काठमाडौं- २०२१ को डिसेम्बर २७ मा नेपाल एयरलाइन्सको ‘नाइन एन एकेडब्लू’ कल साइन भएको न्यारोबडी जहाज कतारको दोहामा अवतरणपछि पार्किङमा लैजादै गर्दा समस्या देखियो। इन्जिनमै समस्या भएको पाइएपछि मर्मत गर्नुपर्ने भयो। त्यो जहाज दुई महिनाभन्दा बढी अर्थात् २०२२ को मार्च ५ सम्म दोहामै थन्कियो (ग्राउन्डेड)।
कुनै पनि इन्जिनको निश्चित लाइफ साइकल हुन्छ, निश्चित समयमा मर्मतसम्भार गर्नुपर्छ र कुन इन्जिनले कति समयसम्म काम गर्नसक्छ भन्ने कुराको पूर्वानुमानित रेकर्ड एयरलाइन्स व्यवस्थापनसँग हुन्छ। उक्त जहाजको इन्जिनमा समस्या आइरहेको कुरा करिब पाँच महिनाअघि नै कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई जानकारी थियो।
इन्जिनमा जुनसुकै समयमा पनि समस्या आउन सक्ने भएकाले तत्काल एमआरओ छनौटको प्रक्रिया सुरू गर्न सुझाव पनि प्राविधिक टोलीले दिएको थियो। जब कि कुनै पनि इन्जिनमा आउन सक्ने समस्याको पूर्वजानकारी दिन सक्ने प्रविधिककै लागि वर्षमा १६ लाख रुपैयाँ खर्चिएको छ। इन्जिन हेल्थ मनिटरिङ प्रणालीमार्फत कुनै पनि इन्जिनमा कस्तो समस्या आउँदैछ भनेर जानकारी हुन्छ। त्यही सूचनाका आधारमा व्यवस्थापनमा सहज होस् भनेर प्रविधिमा लगानी गरिएको छ। त्यही प्रणालीले दिएको सूचनाको बेवास्ता गर्दा एउटा जहाज दुई महिनाभन्दा बढी दोहामै ग्राउन्डेड भएको थियो।
खरिद प्रक्रिया पूरा गर्ने समयसहितको जानकारी पाउने भएपनि निगमले यसको सदुपयोग भने गरेको छैन। यसरी सूचनाको सुविधा उपयोग नगर्नुमा व्यवस्थापनको अनियमितताको नियत देखिन्छ। कुनै पनि इन्जिनमा समस्या आइसकेपछि खरिद गर्दा कमिसन तथा लभको बार्गेनिङ गर्न सहज हुने भएकाले अन्तिममा आएर दबाबमा आएजस्तो गरी जसरी पनि जति पनि मूल्यमा खरिद गर्ने नियतले यस्तो गरिँदै आएको छ।
व्यवस्थापनको लाचारी, कमिसन मोहका कारणले गर्दा नेपाल एयरलाइन्सले साढे ३ अर्बभन्दा बढी आम्दानी गुमाएको छ। इन्जिन मर्मत तथा खरिदमा गरिएको ढिलाइका कारणले ‘नाइन एन एकेडब्लू’ जहाज ग्राउन्डेड हुँदा निगमले साढे ३ अर्ब बढीको नोक्सानी बेहोरेको छ।
इन्जिनमा समस्या देखिएपछि निगमले तत्काल मर्मतका लागि प्रक्रिया सुरू नगर्दा ६८ दिनसम्म जहाज दोहामै ग्राउन्डेड भयो। इन्जिन मर्मतको सेवा दिने कम्पनी छनौटका लागि न टेन्डर भयो न वैकल्पिक व्यवस्था। जहाज ग्राउन्डेड भएको ४५ दिनपछि इन्जिन भाडामा लिने तथा मर्मतका लागि एमआरओ छनौटका लागि टेन्डर भयो। २०२२ को फेब्रुअरी २२ मा एमटीयूसँग अधिकतम ९० दिनका लागि प्रतिदिन २ हजार डलर, प्रतिसाइकल २ सय ३९ डलर र प्रतिघण्टा २ सय ७८ डलर तिर्ने गरी इन्जिन भाडामा लिने सम्झौता गरियो।
