सन् २०२२ को सुरुवातदेखि श्रीलंकाले अप्रत्यासित र अपत्यारिलो स्तरको आर्थिक संकटको सामना गर्नुपर्यो। आफ्नो इतिहासमै पहिलोपटक श्रीलंकाले लिएको अन्तराष्ट्रिय ऋणको साँवाब्याज तत्काल तिर्न नसक्ने कारण आफू टाट पल्टेको घोषणा २०२२ अप्रिल १२ मा गरिदियो। अहिले अवस्था धेरै फेरिएको छ तर त्यसबाट नेपालजस्ता अन्य राष्ट्रले नियाल्नुपर्ने धेरै पाटा बाँकी नै छन्।
श्रीलंकाको आर्थिक संकटको समाचारले कोरोना महामारी र रुस-युक्रेन युद्धले थिलथिलो भएका अल्पविकसित र विकासशील राष्ट्रहरूमा एकप्रकारको हलचल नै मच्चाइदियो। ‘के हामी पनि श्रीलंकाकै पथमा त हिँडिरहेका त छैनौँ?’ भन्ने प्रश्न छापाहरूमा प्रशस्त छापिन थाले र त्यसको उत्तर अर्थशास्त्रीहरूले अर्थ्याउन लागे।
कोरोना महामारी र युद्धले गर्दा अत्यावश्यक वस्तुहरूको मूल्य आकासिएका कारणले उत्त देशहरूको वैदेशिक मुद्राको सञ्चिति द्रुत गतिमा खुम्चिँदै गइरहेको थियो। यस्तो अवस्थामा श्रीलंका बनिँदै त छैन? भन्ने प्रश्नको उठान जायज पनि थियो।
वैदेशिक मुद्राको सञ्चिति घट्दा कसरी आर्थिक संकट निम्तिन्छ त? प्रत्येक देशको खाता पनि आम मानिसको खाताजस्तै गरी सञ्चालन गरिएको हुन्छ? हामी कहिँ नोकरी गरेर, व्यवसायमार्फत वा वस्तु/सेवा बेचेर पैसा जम्मा गर्छौं र सोही रकमको प्रयोग गरेर आफ्ना आवश्यक वस्तुहरू किनेर जीवन निर्वाह गर्छौं। दुरुस्तै देशले पनि रेमिट्यान्स, वस्तु/सेवा बेचेर (निर्यात) गरेर, बाहिरको लगानीमा प्राप्त आम्दानी, वाह्य ऋण/सहायतामार्फत विदेशी मुद्रा आर्जन गर्छ। सो मुद्राको प्रयोग बाहिरबाट अत्यावश्यक सामानहरू किन्न, ऋणको साँवा/ब्याज तिर्न, आफ्ना नागरिकहरूको वैदेशिक यात्रा र शिक्षाका लागि, विदेशस्थित कुटनीतिक नियोगहरू सञ्चालन गर्नका साथै अन्य प्रयोजनका लागि खर्च हुन्छ। यदि विदेशी मुद्राको सञ्चिति थोरै भयो भने अत्यावश्यक सामान विदेशबाट आयात गर्न सकिँदैन र आफ्ना नागरिकहरू सो वस्तु प्रयोग गर्नबाट वञ्चित हुन्छन्।
श्रीलंकामा पनि भएको त्यही थियो। उनीहरूको वैदेशिक मुद्रा सञ्चिति द्रुत गतिमा घट्दै गइरहेको थियो। करिब ८ अर्ब अमेरिकी डलर बराबरको सञ्चिति २०२२ को अन्त्यसम्ममा आइपुग्दा मात्र ०.५ अर्ब अमेरिकी डलर बाँकी रह्यो। जसले गर्दा श्रीलंकाले आफूले उत्पादन नगर्ने तर आयात गर्नुपर्ने वस्तुहरू जस्तै पेट्रोलियम पदार्थ, खाने तेल, औषधिलगायतका अत्यावश्यक वस्तुहरू देशमा पाइन छाड्यो र पसलहरूमा लामा-लामा लाइन लाग्न थाल्यो। वार्षिक मूल्य वृद्धि करिब ७० प्रतिशतको हाराहारीमा रहन पुग्यो।
