शुक्रबार, साउन २ गते २०८२    
शुक्रबार, साउन २ २०८२
images
images

स्याङ्जाको एउटै गाउँबाट झन्डै पाँच करोडको बीउ, तरकारी र दूध निर्यात

images
सोमबार, असोज २२ २०८०
images
images
स्याङ्जाको एउटै गाउँबाट झन्डै पाँच करोडको बीउ, तरकारी र दूध निर्यात

जिमुहामा बीउ आलु तथा खानका लागि प्रयोग हुने आलु, मकैको बीउ, धानको बीउ, बोडी, करेलालगायत मौसमी तथा बेमौसमी तरकारी र दूधको व्यावसायिक उत्पादन हुने गरेको छ। यिनैको बिक्रीबाट जिमुहाले वार्षिक करोडौँ रकम भित्र्याउने गरेको छ।

images

वालिङ- स्याङ्जाको एउटै गाउँमा बीउ, तरकारी तथा दूध बिक्रीबाट वार्षिक झन्डै पाँच करोड भित्रिने गरेको छ।

images
images

गल्याङ नगरपालिका-११ जिमुहामा प्रमाणित तथा उन्नत किसिमका धान, मकै, गहुँ तथा आलुको बीउ, मौसमी तथा बेमौसमी तरकारी र दूध बिक्रीबाट वार्षिक अनुमानित चार करोड ६९ लाख ५० हजार भित्रिने गरेको आँधीखोला बहुउद्देश्यीय पानी उपभोक्ता संस्था (आक्वा) का अध्यक्ष रुमलाल कँडेलले बताए।

images
images

कालीगण्डकी नदीको किनारमा फैलिएको समथर र रातो माटो रहेको जिमुहा क्षेत्र आलु, धान, गहुँ तथा तरकारी बालीका लागि उर्वर भूमि पनि हो। आँधीखोला जलविद्युत आयोजनाअन्तर्गत यहाँ सिँचाइको व्यवस्था भएसँगै यो क्षेत्रले कृषिमा फड्को मारेको हो। आक्वामा हाल ५५८ किसान आबद्ध छन्। उनीहरु व्यावसायिक वा घरायसी प्रयोजनका लागि भएपनि खेती किसानी गर्दै आएका  छन्।

images
images
images

जिमुहामा बीउ आलु तथा खानका लागि प्रयोग हुने आलु, मकैको बीउ, धानको बीउ, बोडी, करेला, काँक्रा, लौका, घिरौँला, बन्दा, काउलीलगायत मौसमी तथा बेमौसमी तरकारी र दूधको व्यावसायिक उत्पादन हुने गरेको अध्यक्ष कँडेलले बताए।

यहाँ करिब दुई सय हेक्टर जमिनमा जनकदेव, एमएस ४२, खुमल रातो, खुमल उज्जर जातका बीउ आलु उत्पादन हुने गरेको छ। यहाँ खानका लागि प्रयोग गरिने आलुमात्रै करिब तीन सय मेट्रिकटन उत्पादन हुने अध्यक्ष कँडेलले बताए।

त्यस्तै बीउका लागि प्रयोग गरिने आलु खेतीबाट करिब चार सय मेट्रिकटन, अरुण-दुई जातको मकैको बीउ करिब एकसय मेट्रिकटन, साबित्री, रामधान करिब एकसय ५० मेट्रिकटन, गौतम, स्वर्गद्वारी, एनएल ९७१ जातको प्रमाणित गहुँको बीउ दुई मेट्रिकटन, दूध दैनिक चार सय लिटर, बोडीलगायत मौसमी तथा बेमौसमी तरकारी बाली यहाँबाट अन्यत्र निकासी हुने गरेको उनको भनाइ थियो।

वर्षेनि अनुमानित बीउ आलु बिक्रीबाट २१ लाख, खाने आलु बिक्रीबाट १२ लाख, मकैको बीउ बिक्रीबाट एक करोड २० लाख, धानको बीउ बिक्रीबाट एक करोड १२ लाख ५० हजार, दूध बिक्रीबाट वार्षिक एक करोड ४४ लाख र बोडी, काउली, काँक्रालगायत मौसमी तथा बेमौसमी तरकारी बिक्रीबाट ६० लाख रूपैयाँ गरी वार्षिकरुपमा अनुमानित चार करोड ६९ लाख ५० हजार रूपैयाँ गाउँमा भित्रिने गरेको अध्यक्ष कँडेलको जिकिर थियो।

'आक्वा तथा जिमुहा शीत भण्डार सहकारी संस्थामा आबद्ध भएर यहाँका कृषकहरु व्यावसायिकरुपमा अगाडि बढेका छन्' उनले भने, 'व्यक्तिगत तथा सामूहिकरुपमा पनि यहाँ खेती गर्ने गरिएको छ।

उत्पादित बीउ तथा दूधको बजारीकरणका लागि  समस्या नभए पनि कहिलेकाहीँ तरकारी बिक्रीका लागि भने समस्या हुने गरेको छ। कृषि कर्मलाई नै मुख्य आम्दानीको स्रोत देखेर काम गर्ने कृषकहरु धेरै भएको र घरायसी प्रयोजनकालागि मात्रै कृषि गर्नेहरु पनि यहाँ छन्। 'ठूलो जमिनमा व्यावसायिक उत्पादन गर्नेहरु अहिले सन्तुष्ट छन्, निरन्तर यही पेसामा रमाएका पनि छन्' अध्यक्ष कँडेलले भने, 'सामान्य तरिकाले थोरै जमिनमा खेती गर्दा पनि यहाँ जीविकोपार्जनका लागि कुनै समस्या छैन, सहज छ।'

गत वर्षदेखि गहुँको बीउ उत्पादन थोरै परिमाणमा थालिएकाले यस वर्षदेखि ठूलो परिमाणमा उत्पादन थाल्ने तयारी गरिएको छ। यहाँबाट उन्नत जातका गाईका बाच्छी उत्पादन गर्ने उद्देश्यसहित प्रजनन् केन्द्रको रुपमा गतिविधिहरु अगाडि बढाउने काम पनि सुरु भएको उनले बताए। रासस


प्रकाशित : सोमबार, असोज २२ २०८००७:१०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend