बिहीबार , वैशाख २० गते २०८१    
images
images

सुकेटार-काफ्लेपाटी सडकखण्ड : कालोपत्रको काम अलपत्र, दुई वर्षमा ११ प्रतिशतमात्र प्रगति

images
images
images
सुकेटार-काफ्लेपाटी सडकखण्ड : कालोपत्रको काम अलपत्र, दुई वर्षमा ११ प्रतिशतमात्र प्रगति

ठेक्का सम्झौता समयावधि सकिन अब आठ महिना मात्र छ, तर अहिलेसम्म प्रगति भने ११ प्रतिशतमात्र भएको छ।

images
images

फुङ्लिङ- ताप्लेजुङको पाथीभरा सडकअन्तर्गत सुकेटारबाट काफ्लेपाटीसम्मको खण्ड कालोपत्र गर्ने कामको ठेक्का लागेको दुई वर्ष बितिसकेको छ। लाखौँ तीर्थयात्री आवतजावत हुने सो सडकखण्डमा कालोपत्र गर्न ठेक्का लागेको दुई वर्षसम्म पनि कामको प्रगति भने निराशाजन रहेको छ।

images
images
images

पाथीभरा जाने बाटोको गुप्ते क्षेत्रमा निर्माण कम्पनीका आवश्यक उपकरण खिया लागरे बेवारिसेजस्तै बनेको देख्न सकिन्छ। पाथीभरा दर्शन गर्न जाने तीर्थयात्रीको सास्ती उस्तै छ। कालोपत्र हुने सडकको स्तरोन्नति खासै भएको देखिँदैन।

images

ठेक्का सम्झौता समयावधि सकिन अब आठ महिना मात्र छ, तर अहिलेसम्म प्रगति भने ११ प्रतिशतमात्र भएको जनाइएको छ। दुई वर्ष ६ महिनामा सक्ने गरी काठमाडौंको कन्टेक प्रालिले कालोपत्रको ठेक्का लिएको थियो। सो कम्पनीसँग विसं २०७८ पुस ११ गते सुकेटारबाट काफ्लेपाटीसम्मको १० किलोमिटर कालोपत्र गर्ने ठेक्का सम्झौता भएको थियो। ९५ करोड रूपैयाँको ठेक्का खुलेकामा कन्टेकले ४१ करोड ७६ लाख ४७ हजार रूपैयाँ अर्थात् ४६ प्रतिशत घटीमा ठेक्का पारेको थियो।

images

विसं २०८१ को जेठ मसान्तसम्ममा काम सक्नुपर्ने सम्झौतामा उल्लेख छ। सोअनुसार हालसम्म करिब ७० प्रतिशत काम सकिसक्नुपर्नेमा ११ प्रतिशत पनि नभएको ताप्लेजुङ उत्तर-दक्षिण ओलाङचुङगोला सडकका सबइन्जिनियर यहोसु लिम्बूले बताए। कामका लागि जति ताकेता गरे पनि ठेकेदार कम्पनीले अटेर गरेर काममा ध्यान नदिएको उनले बताए। सडकको काम समयमै सकिने सम्भावना ज्यादै न्यून रहेको उनको भनाइ छ।

images
images

सडक कालोपत्रका लागि आवश्यक कच्चा पदार्थ ढुंगा, गिट्टी र बालुवाको समस्या भएकाले कामले गति लिन नसकेको निर्माण कम्पनी कन्टेकका इन्जिनियर मदन कत्यादले बताए। उनले भने, 'बालुवा यहाँ नजिकै पाइँदैन, काबेलीबाट ल्याउनुपर्छ। दिनमा टिपरले दुःखले दुईपटक मात्र ल्याइपुर्‍याउँछ। ढुंगा पनि यस क्षेत्रमा नपाइने भएकाले अपेक्षा गरेजस्तो काम हुन सकेको छैन।'

ठेकेदारले काम नगर्दा पाथीभरा जाने सडक कालोपत्र नहुने स्थितिमा पुगेको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक मनमणि काफ्लेले बताए। पाथीभरा जाने सडकका विषयमा गत १४ गते आइतबार सडक विभागका महानिर्देशक सुशीलबाबु ढकाल, सांसद योगेश भट्टराई, निर्माण व्यवसायी गणेश मैनालीसहित सम्बधित विभागका प्रमुखको उपस्थितिमा निर्माण कम्पनीले तत्काल यातायाता सहज बनाउन काम सुरु गर्ने समहति भएको सडक विभागले जनाएको छ।

सात दिनसम्ममा पनि काम सुरु नगरे योजना कार्यालयले विभागीय प्रक्रियाबाट सो कार्य गर्दा लागेको खर्च निर्माण कम्पनीको धरौटी बिल कट्टा गर्ने सहमति भएको सडक विभागले जनाएको छ। सडक निर्माणको प्रगति न्यून भएकाले निर्माण कम्पनीले ठेक्का सम्झौता मितिसम्ममा के-कसरी निर्माण सम्पन्न गर्न सकिन्छ सोको कार्यतालिकासहित सात दिनभित्र सडक विभागमा प्रतिवेदन बुझाउनुपर्ने सहमतिपत्रमा उल्लेख गरिएको छ। तीन महिनाभित्र उल्लेख्य कामको प्रगति नभएमा नियमानुसार कारबाही प्रक्रिया अघि बढाउने विभागले जनाएको छ।

सदरमुकाम फुङ्लिङबाट सुकेटार विमानस्थलसम्म आठ किलोमिटर दुरी भने विगतमै कालोपत्र भएको छ। पाथीभरा जाने सडक कालोपत्र भएपछि पूजापाठ गर्न आउने तीर्थयात्रीको सङ्ख्या बढ्ने पाभीभरा क्षेत्र विकास समितिले अपेक्षा लिएको थियो। अहिले वार्षिक तीन लाख हाराहारीमा तीर्थयात्रीले पाथीभरामा दर्शन तथा पूजापाठ  गरेका छन्। सुकेटारबाट काफ्लेपाटीसम्म सडक कालोपत्र भएमा करिब ३५ प्रतिशत तीर्थयात्री बढ्ने समितिले अपेक्षा राखेको थियो।

हाल कच्ची सडक भएका कारण सुकेटारदेखि सवारीसाधन नजाने हुँदा तीर्थयात्रीको यात्रा सकसपूर्ण रहँदै आएको छ। तीर्थयात्री आफैले लिएर आएको साना गाडी कच्ची सडकमा नजाने हुँदा सुकेटारबाट स्थानीय गाडीमा जानुपर्ने अवस्था रहेकाले तीर्थयात्रीले निकै सास्ती खेप्दै आएका छन्। पाथीभारा क्षेत्रको सडक कालोपत्र भए जिल्लामा आन्तरिक तथा बाह्य पर्यटक तीर्थयात्रीको सङ्ख्या वृद्धि हुने र यसले समग्र जिल्लाको आम्दानीसमेत बढ्ने होटल व्यवसायीको अपेक्षा थियो। रासस

images

प्रकाशित : मंगलबार, असोज १६ २०८००५:१४

प्रतिक्रिया दिनुहोस