शुक्रबार, जेठ ४ गते २०८१    
images
images

हुलाकी सडकले फेर्दैछ मधेस प्रदेशको काँचुली

images
आइतबार, भदौ ३ २०८०
images
images
हुलाकी सडकले फेर्दैछ मधेस प्रदेशको काँचुली

पूर्व-पश्चिम हुलाकी सडकअन्तर्गत मधेस प्रदेशका आठवटै जिल्लामा सडक निर्माण कार्य तीव्र रुपमा अघि बढेसँगै दुर्गम मानिएका ग्रामीण क्षेत्रहरु अहिले सुगम क्षेत्र बन्दै गएको छ। यहाँ जग्गाको मूल्य समेत बढ्न थालेको छ।

images
images

वीरगञ्ज- कुनैबेला साँघुरो सडक र सडकै छेउमा फुसको छाप्रो, त्यसभित्र स-साना पसल मात्रै देखिने मधेस प्रदेशका ग्रामीण बजारको स्वरुप यतिबेला फेरिएको छ। बजारको स्वरुप फेरिएसँगै त्यस क्षेत्रका स्थानीयमा पहिलाको भन्दा बेग्लै खालको उत्साहसमेत देखिन थालेको छ।

images
images
images

सिरहाको बरियारपट्टी बजार पनि अहिले सुगम क्षेत्रका रुपमा आफ्नो पहिचान फेर्न लागेको छ। भारतीय सिमानाका लदनियाँ बजारसँगै टाँसिएको बरियारपट्टी बजारमा धमाधम ठूला लगानीका पसल खुल्न थालेको छ भने बजारमा सर्वसाधारणको चहलपहलसमेत बढेको स्थानीयवासी बताउँछन्।

images

'पहिला पहिला बजार क्षेत्रमा साघुँरो सडक र फुसको छाप्रो, त्यहाँभित्र साना व्यवसाय मात्र थियो', धनुषाको औरहीका विनोद यादव भन्छन्, 'तर अहिले सडक फराकिलोसँगै बजारमा पक्की भवन र ठूला पसलहरु खुल्न थालेका छन्।'

images
images

पर्साको ठोरी गाउँपालिकालाई केही वर्ष अघिसम्म दुर्गम क्षेत्रको रुपमा मानिथ्यो। तर अहिले ठोरीले आफ्नो पुरानो पहिचान फेरेको छ। यतिबेला ठोरी क्षेत्र मधेस प्रदेशकै प्रमुख पर्यटकीय क्षेत्रका रुपमा विकास हुन थालेको छ। सडक सञ्जालको विकास नहुनु र प्रचारप्रसारको अभावका कारण ओझेलमा परेको ठोरी अहिले हुलाकी सडक कालोपत्रे भएसँगै विकासको गतिमा अघि बढेको छ। पूर्व-पश्चिम हुलाकी सडक कालोपत्र भएसँगै ठोरीका स्थानीयहरुको अनुहारमा यतिबेला मुस्कान छाएको छ।

images
images

हुलाकी सडकअन्तर्गत पर्साको वीरगञ्जदेखि ठोरीसम्मको सडक कालोपत्र भएपछि सदरमुकाम वीरगञ्ज पुग्न सहज भएको छ। 'वीरगञ्जदेखि ठोरीसम्मको दुरी करिब ५२ किलोमिटर पर्छ, गाउँबाट वीरगञ्ज बजार पुग्न पहिला मोटरसाइकलमा सात/आठ घण्टासम्म लाग्दथ्यो', ठोरी गाउँपालिका-४ का ललित श्रेष्ठ भन्छन्, 'सडक कालोपत्र भएपछि अहिले एक घण्टामै पुग्छौँ।' अब धुलो र हिलोबाट समेत हामीले मुक्ति पाएको उनको कथन छ।

पर्सा राष्ट्रिय निकुञ्जसँग जोडिएको ठोरी पर्यटन र कृषिको प्रशस्त सम्भावना रहे पनि सडक सुविधा नहुँदा यहाँका बासिन्दाको जीवनस्तर माथि उठ्न सकेको थिएन। 'पहिला गाउँमा उत्पादन भएको तरकारी तथा फलफूल सहज रुपमा वीरगञ्ज बजार पुर्‍याउन समस्या हुन्थ्यो', बहुदरमाई नगरपालिकाका श्रवण महतो भन्छन्,' तर अहिले सो सडकमा थुप्रै संख्यामा अटो रिक्साहरु चल्न थालेपछि सहज रुपमै तरकारी, फलफूल बजार पुर्‍याउन सकेका छौँ। 

