बिहीबार , असार ११ गते २०८३    
बिहीबार , असार ११ २०८३

भ्याट लागेपछि प्याजको आयातमा अस्वाभाविक गिरावट

बुधबार, असोज १० २०८०
भ्याट लागेपछि प्याजको आयातमा अस्वाभाविक गिरावट

प्याजको अवैध आयातको सूचना भएपनि त्यसलाई रोकथाम गर्ने कुनै पनि उपाय भन्सारसँग छैन। खुला सीमा नाकामात्र होइन खुलमखुला भन्सारबाटै ल्याउने क्रम पनि रहेको छ।

काठमाडौं- चालु आर्थिक वर्षको दुई महिनामा प्याजको आयातमा अस्वाभाविक गिरावट आएको छ। भन्सार विभागले प्रकाशित गरेको तथ्यांकअनुसार गत वर्षको तुलनामा यो वर्ष आयातमा अस्वाभाविक गिरावट देखिएको छ।

विभागका अनुसार यो वर्षको दुई महिनामा ५० हजार ५ सय २७ किलो प्याज आयात भएको छ। गत वर्षको तुलनामा यो परिमाण धेरै न्यून हो। गत वर्षको साउन र भदौमै प्याज ५ लाख ३८ हजार ३ सय ९५ किलो आयात भएको थियो। दुई महिनाको यो तुलनात्मक तथ्यांक कुनै पनि हिसाबले स्वभाविक नभएको भन्सार विभागकै अधिकारीहरू बताउँछन्। 

प्याजको आयात घट्नका लागि कि आन्तरिक उत्पादन बढेको हुनुपर्छ जुन नेपालमा एकै वर्ष त्यति धेरै माग धान्नेगरि उत्पादन बढेको छैन। दोस्रो कुरा मागमै कमी आएको हुनुपर्छ। जुन गत वर्षको तुलनामा यति धेरै माग घटेको मान्न सकिने अवस्था देखिँदैन। गत वर्षको तुलनामा विदेशी पर्यटकको चहलपहल बढ्दा होटलहरूको कारोबार सुधारोन्मुख भइरहेको समयमा उल्टो प्याजको खपत घट्ने सम्भावना पनि छैन। 

गत वर्षको तुलनामा यति धेरै प्याजको आयात घट्नका लागि माग घटेको मान्न अधिकारीहरू नै तयार छैनन्। 

समग्रमा प्याजको आयातमा यो तहको गिरावटको पछाडि अवैध व्यापार भएको हुनसक्ने अधिकारीहरूको भनाइ छ। ‘कि अघिल्ला वर्षहरूमा प्याजको नाममा अरु केही आयात भएको हुनुपर्‍यो हैन भने यो वर्ष तस्करी फस्टाएको हुनुपर्‍यो’ भन्सार विभागकै एक अधिकारीले भने। 

एकातिर प्याजको उत्पादन वृद्धि भएको छैन अर्कोतिर आयातमा अत्याधिक गिरावट यो त्यतिबेला भयो जबदेखि जेठ १५ गते आएको आर्थिक ऐनले प्याजमा मूल्य अभिवृद्धि कर लगाउने व्यवस्था गर्‍यो। 

जेठ १६ गतेदेखि प्याजमा भ्याट लाग्ने भएपछि विवाद तथा अन्यौलका कारणले गर्दा केही प्रभावित भयो तर असार १ गतेदेखि सामान्य रुपमा प्याज आयात भइरहेको थियो। प्याजको आयातमात्र होइन बजारमा अभाव पनि देखिएको छैन। 

पछिल्लो समय भारतले प्याजको निर्यातमा ४० प्रतिशत कर लगाएपछि पनि प्याजको उपलब्धतामा समस्या देखिएको छैन। बजार तथा पसलमा प्याज सामान्यरुपले नै पाइएको छ तर औपचारिक रुपमा आउन भने घटेको छ। 

भ्याट लागेपछि प्याजको अवैध आयात भइरहेको सूचना भन्सारले पाएकोमात्र होइन कतिपय प्रकरणमा त्यसरी आयात गर्नेहरू पनि पक्राउ परेका छन्। ‘केही भन्सार कार्यालयहरूमा अरु नै घोषणा गरेर प्याजको आयात गरेको पाइएको छ। जुनमा भ्याट लाग्दैन त्यही घोषणा गरेर आयात भइरहेको पाइएपछि पक्राउ पनि गरिएको छ’ भन्सारका एक अधिकृतले भने। 

प्याजको अवैध आयातको सूचना भएपनि त्यसलाई रोकथाम गर्ने कुनै पनि उपाय भन्सारसँग छैन। खुला सीमा नाकामात्र होइन खुलमखुला भन्सारबाटै ल्याउने क्रम पनि रहेको छ। यतिमात्र होइन निर्यातमा भारतले कर लगाएपछि उताको कर छल्नका लागि झन चोरी बढेको हुनसक्ने अधिकारीहरूको भनाइ छ। 

भन्सार विभागका प्रवक्ता पुण्यविक्रम खड्काले भने कुनै पनि वस्तुको आयातमा अस्वाभाविक तलमाथि हुँदा अनुसन्धान तथा छानबीन गर्ने गरिएको र यो विषयमा पनि विभागले नोटिसमा लिने जानकारी दिए। 


प्रकाशित : बुधबार, असोज १० २०८००२:५९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend