मलेखु- धादिङको त्रिपुरासुन्दरी-६ गोलाङमा रहेको भीमोदय माध्यामिक विद्यालयले गाउँमै विद्यार्थी टिकाउनका लागि १० लाख रूपैयाँको अक्षयकोष स्थापना गरेको छ। गोलाङ घर भई हाल अमेरिकामा बस्दै आएका दिवाकर पाण्डेको परिवारले स्व पिताको सम्झनामा ‘हिक्मतबहादुर पाण्डे-२०८०’ अक्षयकोष स्थापना गरिदिएका हुन्।
जन्मथलोमा रहेको विद्यालयको शैक्षिक गुणस्तर सुधार्ने र पढाइका लागि गाउँ छोड्नुपर्ने बाध्यतामा पुगेका विद्यार्थीलाई गाउँमै टिकाइ राख्ने उद्देश्यले केही रकम छुट्याएर कोषमा स्थापना गरेको उनले बताए।
'विद्यार्थी भाइबहिनीहरु गाउँ छोडेर अन्यत्र जानुपर्ने स्थिति अहिले देखिएको छ। घर आँगनकै विद्यालयबाट गुस्तरीय शिक्षा प्रदान गरेर उनीहरुलाई सहयोग पुर्याउने उद्देश्यले कोष स्थापना गरेको हुँ', एनआरएन अमेरिकाको सह कोषाध्यक्षसमेत रहेका पाण्डेले भने, 'विद्यालय स्थापनाका लागि बुबाको भूमिका अहम थियो। यो कोष उनको सम्मानका लागि पनि हो।'
आफू देश बाहिर भए पनि जन्मथलोसँग जोडिएको भावनात्मक सम्बन्धलाई फेरि जोड्नका निमित्त सहयोग गरिएको पाण्डेको भनाइ थियो। कोषका लागि १० लाख रूपैयाँको चेक हस्तान्तरण गर्न पाण्डेकी श्रीमती इन्दिरा सिंखडा, आमा र दाजु गोलाङ पुग्नुभएको थियो। उनीहरुलाई विद्यालयका शिक्षकले स्वागत गरेका थिए।
विद्यालयमा अक्षयकोष स्थापना भएसँगै आर्थिक अवस्था कमजोर भएर पढाइ छोड्नुपर्ने बाध्यता भएका विद्यार्थीको शैक्षिक गन्तव्य सुनिश्चितता हुने भएपछि विद्यालयका शिक्षकको भनाइ थियो। रासस