यो सम्झौता एकातिर जहाज ग्राउन्डेड भएको ४५ दिन भएको आपतकाल देखाएर उच्च लागतमा गरिएको थियो। यसमा निगमका कार्यकारी अध्यक्षले सबै सेटिङ मिलाएर वातावरण तयार पारेका थिए। जहाज उडे पनि नउडे पनि दैनिक २ हजार डलर तिर्नैपर्ने सम्झौता गरिएको थियो।
फेब्रुअरि २२ मा सम्झौता भएपछि सन् २०२२ को मार्च ५ मा एमटीयूको इन्जिन प्रयोग गरेर उडान सुरू भयो सोही दिनबाट इन्जिन भाडावापतको रकमको भार पनि थपियो। कतारमा ग्राउन्डेड जहाजको बायाँ इन्जिनमा समस्या देखिएको थियो। ७२ दिनपछि जहाज उडानमा आयो। बिग्रिएको इन्जिन मर्मतका लागि इजरायलको आईएआई पठाइयो। इन्जिन मर्मतमा ३६ हजार डलर लाग्ने अनुमानसहित उसैलाई जिम्मा दिइयो।
कतारमा ६८ दिन ग्राउन्डेड हुँदा निगमले गुमायो १ अर्ब आम्दानी
कतारमा जहाज ग्राउन्डेड हुँदामात्रै निगमले १ अर्ब रूपैयाँभन्दा बढी आम्दानी गुमाएको थियो। निगमले न्यारोबडी जहाजको प्रतिघण्टा ७ हजार ७ सय ३० डलर तय गरेको छ। निगमको न्यारोबडी सरदर दैनिक १३ घण्टा उडान हुन्छ। सोही हिसाबमा एक दिन जहाज ग्राउन्डेड हुँदामात्रै निगमले १ लाख ४ हजार ९० डलर गुमाउँछ।
यसरी जहाज ६८ दिन ग्राउन्डेड हुँदा ६८ लाख ३३ हजार ३ सय २० डलर आम्दानी गुम्न जान्छ। प्रतिडलर १३२ रुपैयाँको दरमा हिसाब गर्दा ९० करोड १९ लाख ९८ हजार रुपैयाभन्दा बढी आम्दानी निगमले गुमाएको हो।
कतारतको पार्किङ शुल्कमात्रै ९ करोड बढी
कतारको दोहा विमानस्थलमा ६८ दिन ग्राउन्डेड हुँदा मात्रै निगमले सवा ९ करोड जहाज पार्किङ शुल्क तिरेको छ। जहाज २०२१ को डिसेम्बर २७ देखि मार्चको ५ सम्म कतारको दोहामा पार्किङ भएको थियो।
पार्किङ वेवमा बस्दाको शुल्कवापत निगमले कतार विमानस्थलाई ७० हजार डलर भुक्तानी गरेको हो। प्रतिडलर १३२ रुपैयाँको दरमा निगमले जहाज पार्किङमा ९ करोड २४ लाख रुपैयाँ खर्च गरेको हो।
डिसेम्बरमा बिग्रेको इन्जिन सेप्टेम्बरमा मर्मत, ३६ लाख डलरबाट बढाएर ४२ लाख डलर भुक्तानी
कतारको दोहामा बिग्रिएको इन्जिन मर्मतमा ९ महिना लागेको थियो। सामान्यत ३ महिना मै इन्जिन मर्मत हुन्छ। मर्मतका लागि पहिले नै एमआरओ छनोट गरेर राखिनुपर्छ। तर निगमले पहिले नै एमआरओ छनोट गरेन। निगम व्यवस्थापनलाई जहाजको इन्जिनमा समस्या आउँदै थियो भने जानकारी भएको थियो। तर कमिसनका लागि अधिकारीले कुनै काम गरेनन्। पछि इन्जिनमा समस्या आएपछि मात्रै एमआरओ छनोट प्रक्रिया सुरु भयो।
