शुक्रबार, जेठ ४ गते २०८१    
images
images

मालढुंगा-बेनी सडक : सम्झौता अवधि सकिँदा ४० प्रतिशतमात्रै काम

images
सोमबार, भदौ १८ २०८०
images
images
मालढुंगा-बेनी सडक : सम्झौता अवधि सकिँदा ४० प्रतिशतमात्रै काम

दुई वर्षभित्र सम्पन्न गर्नेगरी सम्झौता भए पनि अहिलेसम्म ४० प्रतिशत मात्र काम भएको छ।

images
images

पर्वत- राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर आयोजनामा पर्ने मालढुंगा-बेनी सडक स्तरोन्नतिको काम सम्झौता अवधि नाँघीसक्दा जम्मा ४० प्रतिशत मात्र प्रगति भएको छ। सम्झौताअनुसारको काम हुन नसक्दा यो सडक हुँदै आवतजावत गर्ने दैनिक सयौँ सवारीसाधन र हजारौँ यात्रु जोखिमपूर्ण यात्रा गर्न बाध्य छन्।

images
images
images

उत्तर दक्षिण जोड्ने कालीगण्डकी कोरीडोर आयोजनाअन्तर्गत बेनी-जोमसोम-कोरला सडक आयोजनामार्फत १३ किमी दुरीको मालढुंगा-बेनी सडक स्तरोन्नतिका लागि विसं २०७७ चैतमा एपेक्स-खड्का-कृष्ण जेभीले ५२ करोड ८६ लाख रूपैयाँमा ठेक्का सम्झौता गरेको थियो। दुई वर्षभित्र सम्पन्न गर्नेगरी सम्झौता भए पनि अहिलेसम्म ४० प्रतिशत मात्र काम भएको छ।

images

जोमसोमस्थित कालीगण्डकी करिडोर आयोजनाका प्रमुख जगत प्रजापतिका अनुसार हालसम्म मालढुंगा-बेनी सडकको ४० प्रतिशत काम सम्पन्न भएको छ। 'विसं २०८० पुससम्म म्याद थप भएको थियो सडक निर्माणका क्रममा विभिन्न बाधा अवरोध सिर्जना भएकाले ढिला भएको हो', उनले भने, 'सायद यतिबेला सडक निर्माण अन्तिम अवस्थामा पुग्थ्यो होला, ढुंगा, गिट्टी, बालुवा अभावले पनि ढिला भएको हो।'

images
images

आयोजना प्रमुख प्रजापतिले निर्माण कम्पनीलाई थप स्रोतको व्यवस्था गरेर अहिले सडकमा सवारीसाधन र यात्रुले पाउँदै आएको समस्या समाधान गर्न निर्देशन दिएको बताए। 'हामी तत्काल अहिलेको समस्या हटाउन लाग्छौँ', उनले भने, 'खाडल हटाउनका लागि निर्माण कम्पनीलाई कुनै बजेट मिलाएर लगाउँछौँ।'

images
images

प्रमुख जिल्ला अधिकारी प्रेम आचार्यले मालढुंगा-बेनी सडकखण्डमा निर्माण व्यवसायीको लापरबाहीले लामो समयदेखि समस्या देखिँदै आएको बताउँदै सडक सहज बनाउन ताकेता गरिएको जानकारी दिए। उनले थप स्रोत व्यवस्था गरेर पनि यात्रुलाई हिँडडुल गर्न र साना तथा ठूला सवारी साधन सञ्चालनमा सहज गराउन भनिएको जानकारी दिए।

कालीगण्डकी नदीबाट निर्माण सामग्री उत्खनन गर्न नपाएको भन्दै निर्माण कम्पनीले झन्डै एक वर्षदेखि धमाधम काम गरेको छैन। थोरै संख्यामा मजदुर राखेर काम भएको देखाउँदा समयमै सम्पन्न हुन नसकेको स्थानीयवासी हरेमबहादुर खत्रीले बताए।

कुश्मा नगरपालिका-१ मा पर्ने मालढुंगाबाट जलजला गाउँपालिका-८, ७, ४ र ३ वडा हुँदै म्याग्दीको सदरमुकाम बेनी जोड्ने सडक निर्माण सामग्रीको अभावमा रोकिएको छ। तेह्र किमी लामो उक्त सडकमा अहिले यात्रा गर्न सकस हुँदै आएको छ। सडकमा रहेका ठूलाठूला खाडल, हिलो र ढुंगा तथा पहिरोका कारण जोखिमपूर्ण बनेको उनको भनाइ थियो।

मालढुंगादेखि बेनीसम्मको १३ किमी पार गर्न घण्टौँ समय लाग्ने गरेको छ भने मोटरसाइकल, स्कुटर र कार तथा ट्याक्सी चलाउन तथा पैदलयात्रु हिँड्नसमेत नसक्ने अवस्था रहेको यात्रुहरुले गुनासो गर्दै आएका छन्।

सडकको निर्माण ढिलाइ हुँदा चौतर्फी दबाबका कारण सुरु भए पनि निर्माण सामग्री नहुँदा द्रुत गतिमा काम हुन नसकेको एपेक्स-खड्का-कृष्ण जेभीको सहायक कम्पनी ओमकारेश्वरका प्रतिनिधि अमृत दाहालले बताए। सडकको धेरै ठाउँमा सबबेस र बेस बिछ्याउने अवस्थामा पुगेको तर क्रसर उद्योगका लागि चाहिने कच्चापदार्थ नदीबाट निकाल्न नदिइएका कारण काम रोक्नु परेको उनको भनाइ थियो।

कालीगण्डकी नदीमा शालिग्राम पाइने भएकाले क्रसर व्यवसायीले जथाभावी उत्खनन गर्दा यहाँको संस्कृति र सभ्यता नै लोप हुने अवस्थामा पुगेको भनेर सर्वोच्च अदालतमा रिट दायर भएकामा उक्त अदालतको अन्तरिम आदेशपछि स्थानीय तहले समेत नदीबाट ढुंगागिटी उत्खननका लागि ठेक्का लगाउन सकेको छैन।

निर्माण कम्पनीले गएको माघ १७ मा सबै सरकारी निकायलाई विपक्षी बनाएर निर्माण सामग्रीको सहज व्यवस्थापनका लागि सर्वोच्च अदालतमा रिट दायर गरे पनि पुरानो मुद्दा कायमै रहेको भन्दै नयाँ आदेश नदिएकाले निर्माण कम्पनी काम छाडेर हिँड्न बाध्य भएको व्यवसायी दाहालको जिकिर थियो। रासस


प्रकाशित : सोमबार, भदौ १८ २०८०१०:०४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend