आइतबार, वैशाख ७ गते २०८२    
आइतबार, वैशाख ७ २०८२
images
images

विदेशको एक लाख पारिश्रमिक छाडेर नेपालमा एक करोड लगानीमा च्याउखेती, वार्षिक डेढ करोडको कारोबार

images
बिहीबार , भदौ २१ २०८०
images
विदेशको एक लाख पारिश्रमिक छाडेर नेपालमा एक करोड लगानीमा च्याउखेती, वार्षिक डेढ करोडको कारोबार

धादिङका विनोद पौडेलले केवलपुरमा ३० रोपनी जग्गामा च्याउखेती गरिरहेका छन्। उनले तीनजना पूर्णकालीन र ६ जना आंशिक गरी नौ जनालाई उनले रोजगारी समेत दिएका छन्। च्याउ बिक्रीबाट वार्षिक झन्डै डेढ करोडको कारोबार हुने उनी बताउँछन्।

images
images

धादिङ- वैदेशिक रोजगारीमा पाँच वर्ष बिताएका विनोद पौडेलले च्याउ खेतीमा एक करोड लगानी गरेका छन्। युएईमा मेनेजरको काम छाडेर नेपाल फर्किएका पौडेलले धादिङको थाक्रे गाउँपालिका-१० केवलपुरमा च्याउ खेती सुरु गरेका हुन्।

images
images
images

युएईको कन्सल्टेन्ट कम्पनीमा मासिक झन्डै एक लाख कमाइ भइरहे पनि अब नेपालमै केही गर्नुपर्छ भन्ने सोचका साथ च्याउ खेती सुरु गरेको उनले बताए। 'अर्काको देशमा अरूले दिएको रोजगारीले जति नै कमाइ भए पनि नेपालमै कृषि खेती गर्नुपर्छ भन्ने पारिवारिक सल्लाहअनुसार च्याउ खेती सुरु गरिएको हो', पौडेल भन्छन्, 'चार वर्षअघि सुरु गरेको च्याउले राम्रै आम्दानी दिइरहेको छ।'

images
images

विसं २०७६ मा काठमाडौंको नागार्जुन नगरपालिका-५ आमकोटबाट साझेदारीमा च्याउ खेती गर्न सुरु गरेका पौडेलले धादिङको केवलपुरमा ३० रोपनी जग्गामा च्याउ खेती गरिरहेका छन्। अहिले ४५ च्याउ घर छन्। दुई रोपनीमा ग्रिन हाउस छ।

images
images

'१० रोपनी आफ्नै जग्गा हो, २० रोपनी जग्गा वार्षिक ७५ हजार रूपैयाँ भाडामा लिएको छु, च्याउमा मात्रै पूरा एक करोड लगानी भएको छ', पौडेल बताउँछन्। अहिले दैनिक पाँच सय किलो च्याउ कालीमाटी फलफूल तथा तरकारी बजारमा पुग्छ, सरदर महिनामा २० दिनमात्र च्याउ बिक्री गर्दा १० हजार किलो च्याउ बिक्री हुँदै आएको छ, एक वर्षमा एक लाख २० हजार किलो च्याउ बिक्री गर्दै आएको उनको भनाइ छ।

सरदर प्रतिकिलो एक सय २० रूपैयाँमा बिक्री गर्दा वार्षिक एक करोड ४४ लाख रूपैयाँको करोबार हुने उनको अनुभव छ। जलेश्वर कृषि च्याउ तथा पशुपक्षी फार्म प्रालिमार्फत च्याउ बजारसम्म लैजान उनले २५ लाखमा गाडी किनेका छन्।

तीनजना पूर्णकालीन र ६ जना आंशिक गरी नौ जनालाई उनले रोजगारी पनि दिएका छन्। 'हिजो म अर्काको देशमा अरूकै काम गरेर आएको हुँ,' पौडेल भन्छन्, 'आज आफ्नै नेपाली दाजुभाइलाई गाउँठाउँमा काम दिन सक्ने भएको छु।'

उनले दुईवटा ग्रिन हाउस बनाउन ६ लाख रूपैयाँ अनुदान सरकारबाट लिएका छन्। काम गर्ने मजदुर खर्च, ब्याज, कच्चापदार्थ खर्च, औषधी उपचार र व्यवस्थापन खर्च कट्टी गरेर मासिक एक लाख २० हजार बराबर कमाइ हुने उनको भनाइ छ।

'कमाएको हिसाबले विदेशमा मासिक ७५ हजार रूपैयाँ आउँथ्यो। बिना लगानीको कमाइ ठिकै लाग्थ्यो, अहिले कम्पनीमा भएको लगानी एक करोडमध्ये ५० लाख रूपैयाँ ऋणमा छ,' उनले भने, 'घरपरिवारसँगै बसेर कृषिमा राज्यलाई योगदान गर्न पाएको छु, यसमै खुसी छु।'

जाडो मौसममा तीन किलो र गर्मी मौसममा दुई किलो परालको पोका बनाएर बीउ उमार्ने गरिन्छ। च्याउ उत्पादनका लागि पराल तयार पार्नेदेखि ग्रिन हाउसमा लगेर पोका झुन्ड्याउने काम गरेबापत प्रतिपोका ३२ रूपैयाँ मजदुरले पाउँछन्। यसरी काम गर्दा एक मजदुरले सरदर एक हजार रूपैयाँ दैनिक पाँउछन्। रासस


प्रकाशित : बिहीबार , भदौ २१ २०८००६:२७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend