जानकी- बाँकेको जानकी गाउँपालिका हुँदै खजुरा-२ सीतापुर जोड्ने परसपुर-गौघाट सडक खण्डको प्रारम्भिक चरणको निर्माण सुरु गरिएको छ। निर्माणको ठेक्का पाएर सम्झौता गरेको झन्डै डेढ वर्षपछि नेपालगञ्ज उपमहानगरपालिकाको सडक खण्डको प्रारम्भिक चरणको निर्माण सुरु भएको हो।
ठेकेदार कम्पनीले सम्झौता भएको १६ महिनापछि शुक्रबारदेखि परसपुर-गौघाट सडकखण्डमा सुरुवाती चरणमा खाल्डाखुल्डी सम्याउने काम सुरु गरेको खजुरा गाउँपालिका २ का वडाध्यक्ष धनराम ओलीले जानकारी दिए। उनका अनुसार पहिलो चरणमा खाल्डाखुल्डी सम्याउने र दसैँपछि माटो पटान काम गर्ने बताए। सम्झौताअनुसार समयमै निर्माण सम्पन्न गर्ने गरी काम अगाडि बढाउने प्रतिबद्धता गरिएको छ।
'ठेक्का भएर पनि समयमै काम सुरु हुन सकेन। यसबाट जनतालाई थप दुःख भोग्नुपरेको छ', अध्यक्ष ओलीले भने, 'जनताको समस्या बुझेर हामीले सम्बन्धित निकायलाई पटकपटक दबाब दिने काम गरेका छौंँ। शुक्रबारबाट काम सुरु भएको छ।'
करिब १० किलोमिटर सडक कालोपत्रका लागि कन्काई र गणपति १३ करोड ४३ लाख रूपैयाँमा जिम्मेवारी पाएको थियो। कम्पनीले अघिल्लो वर्ष बैशाख २५ गतेदेखि सडक निर्माण सुरु गरी २०८१ भदौ २५ गते निर्माण सम्पन्न गर्ने गरी सडक डिभिजन कार्यालय नेपालगञ्जसँग सम्झौता गरेको थियो।
नेपाल सरकार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले निर्वाचन क्षेत्र रणनीतिक सडकअन्तर्गत आर्थिक वर्ष २०७८/७९ मा बजेट विनियोजन गरी निर्माण सुरु गरेको हो। उक्त सडकलाई बर्दियाको कन्ठपुर हुँदै गुलरिया सडकखण्डमा जोड्ने योजना रहेको छ। रासस