इन्जिन मर्मतको लागि ३६ लाख डलरमा इजरायलको आईएआई पठाइयो। इन्जिन मर्मतमा ३६ लाख डलर लाग्ने अनुमानसहित उसलाई जिम्मा दिएपनि अन्तिम भुक्तानी गर्ने बेला भने ४२ लाख डलर भुक्तानी भयो। बढी रकमलाई प्रमाणित गर्न समिति समेत गठन गरिएको थियोश्र यसरी प्रति डलर १३२ रुपैयाँको दरमा आईएआई कम्पनीलाई ५५ करोड ४० लाख रुपैयाँ भुक्तानी भएको थियो।
९० दिनका लागि लिएको इन्जिन डेढ वर्ष प्रयोग
डिसेम्बर २७ मा ग्राउन्डेड जहाजमा भाडाको इन्जिन प्रयोग गरेर २०२२ को मार्च ५ बाट जहाज उडानमा ल्याइयो। इन्जिन खरिद विनियमावलीअनुसार अधिकतम ९० दिनका लागि लिन पाउने व्यवस्थाअनुसार एमटीयूसँग दैनिक २ हजार डलर (जहाज उडान भएपनि नभएपनि), प्रतिघण्टा २ सय ७८ डलर र प्रतिसाइकल २ सय ३९ डलरमा इन्जिन भाडामा लिइयो। जहाज मार्च ५ बाट उडानमा आयो तर इन्जिन भाडा मार्च ३ बाट नै सुरु गरियो।
९० दिनका लागि भनेर ल्याइएको इन्जिन ५२८ दिनसम्म जहाजमा प्रयोग
एमटीयूको इन्जिन २०२३ को अगस्ट १२ मा निगमको जहाजबाट झिकियो। तर झिकिएको इन्जिनको चेक जाँच गरेर कम्पनीलाई बुझाइएको छैन। चेक जाँचमा मात्रै ३० लाख रुपैया खर्च हुने छ। अगस्ट १२ पछि पनि प्रतिदिनको २ हजार डलर भने खर्च भइरहेको छ।
जहाजबाट इन्जिन झिकेको दिनसम्मका लागि मात्रै निगमले प्रतिदिनको २ हजार डलरको दरमा १० लाख ५६ हजार डलर खर्च गरेको छ। प्रतिडलर १३२ हजारकै दरमा १३ करोड ९३ लाख ९२ हजार रुपैयाँ खर्च गरेको छ। यसैगरी प्रतिघण्टा २ सय ७८ डलरकै दरमा एमटीयूलाई ४४ सय २३ घण्टाको रकम भुक्तानी भएको छ। निगमले प्रतिघण्टा २ सय ७८ डलरको दरमा कुल १२ लाख २९ हजार ५ सय ९४ डलर भुक्तानी गरेको छ। प्रतिडलर १३२ रुपयाँकै दरमा हिसाब गर्दा १६ करोड २३ लाख रुपैयाँ भन्दा बढी रकम भुक्तानी भएको छ।
यसैगरी निगमले प्रतिसाइकलको दरमा पनि रकम भुक्तानी गरेको छ। प्रतिसाइकलको दर भने २ सय ३९ डलर रहेको छ। एमटीयूको इन्जिन प्रयोग पछि जहाजले कुल १४ सय ४० वटा साइकल पूरा गरेको छ। सो वापत निगमले कम्पनीलाई ३ लाख ४४ हजार १ सय ६० डलर तिरेको छ। प्रतिडलर १३२ रुपैयाँको दरमा ४ करोड ५४ लाख २९ हजार रुपैयाँ भन्दा बढी उडान साइकलमा भुक्तानी भएको छ।
मर्मतका लागि पठाइएको इन्जिन मर्मत नहुँदै अर्को इन्जिन बिग्रँदा ६१ दिन जहाज ग्राउन्डेड
