सोमबार, असोज ७ गते २०८१    
images
images

रत्नपार्क-सूर्यविनायक द्रुत बस सेवा आजदेखि सञ्चालनमा, कुन-कुन समयमा चल्छन्?

images
बुधबार, असोज ३ २०८०
images
images
रत्नपार्क-सूर्यविनायक द्रुत बस सेवा आजदेखि सञ्चालनमा, कुन-कुन समयमा चल्छन्?

द्रुत सेवाका बस माइतीघर, बानेश्वर, तीनकुने, कोटेश्वर, जडीबुटीलगायत चोकमा जाममा पनि रोकिने छैनन्।

images
images

काठमाडौं- भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको सहकार्यमा आजदेखि काठमाडौंको रत्नपार्कदेखि भक्तपुरको सूर्यविनायकसम्म द्रुत बस सेवा सञ्चालनमा आएको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले आज रत्नपार्कको शान्तिवाटिकाबाट उक्त बस सेवाको शुभारम्भ गरे।

images
images
images

उक्त बसका लागि ‘डेडिकेटेड’ लेनको व्यवस्था गरिएको छ। बिहीबारदेखि कार्यालय समयमा बिहान ९ देखि ११ र अपराह्न ४ देखि ६ बजेसम्म द्रुत सेवाका बस सञ्चालनमा आउनेछन्। काठमाडौं उपत्यकाको यातायात क्षेत्रमा सुधार ल्याउने उद्देश्यले द्रुत बस सेवा सञ्चालनमा ल्याएको सरकारले जनाएको छ।

रत्नपार्कदेखि सूर्यविनायकसम्म १३ दशमलव ४ किलोमिटर दूरी रहेको छ। निर्धारित समयका लागि ४० सिट क्षमताका २५  बस छुट्याइएको यातायात व्यवस्था विभागका महानिर्देशक उद्धव रिजालले जानकारी दिए। कार्यालय समयमा अहिले सार्वजनिक यातायातमा यात्रा गर्दा सूर्यविनायकदेखि रत्नपार्कसम्म करिब दुई घण्टा लाग्दै आएको छ।

द्रुत बस सेवा सञ्चालन भएपछि सो दूरीको यात्रा करिब ४५ मिनेटमा सीमित हुनेछ। रत्नपार्क, भद्रकाली, माइतीघर, बबरमहल, नयाँ बानेश्वर, शान्तिनगर, कोटेश्वर जडीबुटी, कौशलटार, गट्ठाघर, चारदोबाटो, सूर्यविनायकलगायत १९ स्थानमा बस स्टप रहनेछ। त्यहाँबाट उक्त बस चढ्न र ओर्लन सकिनेछ।

images

'सहरी क्षेत्रको यातायात व्यवस्थापन चुनौतीपूर्ण रहेको छ, उपत्यकाको यातायात क्षेत्र सुधारको जमर्को सुरु गरिएको छ', उनले भने। सरकारले गत फागुन ३० गते सार्वजनिक यातायातलाई व्यवस्थित बनाउन काठमाडौं उपत्यकामा द्रुत बस सेवा सञ्चालन गर्ने निर्णय गरेको थियो। कार्यालय समयमा ती बस प्रत्येक एक/एक किलोमिटरको फरकमा गुड्नेछन्। 

'सार्वजनिक सवारी चढेर निश्चित समयमा गन्तव्यमा पुग्न सकिन्छ भन्ने विश्वास दिलाउन सरकारले द्रुत बस सेवा सञ्चालनमा ल्याएको हो, यो सुरुवात मात्रै हो', महानिर्देशक रिजालले भने, 'ती बसका लागि छुट्टै लेनको व्यवस्था गरिएको छ, लेनमा रातो रङ लगाइएको छ, कार्यालय समयमा उक्त लेनमा अन्य सवारी चल्न पाउने छैनन्।' द्रुत सेवाका बस माइतीघर, बानेश्वर, तीनकुने, कोटेश्वर, जडीबुटीलगायत चोकमा जाममा पनि रोकिने छैनन्।

बस सेवाको शुभारम्भ गर्दै मन्त्री ज्वालाले सहरी क्षेत्रको सार्वजनिक यातायातलाई व्यवस्थित बनाउन र जनतालाई सार्वजनिक यातायातप्रति विश्वास र भरोसा दिलाउन पहिलो चरणमा कार्यालय समयमा सूर्यविनायकदेखि रत्नपार्कसम्म द्रुत बस सेवा सञ्चालन गरिएको बताए। 'सरकारको अभियान यतिमै मात्र सीमित हुँदैन, यसलाई सुधार र विस्तार गर्दै लैजाने छौँ', उनले भने, 'विमानस्थल, चक्रपथ, बालाजु, महाराजगञ्ज, थानकोट, ललितपुरलगायत क्षेत्रमा द्रुत बस सेवा विस्तार गरिनेछ।'

बागमती प्रदेशका श्रम, रोजगार तथा यातायातमन्त्री लक्ष्मण लम्सालले सार्वजनिक यातायातप्रति नागरिकको विश्वास र भरोसा बढाउनुपर्ने बताए। भौतिक पूर्वाधार मन्त्रालयका सचिव केशवकुमार शर्माले उपत्यकाको सार्वजनिक यातायातलाई व्यवस्थित बनाउने जमर्को स्वरुप द्रुत बस सेवा सञ्चालनमा ल्याइएको बताए।

निमित्त प्रहरी महानिरीक्षक दीपक थापाले सार्वजनिक सवारीलाई व्यवस्थित बनाउन सर्वसाधारणलाई सचेत बनाउनुपर्नेमा जोड दिँदै ‘डेडिकेटेड लेन’मा चल्न सवारी साधनको सुरक्षाका लागि प्रहरी प्रतिबद्ध रहेको बताए।

उक्त लेनमा चल्ने सवारी साधनलाई पनि अन्य सार्वजनिक यातायात सरहका कानुन आकर्षित हुने जनाउँदै उनले ट्राफिक नियमलाई पालना गरेर यातायातका साधन सञ्चालन गर्न आग्रह गरे। रासस


प्रकाशित : बुधबार, असोज ३ २०८००७:१३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend