काठमाडौं- सरकारले बढ्दो चिनी अभावलाई मध्यनजर राख्दै व्यापारीले लुकाएर राखेको चिनी खोज्ने भएको छ। वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले चिनी खोजीका लागि स्टिङ अपरेसन सुरू गर्ने भएको छ। विभागले काठमाडौं प्रवेश नाकाबाट विवरण लिएर व्यापारीले ल्याएको चिनी खोज्ने भएको हो।
नाकाबाट चिनी बजार प्रवेश गरे पनि व्यापारीले चिनी बिक्री गरेका छैन्। कतिपय व्यापारीले भने प्रतिकिलो १३५ रुपैयाँ बिना बिल चिनी बिक्री गरिरहेको सूचना समेत विभागले पाएको छ। अब विभागले व्यापारीले लुकाएर राखेको चिनी खोज्ने र बजारमा पठाउने रणनीति लिएको हो।
यता व्यापारीले भने सरकारलाई चिनी नदिने र अभाव खडा गर्दै मंहगोमा बिक्री गर्ने रणनीती बनाएका छन्। 'सरकारलाई चिनी नदिएपछि कहाँबाट ल्याएर बिक्री गर्ने रहेछ हामी हेरिरहेका छौं,' कालिमाटीका एक व्यापारीले भने, ' अबको एक/दुई दिनमै सरकारले चलाएको सहुलियत पसलमा चिनी हुँदैन। अहिले पनि व्यापारीको गौदाममा रहेको चिनी हस्तक्षेप गरेर लिएको चिनी बिक्री गरिरहेको हो।'
यता विभागले भने स्टिङ अपरेसन हुने र यसक्रममा भेटिएको चिनी जफत हुने बताएको छ। विभागले गौदाम सञ्चालनको अनुमतिभन्दा बाहिर गौदाम गरेर राखिएको वस्तु जफत गरेर कानून अनुसार कारबाही गर्ने चेतावनी दिएको छ।
तत्कालको बजार अभाव थेग्न उद्योगमा होल्ड भएको चिनी बजारमा आउने क्रम रहेको हुँदा विस्तारै बजार अभाव हट्ने विभागले बताएको छ। तर अधिकांश खाद्यान्न पसलमा चिनी सकिएको छ। उपभोक्ताले कालो बजारीमा चिनी खरिद गर्न परेको छ। सरकारी सहुलियत पसलमा २ किलो चिनी खरिदका लागि पनि घण्टौं लाइन बस्न पर्ने अवस्था छ।
उपभोक्तालाई दु:ख दिएर चिनी गौदामा राख्ने व्यापारीलाई कडा भन्दा कडा कारबाही समेत गर्ने गरी स्टिङ अपरेसन गर्न लागेको विभाग स्रोतको दाबी छ। काठमाडौं प्रवेश भएको चिनीको विवरण र व्यापार भएको विवरण नमिल्दा साथ कारबाही हुने विभागले जनाएको छ।