आइतबार, वैशाख ७ गते २०८२    
आइतबार, वैशाख ७ २०८२
images
images

भिन्डीले बजार नपाएपछि समस्यामा किसान

images
आइतबार, असोज १४ २०८०
images
भिन्डीले बजार नपाएपछि समस्यामा किसान

बजारीकरणको राम्रो प्रबन्ध नहुँदा मार खेप्नु परिरहेको किसान बताउँछन्। बजार अभाव हुँदा उत्पादन खेर गइरहेको उनीहरुको भनाइ छ।

images
images

पाल्पा- व्यावसायिक उत्पादन गरिएको भिन्डी (रामतोरियाँ) ले बजार नपाउँदा यहाँका किसान चिन्तित बनेका छन्। घरायसी प्रयोजनका लागि मात्रै भिन्डी लगाउँदै आएका किसानले यसपटक व्यावसायिकरूपमा खेती गरेका थिए। 

images
images
images

पाल्पाको रामपुर नगरपालिका-६ स्थित प्याक्लुकमा करिब १२ रोपनी जग्गा भाडामा लिएर स्थानीय गंगाप्रसाद बस्याल, राधिका बस्याल र सिर्जना आचार्यले सामूहिकरूपमा भिन्डीखेती गरेका थिए।

images
images

अहिले उत्पादित भिन्डीले बजार नपाएको गंगाप्रसादले बताए। 'रामपुरको बजारलाई मध्यनजर गर्दै व्यावसायिक रामतोरियाँ खेती सामूहिकरूपमा सुरु गरियो, उत्पादन असाध्यै राम्रो छ, तर बिक्रीका लागि बजार छैन, बजार अभावमा टिपेर त्यसै फाल्नुपरेको छ', उनले भने। हाल दैनिक न्यूनतम ५० किलोदेखि बढीमा एक सय ५० किलोसम्म भिन्डी उत्पादन भइरहेको उनले बताए।

images
images

स्थानीय बजारमा बिक्री नभएपछि स्याङ्जाको वालिङ बजारमा सस्तो मूल्यमा ढुवानी खर्चेर पठाउन बाध्य भएको आचार्यले बताइन्। 'दिनहुँ भिन्डी उत्पादन भइरहेको छ, स्थानीय बजारका व्यापारीले यहाँको उत्पादन खरिद गर्दैनन्, सस्तो मूल्यमा बाहिर पठाउँदा लागत पनि उठाउन धौधौ परेको छ', उनले भनिन्, 'बजारीकरणको राम्रो प्रबन्ध नहुँदा हामी किसानलाई मार खेप्नु परिरहेको छ।'

गत जेठदेखि उत्पादन दिन थालेको भिन्डी हालसम्म ७५ क्विन्टलभन्दा बढी उत्पादन भइसकेको छ। यस क्षेत्रमा उत्पादन भएको भिन्डीको बजार मूल्य सरदरमा न्यूनतम प्रतिकिलो ४० देखि बढीमा एक सय रूपैयाँसम्म रहेको छ। उत्पादन भएको भिन्डीमध्ये सात क्विन्टल भिन्डी रामपुर बजारमा खपत नभएको किसान बताउँछन्। बोटमा अझै पनि उत्पादन दिइरहेको छ।

दैनिक भिन्डी टिपेर बाहिरका बजार खोज्दै पठाउनुपर्दा किसानलाई खेती गरेर लागत उठाउन समस्या परिरहेको छ। अहिलेसम्म भिन्डी बिक्रीबाट करिब तीन लाख रूपैयाँसम्मको आम्दानी भएको राधिका बताउँछिन्। बजार अभावमा दुई क्विन्टलभन्दा बढी भिन्डी घरमै कुहाएर फाल्न बाध्य भएको उनले गुनासो गरिन्।

अहिले भिन्डीको मूल्य बजारमा प्रतिकिलो ५० देखि ५५ रूपैयाँ रहेको किसान बताउँछन्। किसानले लागतअनुसारको मूल्य पनि पाउँदैनन् भने भनेको समयमा बजार सहज नहुँदा उत्पादन बेला-बेलामा त्यसै खेर फाल्नु परिरहेको छ। भिन्डीबाट राम्रो उत्पादन लिन सकिने सम्भावना छ। बजारीकरणको झन्झटले किसानले भरसक यसको व्यावसायिक खेती गर्न मन पराउँदैनन्। टिपेर धेरै दिनसम्म राख्न नमिल्ने भएकाले यसका लागि फल टिप्नेबित्तिकै बजार चाहिन्छ।

रामपुरको बजारमा बुटवल, तराईलगायतका बाहिरका बजारबाट कृषि उपज भित्रिने गरेकाले व्यापारीले स्थानीय उत्पादनलाई महत्व दिँदैनन्। विषादी प्रयोग गरिएका सस्ता कृषि उपज खरिद गरी बिक्री गर्ने आदत परेका व्यापारीले स्थानीय उत्पादन भरसक खरिद गर्न खोज्दैनन्।

कालीगण्डकीबेँसीको मुख्य केन्द्रका रूपमा रहेको पाल्पाको रामपुर सहरीकरणका रूपमा विकास भइरहेको छ। यहाँ जनघनत्व बढ्दै गए पनि बाहिरबाट ठूलो परिमाणमा उपभोग्य सामग्री आयात भइराखेको छ। बाहिरी उत्पादनका वस्तुसँग स्थानीय वस्तुले प्रतिस्पर्धा गर्न नसक्दा बजार समस्या निम्तिएको छ। रासस


प्रकाशित : आइतबार, असोज १४ २०८००५:१४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend