बुधबार, माघ ९ गते २०८१    
बुधबार, माघ ९ २०८१
images
images

तीन दिनमा उपत्यकाबाट एक लाख ५० हजार यात्रु बाहिरिए

images
सोमबार, असोज २९ २०८०
images
images
तीन दिनमा उपत्यकाबाट एक लाख ५० हजार यात्रु बाहिरिए

काठमाडौंको गोँगबुस्थित नयाँ बसपार्कमा समेत घर जाने यात्रुको भिड लागेको छ। नयाँ बसपार्क सञ्चालन गरेको लोत्से बहुउद्देश्यीय प्रालिका प्रवक्ता पंकज मल्लले हाल दैनिक २५ हजारभन्दा बढी यात्रु नयाँ बसपार्कबाट बाहिरिन थालेको बताए।

images
images
काठमाडौं- नेपालीहरुको महान पर्व दसैँ मनाउनका लागि तीन दिनमा एक लाख ५० हजार यात्रु उपत्यकाबाट बाहिरिएका छन्। घटस्थापनादेखि नै अधिकाशं विद्यालय, कलेज र संघ संस्था बन्द भएपछि दसैँ मनाउनका लागि यात्रु जन्मघर जान थालेका हुन् । 
 
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले पछिल्लो तीन दिनमा एक लाख ५० हजार तीन सय नौ यात्रु उपत्यकाबाट बाहिरिएको जानकारी दिए। उनका अनुसार असोज २७ बिहान ६ बजेसम्म ४७ हजार छ सय ४३, असोज २८ गते बिहान ६ बजेसम्म ५१ हजार दुई सय ७९ र आज बिहान ६ बजेसम्म ५१ हजार तीन सय ८७ यात्रु बाहिरिएका छन्।
 
ट्राफिकले अघिल्लो दिन बिहान ६ बजेदेखि भोलिपल्ट ६ बजेसम्मको रेकर्ड राख्दै आएको छ। ट्राफिक प्रहरीले उपत्यका बाहिरिने यात्रुको सहजताका लागि काठमाडौं उपत्यकाभित्रका १५ स्थानमा यात्रु सहायता कक्ष सञ्चालन गरेको छ। चाडपर्वको यातायात सहजताका लागि ट्राफिक प्रहरीले काठमाडौं उपत्यकाभित्र एक हजार आठ सय जनशक्ति परिचालन गरेको प्रवक्ता भट्टले बताउनुभयो ।
 
काठमाडौंको गोँगबुस्थित नयाँ बसपार्कमा समेत घर जाने यात्रुको भिड लागेको छ। नयाँ बसपार्क सञ्चालन गरेको लोत्से बहुउद्देश्यीय प्रालिका प्रवक्ता पंकज मल्लले हाल दैनिक २५ हजारभन्दा बढी यात्रु नयाँ बसपार्कबाट बाहिरिन थालेको बताए।
 
'लामो तथा मध्यम दुरीका सवारीसाधनमा अत्याधिक भिड लागेको छ, हामीले अहिले नयाँ बसपार्कबाट बस छुट्ने समयसमेत अन्य समयको भन्दा अगाडि सारेका छौँ,'  उनले भने। दसैँका लागि हालसम्म ७० हजार यात्रुले अग्रिम टिकट काटिसकेको लोत्से बहुउदेश्यीय प्रालिका महाप्रबन्धक सुनिल कुँवरले जानकारी दिए।
 
सरकारले दसैँको यातायात व्यवस्थापनलाई सहज बनाउनका लागि असोज २६ गते देशैभरका सार्वजनिक सवारी साधनमा रुट परमिटसमेत खुला गरिसकेको छ।
 
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले अहिलेको अवस्था हेर्दा विगतका वर्षभन्दा धेरै यात्रुहरु बाहिरिने अनुमान रहेको बताए। यात्रुलाई सहज रुपमा गन्तव्यस्थल जानका लागि महासंघले केही बससमेत थप गरेको उनको भनाइ छ। रासस


प्रकाशित : सोमबार, असोज २९ २०८०१०:११

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend