आइतबार, वैशाख २३ गते २०८१    
images
images

गलकोटका किसानलाई उत्पादनमा आधारित कृषि अनुदान

images
images
images
गलकोटका किसानलाई उत्पादनमा आधारित कृषि अनुदान
फाइल तस्बिर
images
images

बलेवा- बागलुङको गलकोट नगरपालिकाले किसानका फलफूल तथा तरकारीमा उत्पादनमा आधारित कृषि अनुदान दिने योजना ल्याएको छ। तीन सय केजीभन्दा बढी उत्पादन गर्ने किसानलाई प्रतिकेजी तीन रूपैयाँका दरले अनुदान उपलब्ध गराउने कार्यक्रम ल्याइएको हो।

images
images
images

किसानलाई फलफूल तथा तरकारी उत्पादन बढाएर पालिकालाई आत्मनिर्भर बनाउने उद्देश्यले ‘उत्पादनमा आधारित अनुदान कार्यक्रम’ ल्याइएको वडा नं २ का वडाध्यक्ष तथा सामाजिक विकास समितिका अध्यक्ष हिमबहादुर भण्डारीले बताए। उनका अनुसार किसानको उत्पादनलाई बजारीकरणमा सघाउन नगरपालिकाले गौमुखी कृषि सहकारी संस्थाको सहकार्यमा हाटबजार स्थापना गरी ११ स्टल बनाएर बिक्री केन्द्र सञ्चालनमा ल्याएको छ।

images

'हाटबजारमा किसानले आफ्नो उत्पादन बेच्न पाउने छन्। त्यसरी बिक्री गर्दा तीन सय केजीसम्मको तरकारी बिक्री गर्न सकेका किसानलाई प्रतिकेजी तीन रूपैयाँका दरले अनुदान दिँदा किसान उत्पादनमा उत्साहित हुनेछन् र उत्पादन बढ्नेछ', सहकारी संस्थाकी अध्यक्ष शिवकला खत्रीले भने। उनका अनुसार गलकोट-३ को हटिया बजारमा उक्त बिक्री केन्द्र स्थापना गरिएको छ।

images

नगरपालिकाले १० लाख रूपैयाँ लगानीमा व्यावसायिक स्टल निर्माण गरेको नगरपालिकाका उपप्रमुख फमलाल निउरेले जानकारी दिए। पालिकामा पछिल्लो समय व्यावसायिक कृषि गर्नेको सङ्ख्या बढिरहेकाले किसानलाई थप उत्साहित बनाउन योजना कार्यान्वयनमा ल्याइएको उनको भनाइ थियो।

images
images

'किसानले बजार व्यवस्थापनको माग गर्दै आएका थिए। उनीहरुको मागअनुसार हाटबजार बनाएर बिक्री केन्द्र सञ्चालनमा ल्याएका छौँ', उपप्रमुख निउरेले भने, 'अब गलकोटमा कृषि उत्पादन बढाउन किसानको थप योगदान हुनेछ।'

फलफूल, पशुपालनलगायत अन्य कृषि उत्पादनमा पनि नगरपालिकाले अनुदान दिने योजना बनाइरहेको प्रमुख प्रशासकीय अधिकृत गंगाबहादुर भुजेलले बताए। उनका अनुसार चार सयसम्म बाख्रापालन गरेकाहरुका लागि पशुपालन फार्म, दैनिक तीनदेखि चारसय केजीसम्म तरकारी बेच्नेका लागि प्लास्टिकका टनेल र हाइटेक स्थापना भएका छन्। 

गलकोट नगरसँगै छिमेकी जिल्ला गुल्मीमा पनि यहाँका उत्पादन बिक्री हुने गरेका किसानको भनाइ थियो। उक्त हाटबजारको आइतबार गण्डकी प्रदेशका कृषि, सहकारी तथा गरिबी निवारणमन्त्री महेन्द्रध्वज जिसीले उद्घाटन गरे। उनले प्रदेश सरकारले पनि उत्पादनमा आधारिक कृषि अनुदान नीति ल्याएर किसानको प्रोत्साहन बढाउने बताए।

नगरपालिका र सहकारीको यस अभियानलाई प्रदेशका सांसद जीतबहादुर शेरचन, द्रोण कुँवर, दिलमाया पौवी, बडिगाड गाउँपालिका अध्यक्ष गण्डकी थापा, तमानखोला गाउँपालिका अध्यक्ष जोकलाल बुढा, कृषि ज्ञान केन्द्र बागलुङका प्रमुख राजेन्द्र सिलवाल, जिल्ला सहकारी संघकी अध्यक्ष हुमाकुमारी जिसी, कृषि सहकारी संघका अध्यक्ष नरबहादुर थापालगायतले शुभकामना दिँदै अन्य पालिकासँग पनि सहकार्य गरेर अगाडि बढेमा थप प्रभावकारी हुने बताएका थिए।

गलकोट-३ का अध्यक्ष फमबहादुर खत्रीले हटिया बजारमै बिक्री केन्द्र बनाउन जग्गा व्यवस्थापनमा पहल गरेका थिए। रासस

images

प्रकाशित : बिहीबार , कात्तिक २ २०८००७:०२

प्रतिक्रिया दिनुहोस