बिहीबार , माघ १० गते २०८१    
बिहीबार , माघ १० २०८१
images
images

घरबासमा बढ्न थाले विदेशी पर्यटक

images
बिहीबार , असोज १८ २०८०
images
images
घरबासमा बढ्न थाले विदेशी पर्यटक
images
images

चितवन- पछिल्लो सयम घरबास (होमस्टे) प्रति विदेशी पर्यटकको आकर्षण बढ्न थालेको छ। होमस्टे सञ्चालनको समयमा आन्तरिक पर्यटकमात्रै आउने गरेको भए पनि अहिले विस्तारै विदेशी पर्यटकहरुको पनि आकर्षण बढेको छ।

images
images
images

होमस्टे महासंघका महासचिव कृष्ण चौधरीका अनुसार होमस्टेमा विगतको वर्षको तुलनामा अहिले विदेशी पर्यटक पनि बढ्न थालेको हुन्। गत आर्थिक वर्षमा होमस्टेमा बस्न आएका पर्यटकमध्ये १० प्रतिशत विदेशी पर्यटक रहेको उनको भनाइ छ।

images

'होमस्टेप्रति विदेशी पर्यटकको समेत आकर्षण बढ्न थालेको छ, यसलाई जोगाउँदै जान जरुरी रहेको छ', उनले भने। स्थानीय कलासंस्कृति र रैथाने खानेकुरा रुचाउने पर्यटकको आकर्षण होमस्टे बन्ने गरेको उनले जानकारी दिए। नेपालभर एक हजारभन्दा बढी होमस्टे रहेको जनाउँदै उनले यहाँ स्थानीय संस्कृति र रैथाने खाना खुवाउन सके अझै आकर्षण बढ्ने बताए।

images
images
images

होमस्टेले मौलिक कलासंस्कृति र रैथाने खानाको प्रवर्द्धन जति गर्नुपर्ने हो त्यति गर्न नसकेको गुनासो छ। चौधरीका अनुसार स्थानीय कलासंस्कृति र खानाको प्रवर्द्धनमा राज्यले समेत सहयोग गर्नुपर्ने हुन्छ। उनले भने, 'हामीले मात्र कलासंस्कृति र स्थानीय खानाको संरक्षण गर्न सकेनौँ राज्यले समेत सहयोग गर्नुपर्‍यो।'

सरकारले यसको बजारीकरणका लागि सहयोग नगरेको उनको गुनासो छ। उनले भने, 'हामीले मात्रै बजारीकरण अन्तर्राष्ट्रियस्तरसम्म पुर्‍‌याउन सकेको छैनौँ, यसमा राज्यको ध्यान जानुपर्छ।' होटलमा बस्दाभन्दा होमस्टेमा बस्दा खर्च कम आउने भएकाले पनि आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्ने गरेको छ।

महासंघका अध्यक्ष प्रेमशंकर मर्दनिया होमस्टेलाई अझै व्यवस्थित गरेर सञ्चालन गर्नसकेमा पर्यटक रमाउन सक्ने बताउँछन्। उनले भने, 'देशभर आर्थिक संकटका कारण अहिले केही समस्या देखिएको भए पनि आन्तरिक पर्यटकसँगै बाह्य पर्यटक रमाउने स्थलका रुपमा होमस्टेको विकास गर्नुपर्छ।'

कोभिड-१९ को सङ्क्रमण पछि अहिले होमस्टेमा आउने पर्यटकको सङ्ख्यामा वृद्धि भएको उनको भनाइ छ। होमस्टे स्थानीय उत्पादनसँगै प्रांगारिक खाने कुरामा जोडिनु र कला संस्कृतिको जगेर्नामा लाग्नुका कारण पनि पर्यटकको आकर्षण बढेको उनले बताए।

होमस्टेले कृषि, पर्यटन र वातावरण संरक्षणमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ। होमस्टेले संस्कृति पहिचानको पुस्तान्तरणको काम गरिरहेको भए पनि रोजगारीको सिलसिलामा युवा विदेशिनेक्रम बढेकाले स्वदेशमा नै रोजगारीको सिर्जना गर्नसमेत सहयोग गरेको उनले बताए। उनले भने, 'हामी पुस्तान्तरणको काम गरिरहेका छौँ, तर समाजमा युवापुस्ता विदेशिन छाडेका छैनन्, हामीलाई डर लाग्न थालेको छ, होमस्टे पनि यस्तै हुने त होइन।'

पर्यटन प्रवर्द्धनका लागि सरकारी निकायले होमस्टेको संरक्षण गर्दै आएका छन्। विभिन्न ठाउँमा जातीय संस्कृति झल्कने गरी होमस्टेको विकाससमेत गरिएको छ। होमस्टेबाट प्रत्यक्षरुपमा व्यक्ति विशेषभन्दा पनि समुदाय लाभान्वित हुँदै आएको छ।

ग्रामीण क्षेत्रमा होमस्टे सञ्चालनमा आएकाले त्यहाँको उत्पादनले बजारसमेत पाएको छ। स्थानीय कला, संस्कृति र रैथाने खानाको प्रवर्द्धन गर्ने उद्देश्यका साथ महासंघले आफ्नो चौथो महाधिवेशन चितवनको माडीमा गर्ने तयारी गरेको उनले बताए।

महाधिवेशन यही असोज २५ देखि २७ गतेसम्म माडीको वसन्तपुरमा आयोजना गर्न लागिएको छ। महाधिवेशनमा ६८ जिल्लाबाट छ सय प्रतिनिधि परिवेक्षक सहभागी हुनेछन्। महाधिवेशनले ५१ सदस्यीय नयाँ कार्यसमितिसमेत चयन गर्नेछ। रासस


प्रकाशित : बिहीबार , असोज १८ २०८००९:३८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend