भरतपुर- इच्छाकामना गाउँपालिका-३ खानी गाउँका ज्ञानबहादुर मगरलाई आजभोलि गाउँघर शून्य लाग्छ। गाउँमा पहिलेजस्तो गाउँमा चहलपहल छैन। धेरै मानिसहरु बसाइँसराइ गरी बजार पुगेका छन्।
'घरमा श्रीमान र श्रीमती मात्रै छौँ', मगरले भने, 'कोही छोरा भरतपुर त कोही विदेशमा छन्।' पहिले १२ घरपरिवार रहेको खानी गाउँमा अहिले पाँच/छ घर मात्रै छन्। केटाकेटी पनि पढ्नका लागि बजार झरिसकेको र गाउँमा बुढापाका मात्रै बाँकी भएको उनको भनाइ छ।
सोही वडाको कुयलघारीमा अधिकांश घर खाली छन्। यो भूकम्प प्रभावित ठाउँ पनि हो। भूकम्पपछि यहाँबाट बसाइँसराइ गर्ने बढेका थिए। यस ठाउँलाई भूकम्पको जोखिमयुक्त ठाउँ घोषणा गरेपछि झन् गाउँ छाड्ने बढेको कुयलघारीका सन्तुलाल विकले बताए।
मानिसको बसोबास घट्दै गएपछि खेतीयोग्य जमिन बाँझो हुन थालेको छ। पशुपालन र कृषि पनि घट्दै गएको छ। खानीगाउँ र कोयलघारीमा एक सय आठ घरधुरी छन्। यहाँ मगर, गुरुङ, चेपाङ र दलित समुदायको बसोबास छ।
स्थानीय झुमाकुमारीले कोही छोराछोरी पढाउन भन्दै बजार गएको र कोही कमाउन भन्दै विदेश गएपछि गाउँमा चहलपहल कम हुँदै गएको बताइन्। खानीगाउँदेखि नारायगणगढ-मुग्लिन राजमार्ग पाँच किलोमिटर दुरीमा पर्दछ। गाउँमा अहिले मोटरबाटो पुगेको छ। विद्युत्, खानेपानीको सबै सुविधा पनि आइसकेको छ।
विकास पुगेपछि पशुपालन र खेतीपाती कम हुँदै गएको कुयलघारीका सेतु विकको भनाइ छ। 'यहाँका जमिन बाँझै छन्। मानिस सहर पसे। गाउँमा भएकाले पनि काम गर्न छाडे', उनले भने।
मानिसको बसोबास कम हुँदै गएपछि यहाँका घर जीर्ण बन्दै गएको इच्छाकामना गाउँपालिका कार्यपालिका सदस्य परिमाया कामीले बताइन्। युवाहरुले गाउँ छाडेपछि खेती हुन छाडेको छ भने यहाँ उत्पादन हुने फसलले छ महिना पनि नपुग्ने उनको भनाइ छ।
पहिले जस्तो उत्पादन पनि हुँदैन त्यसैले बजारबाट सामान किन्नुपर्ने बाध्यता छ। यहाँका मानिसहरु बाख्रा बिक्रीबाट कमाएको र विदेशबाट पठाएको पैसाले जीविकोपार्जन भइरहेको इच्छाकामना गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरुङले बताए।
'किसानका लागि गाउँपालिकाले कृषिका कार्यक्रम ल्याएको छ। तर उक्त सुविधा लिने कोही छैनन्', उनले भने, 'गत वर्ष छुट्याइएको बजेट पनि खर्च भएन।' गाउँपालिकाले ५० प्रतिशत अनुदानमा खोर र गोठ सुधारका कार्यक्रम ल्याएको थियो। उनले पालिकाले गाउँमा बाँझै रहेका खेतबारीमा व्यावसायिक कृषिका लागि योजना बनाएर काम गर्ने बताए।
यहाँका मानिस भरतपुर, सिमलढाप र गैँडाकोट लगायतका क्षेत्रमा बसाइँसराइ गर्ने गरेका छन्। बसाइँसराइ गरी जाने अधिकांशले जमिनसमेत बिक्री गरिसकेका छन्। रासस