त्यस्तो परिस्थितिबाट दिक्क भएका मानिसहरू सडकमा ओर्लिए र आर्थिक संकटले राजनीतिक संकटको रुप लियो। फलस्वरुप, २०२२ मे ९ का दिन प्रधानमन्त्री महिन्दा राजापाक्षे र जुन ९ का दिन अर्थमन्त्री वसिल राजापाक्षले राजीनामा दिए भने जुलाई ९ का दिन राष्ट्रपति गोटावाया राजापाक्षेले जनदबाब थेग्न नसकेर पदीय जिम्मेवारीबाट पन्छिँदै आफ्नो देश छाडेर अन्यत्र शरण लिन भागे।
आज पनि सञ्चार माध्यममा उक्त श्रीलंकाली परिस्थितिलाई आर्थिक संकटको मात्र संज्ञा दिइन्छ। तर सो तर्क न्यायोचित भने होइन। त्यो केबल अपूरो विश्लेषण हो। आजको वैश्य युगमा अर्थ, माने पैसाको महत्व भीमकाय होला। तर सो भन्दैमा कुनै पनि देशको बहुआयामिक पक्षहरूलाई विश्लेषणको विषय नै नबनाइनु उचित होइन। तसर्थ श्रीलंकाको अवस्था आर्थिक मात्र नभइ, सो टापु-देशमा व्याप्त सामाजिक, भौगोलिक, राजनीतिक, नैतिक, र मनोबैज्ञानिक संकटहरूको अन्तरघुलनबाट उब्जिएको विशेष सकंट हो।
श्रीलंकाली संकटका कारणहरू के के बाहिर प्रेसित भए र के के बाहिर आएनन् त भन्ने कुरा चाखलाग्दो छ। यहाँ संक्षिप्त रुपमा बजारमा व्याप्त कारणहरूको कुरा गरौँ।
प्रथम, उक्त देशले लिएको ऋणको भारी साह्रै धेरै भएका कारणले उसको साँवा-ब्याज तिर्नुपर्ने दायित्व बलुनजस्तै फुलेको थियो र कोभिड महामारी र सोपश्चातको युद्धका कारण देशको आम्दानी घटेकाले (रेमिट्यान्स, पर्यटन, निर्यात घटेका कारण) दायित्व तिर्न सकेन भनियो।
दोस्रो, ‘चिनियाँ ऋणको पासो कुटनीति' (डेव्ट ट्राप डिप्लोमेसि) का कारण यो अवस्था निम्तिएको लख काटियो।
तेस्रो, सो समयका शासनको वागडोर सम्हालेका राजापाक्षे परिवारको अर्कमण्यता, घुसपैठ, अदूरदर्शिता र शासनशैलीमा चरम लापरवाहीका कारण संकट उत्पन्न भएको सर्वत्र लेखियो, छापियो, पढियो, बुझियो। यससँगै केही प्राज्ञिकवर्ग र अनुसन्धानकर्ताले ‘सिन्हाला बुद्धिष्ट राष्ट्रियता’लाई पनि सम्भावित कारण भनि प्रस्तुत गरेको पाइन्छ।
ती तात्कालिक कारणबाहेक अरु थुप्रै यस्ता घतलाग्दा विषय छन् जुन सञ्चार माध्यम/प्राज्ञिक सोध/लेख/बहसहरूमा आएन।
श्रीलंकाको आर्थिक इतिहासको अर्थ व्यवस्थासँग सालनाल कहाँ र कसरी जोडिएको छ भन्ने कुनै लेखाजोखा नै भएनन्। केही हदसम्म समाजवादी चरित्रको यस ‘टापुदेश’लाई पुँजीवादी रुपान्तरण गर्न कसको कस्तो कस्तो भूमिका थियो र यहाँ अर्थतन्त्रको नव-चरित्र किन फापेन/फाप्दैन?
स्वउपभोगका लागी प्रशस्त धान चामल र अन्य खाद्यान्न उब्जनि हुने आत्मनिर्भर श्रीलंकाले आज किन केही निर्यातजन्य वस्तुहरूमात्रै उत्पादन गर्न थाल्यो र बाँकी सबै वस्तु आयात गर्न थाल्यो? सरकारी स्वामित्वको करिब ८५ प्रतिशत जग्गा निजीकरण गर्नुपर्यो भन्दै पश्चिमा शक्तिहरू किन ४ सय वर्षअघिदेखि विभिन्न उपाय खोज्दैछन् र प्रत्येक पटक विफल हुन्छन्?