२०२२ को मार्च ५ देखि भाडाको इन्जिन प्रयोग गरेर नाइन एन एकेडब्लू जहाज उडानमा आएको थियो। तर पुन: २०२२ को जुलाई ३० देखि जहाजको अर्को इन्जिनमा समस्या देखियो। जहाज ग्राउन्डेड भयो। जहाज सेप्टेम्बर ३० मात्रै उडानमा आयो। २०२१ को डिसेम्बरमा बिग्रिएको इजरायल पठाएको इन्जिन मर्मतपछि एमटीयूसँग लिएको भाडाको इन्जिनलाई निरन्तरता दिँदै जुलाईमा बिग्रिएको इन्जिनको सट्टा त्यो इन्जिन राखेर जहाज उडानमा ल्याइयो।
यो बीचमा जहाज ६१ दिन ग्राउन्डेड भयो। जहाज ग्राउन्डेड हुँदा ८० करोड भन्दा बढी आम्दानी गुमायो। निगमको न्यारोबडी जहाज सरदर दैनिक १३ घण्टा उडान हुन्छ। निगमले प्रतिघण्टाको चार्टर रेट ७ हजार ७ सय ३० डलर तोकेको छ। सोही हिसाबमा निगमले ६२ दिन ग्राउन्डेड हुँदा ८० करोड भन्दा बढी आम्दानी गुमाएको हो।
२०२२ को जुलाईमा बिग्रिएको इन्जिन मर्मतमा १ वर्ष, लागतमात्रै ६२ करोड
२०२० को जुलाई ३० मा बिग्रिएको इन्जिन एक वर्षपछिमात्रै मर्मत सम्पन्न भएको छ। जुलाई ३० मा बिग्रिएको इन्जिन मर्मतको जिम्मा जर्मन कम्पनी लुफ्थान्सालाई दिइएको थियो। कम्पनीले १ वर्षपछि मात्रै इन्जिन मर्मत गरेर दिएको हो।
मर्मत भएको इन्जिन २०२३ को अगष्टमा निगमको न्यारोबडी जहाज नाइन एन एकेडब्लूमा हालिएको छ। अहिले निगमको नाइन एकेडब्लू जहाजमा २ वटै मर्मत भएको निगमको आफ्नै इन्जिन रहेको छ। यो इन्जिन मर्मतका लागि ४७ लाख डलर लागत अनुमानसँगै लुफ्थान्सालाई दिइएको थियो। इन्जिन मर्मत भएर आएपनि अन्तिम भुक्तानी रकम खुलेको छैन। ४७ लाख डलर मात्रैको प्रतिडलर १३२ कै दरमा हिसाब गर्दा पनि ६२ करोड रूपैयाँ खर्च भएको छ। न्यारोबडी जहाजको नयाँ इन्जिनको मूल्य बराबरकै मर्मतमा खर्च भएको छ।
यसरी २० महिनमा एउटा जहाजको इन्जिन बिग्रँदा निगमले दैनिक गर्ने आम्दानीसँगै खर्चमा मात्रै साढे ३ अर्ब गुमाएको हो।
२०२१ को डिसेम्बर २७ देखि २०२३ को अगस्ट १२ सम्म आइपुग्दा १२९ दिन ग्राउन्डेड भएको थियो। जहाज ग्राउन्डेड हुँदा दैनिक हुने आम्दानीको हिसाबमा मात्रै १ अर्ब ७० करोड गुमेको छ। २ वटा इन्जिन मर्मतमा मात्रै १ अर्ब १७ करोड, कतारमा जहाज पार्किङमा ९ करोड २४ लाख, इन्जिन भाडामा मात्रै ३५ करोड रुपैयाँ खर्च गरेको हो।
जहाजबाट भाडाको इन्जिन झिकेपछि पनि प्रतिदिन २ हजार डलरका दरले २३ दिनकाे भाडा बुझाइएकाे छ। जहाजबाट एमटीयूकाे इन्जिन अगस्ट १२ मा झिएकाे हाे। तर भाडा ३१ तारिकसम्मकाे लागि भुक्तानी भएकाे हाे