छोटो समयमै धनुषा र सिरहासहित मधेस प्रदेशका ग्रामीण क्षेत्रमा आएको परिवर्तन अन्य कुनै कारणले नभई मधेसकै ‘लाइफ लाइन’को रुपमा मानिएको हुलाकी सडक निर्माणसँगै सम्भव भएको हो। देशकै पुरानो राजमार्गहरुमध्ये पूर्व-पश्चिम हुलाकी सडकअन्तर्गत मधेस प्रदेशका आठवटै जिल्लामा सडक निर्माण कार्य तीव्र रुपमा अघि बढेसँगै दुर्गम मानिएका ग्रामीण क्षेत्रहरु अहिले सुगम क्षेत्र बन्दै गएको छ।

हुलाकी सडकको निर्माणको काम सुरु भएपछि सो भेगका सर्वसाधारणहरु समेत खुसी भएका छन्। हुलाकी सडक निर्माण भएपछि मधेसको विकासले गति लिनुको साथै हजारौं युवाहरुमा रोजगारीको अवसर सिर्जना हुने उनीहरुको विश्वास छ।

हुलाकी सडक विस्तार र स्तरोन्नतिको कामले सिरहाको आधा दर्जन स्थानीय तहको विकासमा ठूलो टेवा पुगेको सिरहाको बरियारपट्टी गाउँपालिका अध्यक्ष सन्तोष मेहताको कथन छ। 'हुलाकी राजमार्ग बनेपछि जग्गाजमिनको मूल्यांकनसमेत बढ्दै गएको छ' सप्तरीको विष्णुपुर गाउँपालिकाका अध्यक्ष उमेश यादव भन्छन्,'पहिला मुस्किलले २० लाख रूपैयाँ प्रतिकठ्ठा बिक्री हुने जग्गाहरु अहिले ६० देखि ७० लाख रूपैयाँ कठ्ठामा बिक्री हुन थालेको छ।'

सडक निर्माणले गाउँ र बजारलाई जोड्ने काम समेत गरेको सप्तरीको बोदे बसाइनका व्यापारी दिपेन्द्र मण्डलले बताए। 'सडक निर्माणका कारण गाउँ र बजारको दुरी घटेको छ, गाउँका स्थानीयहरु बजार आएर सहज रुपमा किनबेच गरिरहेकाले व्यापार बढेको छ', उनले भने, 'पहिला सडक जीर्ण हुँदा गाउँबाट बजार आउन स्थानीयलाई समस्या हुन्थ्यो, अहिले बजारसम्म आउन सहज भएको छ, त्यसैले बिक्री बढेको छ।'

पूर्व-पश्चिम हुलाकी सडकअन्तर्गत पूर्व सप्तरीदेखि पश्चिम पर्सासम्म करिब साढे पाँच सय किलोमिटर सडकमा कालोपत्र र ६० वटाभन्दा बढीभन्दा बढी पुलको निर्माण कार्य सम्पन्न भइसकेको छ।

पूर्वसप्तरीको कञ्चनपुरदेखि सदरमुकाम राजविराजसहित बलान खोलासम्मको ४६ किलोमिटर सडकमा पुलसँगै सडक निर्माणको काम तीव्ररुपमा भइरहेको हुलाकी राजमार्ग निर्देशनालय आयोजना कार्यालय इटहरीका प्रमुख विजयकुमार थापाले जानकारी दिए। 'पूर्व कञ्चनपुरदेखि पश्चिम बलानसम्मको सप्तरी खण्डमा दुईवटा कन्ट्रयाक्टरमार्फत काम भइरहेको छ', प्रमुख थापा भन्छन्,'अहिलेसम्म ३२ किलोमिटर सडकमा कालोपत्र सकिएको र बाँकी करिब आठ किलोमिटरमा सडकमा समेत कालोपत्र गर्ने स्तरसम्मको काम भइसकेको छ।'