श्रीलंकालाई आर्थिक रुपमा शिथिल पार्न दशकौँ लामो गृहयुद्धको विजारोपण किन भएको थियो? ऋणको पासोमा फस्नुमा चीनको खराब कुटनीतिले काम गरिरहेको हो अथवा ऋणको अझ ठूला पासो थाप्ने जालहरू अन्यत्र कतै छन्? भौगोलिक हिसाबले श्रीलंका कत्तिको संवेदनशील छ र यसले अर्थतन्त्रमा कस्तो प्रभाव पारिरह्यो र पारिरहनेछ?
के आन्दोलनपश्चात श्रीलंकाली जनताले आफूले चाहेजस्तै नेता सत्तामा पाए? के आन्दोलनले साँच्चिकै आर्थिक संरचनामा परिवर्तन ल्यायो त? यो प्रकृतिको संकट के श्रीलंकाले मात्र भोगिरहेको छ?
पक्कै पनि संकटको सतहमा पहिले श्रीलंका देखापर्यो तर अन्तर्यमा हेर्दा सुषुप्त रुपमा लगभग सबै अल्पविकसित देशहरू हालको विश्व आर्थिक मोडलबाट ठगिइरहेको र छटपटाइरहेको भान हुन्छ। ती सबै देशहरूमा ऋणको सतहले खतराको घण्टी बजाइसकेको छ।
त्यस्ता देशहरू वर्षौं हजारौँ खर्ब रुपैयाँ ब्याजका रुपमा तिर्न बाध्य छन्। धनी देशका कारण उत्पन्न जलवायु परिवर्तनको समस्याबाट सबैभन्दा जोखिमयुक्त यिनै गरिब देश छन्। परिवर्तित वातावरणमा कृषि उत्पादन शून्यउन्मुख छ। उत्पादित वस्तु धनी देशको बजारसम्म पुग्नबाट विभिन्न बहानामा रोकतोक लगाइएको छ। अत्यावश्यक औषधि, चामल, तेल, ऊर्जाको मूल्य आयात गर्नै नसक्ने गरि बढाइएको छ। यस्तोमा भनिँदै छ कि तिमीहरू पछ्यौटेपनले गर्दा नै गरिब भएका हौ।
साम्राज्यवाद हाबी भएको युगमा जस्तै आज पनि विश्व आर्थिक संरचना विभेदकारी रहेको कुरा सर्वविधितै छ। नत्र कसरी कोरोना महामारीले सताएको दुई वर्षको अवधिमा विश्वका खर्बपतिहरूको सम्पत्ति पछिल्लो २३ वर्षमा आर्जन गरेको उनीहरूकै सम्पत्तिभन्दा धेरै बढ्न सक्छ? (अक्सफाम रिपोर्ट, २०२२)
जब विश्व सारा दु:खमा हुन्छ, खर्बौं मानिसहरू चरम गरिबीको रेखामुनी धकेलिन्छन्, तब कसरी केही हजार मान्छे कल्पनै गर्न नसक्ने गरी धनी बनिरहेका छन्? आज आर्थिक रुपमा देशभन्दा पनि ठूला नीजी कम्पनीहरू आफ्ना फाइदाका निम्ति प्रकृतिको दोहनबाट अकुत धन कमाउन उद्धत छन् र यसको सबैभन्दा बढी मार दक्षिणी विश्व (ग्लोबल साउथ) ले भोग्नु परिरहेको छ।
यसमा नेपालले के सिक्यो र के सिक्ने त? यी माथि उल्लेखित सबै पाटाहरूलाई नजिकबाट ननियाली, केही खेस्रा कारणहरूको विश्लेषणबाट मात्र श्रीलंका (सतही रुपमै संकटग्रस्त) र बाँकी नेपालजस्ता तेस्रो विश्व (सुषुप्त रुपमा संकटग्रस्त) को आर्थिक संकटको गहिराइ ठम्याउन मुस्किल छ। यसको खोजी अब यस श्रृंखला 'श्रीलंकाली संकटको अन्तर्य र नेपाललाई पाठ'को अर्को लेखमा।
(माथि उल्लेखित विषय लेखकका निजी विचार हुन् र सम्बद्ध संस्थाको दृष्टिकोण/नीतिसँग सम्बन्धित छैनन्)