शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

नेपालमा विदेशी लगानीको प्रतिफल १४ प्रतिशत, उत्पादनमूलक उद्योग र सूचना प्रविधि अगाडि 

बिहीबार , असोज ११ २०८०
नेपालमा विदेशी लगानीको प्रतिफल १४ प्रतिशत, उत्पादनमूलक उद्योग र सूचना प्रविधि अगाडि 

प्रदेशगत हिसाबले नेपालमा विदेशी लगानी धेरै हुने प्रदेशमा बागमती नै अग्रस्थानमा रहेको छ। सबै प्रकारका आर्थिक गतिविधि केन्द्रित रहेको बागमतीमा ५५.४ प्रतिशत विदेशी लगानी छ। कर्णाली, सुदूरपश्चिम र लुम्बिनीमा नगन्य रहेको छ। 

काठमाडौं- नेपालमा विदेशी लगानीकर्ताले लगानीको १४ प्रतिशतसम्म प्रतिफल प्राप्त गरिरहेको पाइएको छ। 

नेपाल राष्ट्र बैंकले गरेको वैदेशिक लगानीको सर्वेक्षणले विदेशी लगानीमा खुलेका फर्म तथा कम्पनीहरूले नेपालमा औसत १४ प्रतिशतसम्म आम्दानी गरिरहेको देखाएको छ। सर्वेक्षणअनुसार २०७८/७९ सम्मको आँकडामा कम्पनीहरूले औसतमा १४.३ प्रतिशत आम्दानी गरेका छन्। 

यो तथ्यांकअनुसार विदेशी लगानीकर्ताले नेपालमा एक सय रुपैयाँ लगानी गर्दा वर्षमा १४ रुपैयाँ ३ पैसा नाफा आर्जन गरेका छन्। १४ प्रतिशतको आम्दानीलाई खराब मानिँदैन। 

यो हिसाबले नेपालमा विदेशी लगानी प्रतिफलका हिसाबले निराशाजनक नरहेको पाइएको छ। 

त्यस्तै विदेशी लगानीका उत्पादनमूलक उद्योगहरूको क्षमता उपयोग पनि उत्साहजनक रहेको पाइएको छ। सर्वेक्षणअनुसार समीक्षा वर्षमा ७१.१ प्रतिशत क्षमता उपयोग रहेको छ। 

नेपालमा लगानी गरेकामध्ये सबैभन्दा धेरै उत्पादनमूलक उद्योगले लाभांश लिने गरेका छन्। सर्वेक्षणअनुसार १५ अर्ब लाभांश स्वीकृत भएकोमा उत्पादनमूलक उद्योगलेमात्र ७ अर्ब स्वीकृत पाएका थिए। त्यस्तै सूचना प्रविधिका कम्पनीले ५ अर्ब ४० करोड लाभांश स्वीकृति पाएका थिए। 

ऊर्जामा आकर्षण

नेपालमा विदेशी लगानीकर्ताको आकर्षण ऊर्जा र उत्पादनमूलक उद्योगमा देखिएको छ। नेपाल राष्ट्र बैंकले गरेको एक सर्वेक्षणमा ऊर्जा तथा उत्पादनमूलक उद्योगमा धेरै आकर्षण देखिएको हो। 

नेपालमा वैदेशिक लगानीका बारेमा नेपाल राष्ट्र बैंकले गरेको सर्वेक्षणअनुसार आर्थिक वर्ष २०७८/७९ सम्म कुल वैदेशिक लगानी २ खर्ब ६४ अर्ब पुगेको छ।  

नेपालमा राष्ट्र बैंकबाट कुल ६ सय बढी कम्पनीले वैदेशिक लगानीको स्वीकृति लिएका छन्। यस्तो लगानीमा ५४.७ प्रतिशत चुक्ता पुँजीको हिस्सा छ। त्यस्तै सञ्चिति ३१.७ र ऋण १४ प्रतिशत रहेको छ। 

सर्वेक्षणको मितिसम्म नेपालमा संसारका ५७ वटा मुलुकबाट लगानी आएको छ। सबैभन्दा धेरै लगानी भारतबाट आएको छ। सर्वेक्षणअनुसार भारतबाट ८८ अर्ब ५९ करोड लगानी भित्रिएको छ।

त्यस्तै दोस्रो धेरै लगानी आउने देश चीन छ। चीनबाट ३३ अर्ब ४५ करोड बराबरको लगानी भित्रिएको छ। सिंगापुरबाट १६ अर्ब ७ करोड र सेन्ट किट्स नेभिसबाट १५ अर्ब ९ करोड लगानी भित्रिएको छ। 

नेपाल भित्रिएको कुल वैदेशिक लगानीमध्ये सबैभन्दा धेरै उद्योग क्षेत्रमा रहेको छ। कुल गार्हस्थ उत्पादनमा सेवा क्षेत्रको बाहुल्यता रहेपनि विदेशी लगानी भने उद्योग क्षेत्रमा देखिएको छ। 

सर्वेक्षणअनुसार उद्योग क्षेत्रमा ६२.६ प्रतिशत लगानी रहेको छ। बाँकी ३७.७ प्रतिशत लगानी सेवा क्षेत्रमा रहेको छ। क्षेत्रगत हिसाबले उद्योगभित्र पनि ३२.८ प्रतिशत लगानी ऊर्जा क्षेत्रमा रहेको छ। विशेषगरी जलविद्युत क्षेत्रमा आएको लगानीका कारणले गर्दा विदेशी लगानीको हिस्सा यो क्षेत्रमा देखिएको हो। 

ऊर्जामा लगानी सबैभन्दा धेरै भारतीय रहेको छ। 

ऊर्जापछि धेरै लगानी हुनेमा उत्पादनमूलक उद्योग र त्यसपछि वित्तीय सेवा रहेको छ। सूचना प्रविधि क्षेत्रमा विदेशी लगानी घटेको छ भने होटल तथा अतिथ्यता सेवामा बढेको छ। 

नाफा तथा प्रतिफलका हिसाबले नेपालमा विदेशी लगानी लाभदायी देखिँदै आएको छ। राष्ट्र बैंकले यसअघि गरेका सर्वेक्षणबाट पनि लगानीको प्रतिफल आकर्षक देखिँदै आएको छ। 

सर्वेक्षण वर्षमा विदेशी लगानीका कम्पनीले १५ अर्ब रुपैयाँ लाभांश फिर्ता लिएका छन्। लाभांश धेरै लिने क्षेत्रमा उत्पादनमूलक उद्योग र  सूचना प्रविधि रहेको छ। विशेषगरी दूरसञ्चार कम्पनी एनसेलका कारण सूचना प्रविधि क्षेत्रले धेरै लाभांश लिएको हो। 

प्रदेशगत हिसाबले नेपालमा विदेशी लगानी धेरै हुने प्रदेशमा बागमती नै अग्रस्थानमा रहेको छ। सबै प्रकारका आर्थिक गतिविधि केन्द्रित रहेको बागमतीमा ५५.४ प्रतिशत विदेशी लगानी छ। कर्णाली, सुदूरपश्चिम र लुम्बिनीमा नगन्य रहेको छ। 


प्रकाशित : बिहीबार , असोज ११ २०८००१:२७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend