छ। ग्रामीण क्षेत्रबाट बसाइँसराइ रोक्न पक्की नगर चक्रपथ निर्माण गरिने पनि योजनामा छ। यसअघिको चक्रपथले सबै वडा समावेश नगरेकाले बाहिरी चक्रपथको योजना अगाडि आएको हो। छिमेकी पर्वत, म्याग्दी र मुस्ताङलाई समेत समेट्ने पर्यटन मार्गसमेत बनाउने लक्ष यी योजनामा राखिएको छ।
'एउटा पर्यटकले एउटै खर्च र समयमा चार जिल्ला घुम्ने प्रकारको रुट र पर्यटकीय प्याकेजका गन्तव्य बनाउने हो', नगरप्रमुख श्रेष्ठले भने, 'मुस्ताङका जनप्रतिनिधिसँग छलफल भइसक्यो, पर्वत र म्याग्दीका जनप्रतिनिधिको छलफल राख्दैछौँ।' पर्यटन रुट निर्धारण गरेर प्याकेजमा लैजान सकेमा कृषि तथा गैरकृषि क्षेत्रको रोजगारी पनि बढ्ने नगरप्रमुख श्रेष्ठले बताए। होटल व्यवसाय, जिप तथा ट्याक्सी र कृषिको व्यावसायिकीकरणमा रोजगारी बढाउन सकिने उनको तर्क छ।
यस योजनाले २० वर्षसम्मको दीर्घकालीन योजना पनि अगाडि सारेको छ। त्यसमा कालीगण्डकी करिडोरले चीन र भारतको व्यवसाय गर्दा यहाँको बलेवा क्षेत्रमा सुक्खा बन्दरगाह निर्माण गर्ने योजना छ। त्यसका लागि अहिलेदेखिनै सडकका मापदण्ड निर्धारण, जग्गा व्यवस्थापन र यहाँको बलेवा विमानस्थल सञ्चालनका महत्वकांक्षी योजना छन्। करिडोरलाई आधार बनाएर ग्रामीण बस्तीमा आवासीय क्षेत्र बनाउन स्तरीय शाखा सडक निर्माण, पदमार्ग तथा धार्मिक र ऐतिहासिक क्षेत्रको संरक्षण र प्रवर्द्धन गर्ने आर्थिक विकास समितिका संयोजक नारायण शर्मा पौडेलले बताए।
बागलुङ कालिका, शालग्राम संग्रहालय, पञ्चकोट, कुवेरधाम, मालिका हुँदै संसारकोटको धार्मिक पदमार्ग तथा सडक मार्ग बनाइने योजनामा उल्लेख छ। त्यस्तै प्रसिद्ध भैरवस्थान, भकुण्डे, सिगाना, बौद्ध गुम्बा हुँदै चापाखर्क जोड्ने अर्को पहाडी मार्ग बनाइने छ। हिमाली शृङ्खला हेर्दै पदयात्रा गर्ने यो मार्ग उपयोगी हुनेछ।
यसअघि यो खण्डमा अमेरिकाका भेगन समूहले पनि भ्रमण गरेका छन्। पहाडी ट्रेकिङ तथा पर्यटकीय दृष्टिले यो क्षेत्र उपयोगी भएको वडा नं ८ का अध्यक्ष छमबहादुर कार्कीले बताए।
आवधिक योजनामा एकीकृत तथा आवासीय विद्यालय बनाउने र गुणस्तर विकास गरी शैक्षिक गन्तव्य बनाउने लक्ष्य छ। ४४ प्रतिशत मात्रै रहेको खाद्य सुरक्षा बढाएर ६० प्रतिशत पुर्याउने, तरकारी, मासु र अण्डामा आत्मनिर्भर नगर बनाउने तथा ढुंगाजन्य वस्तुको निकासी गर्न सक्ने बनाउने योजना छ। त्यसका लागि वस्तुपरक योजना बनाइएको श्रेष्ठले जानकारी दिए।
यी योजना सम्पन्न गर्न नगर तथा संघीय सरकारको अनुदानमा आउने नियमित बजेट झन्डै १४ अर्ब रूपैयाँ खर्च हुनेछ। त्यसबाहेक केही पूर्वाधार र योजनामा निजी क्षेत्रको साझेदारी खोजिने योजनाको मोडल छ। गैरआवासीय नेपाली तथा ठूला व्यवसायीलाई लगानीमैत्री वातावरण बनाइदिने, सडक, खानेपानी र विद्युतीकरण गरेर उद्योग तथा व्यवसाय सञ्चालनमा साथ दिने योजनासहित ‘मेरो बागलुङ, समृद्ध र सुखी बागलुङ’ नारासमेत तय गरिएको श्रेष्ठले बताए। रासस