यस्तै पूर्व बलान खोलादेखि सर्लाहीसम्मको करिब ९० प्रतिशत सडक खण्डमा कालोपत्र सकिएको छ। हुलाकी राजमार्ग आयोजना कार्यालय जनकपुरधामका अनुसार हुलाकी सडकअन्तर्गत सिरहादेखि सर्लाहीसम्मको करिब २३३ किलोमिटर सडकअन्तर्गत हालसम्म ११८ किलोमिटर सडकमा कालोपत्र सकिएको छ।

बाँकी १५ किलोमिटर सडकमा पनि तीव्ररुपमा काम भइरहेको जनाएको छ। जनकपुरधामस्थित कदमचौकदेखि कमला नदीसम्मको २६ किलोमिटर सडकमध्ये २४ किलोमिटर सडकमा कालोपत्र गरिएको र बाँकी दुई किलोमिटरमा पनि तीव्र रुपमा काम भइरहेको कार्यालयका प्रमुख कृष्णकुमार महतोको भनाइ छ। 

सप्तरी र सिरहाको सीमा छुट्याउने बलान नदीदेखि कमला नदीसम्मको सिरहा खण्डको ३० किलोमिटर सडकमा कालोपत्र सकिएको र सो खण्डमा एउटा पुल निर्माणको काम अन्तिम चरणमा पुगेको प्रमुख महतो बताउँछन्। सो सडक निर्माणको ठेक्का लिएको स्वछन्द, रोशन, महादेव खिम्ती जेभी जनकपुर उपमहानगरपालिका-४ धनुषाले निर्धारित समयमै काम सक्ने जनाएको छ। एक वर्षअघिसम्म सुस्त देखिएको सर्लाही खण्डमा पनि काम तीव्र रुपमा अघि बढेको छ।

सर्लाहीको सितलपुर-मलंगवा खरैया टोलसम्मको सडक निर्माणका काम सुरुमा सडक डिभिजन कार्यालय चन्द्रनिगाहपुर रौतहटबाट हुँदै आएपनि काम अघि बढ्न नसकेको भन्दै हुलाकी राजमार्ग आयोजना कार्यालय जनकपुरधामलाई हस्तान्तरण गरिएको थियो। करिब ४० किलोमिटरको सो सडक हस्तान्तरण भएयता ३८ किलोमिटर सडकमा कालोपत्रको काम सम्पन्न भएको र बाँकी खण्डमा माटो ग्राभेलको काम भइरहेको छ।

चालु आर्थिक वर्षभित्रै हुलाकी सडक निर्माणको काम सम्पन्न गर्ने लक्ष्य लिए पनि राजमार्गभित्र परेका घरटहरा हटाउन भएको ढिलाई, ठाउँठाउँमा जग्गासम्बन्धी विवाद र कोभिड १९ माहामारीलगायतका कारण हुलाकी राजमार्ग निर्माणको कार्य केही समय पछि धकेलिएको उनको कथन छ। 

यस्तै हुलाकी राजमार्गअन्तर्गत सिरहादेखि सर्लाहीसम्म सडक खण्डमा निर्माणधीन नौ वटा पुलमध्ये पाँच वटाको निर्माणको काम सम्पन्न भइसकेको र कमला नदीको पुलसहित चार पुलको काम भइरहेको कार्यालयले जनाएको छ। रौतहटदेखि चितवनसम्मको करिब २५१ किलोमिटर सडकमा कालोपत्र सकिएको र बाँकी ३२ किलोमिटरमध्ये वनजंगल तथा जग्गासम्बन्धी विवादका कारण प्रभावित भएको जनाएको छ।

पर्साको ठोरी क्षेत्रमा पर्सा राष्ट्रिय निकुञ्ज क्षेत्रको जंगल परेकाले त्यहाँ कसरी विस्तार गर्नेलगायतका विषयमा वातारण प्रभाव मूल्यांकनका लागि हुलाकी सडक विभाग र मन्त्रालयमा सिफारिस पठाइएको हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय वीरगञ्जका सूचना अधिकारी इन्जिनियर सञ्जयकुमार ठाकुरले जानकारी दिएका छन्। वातावारण प्रभाव मूल्यांकन प्रतिवेदन आएलगत्तै सो क्षेत्रमा सडक कालोपत्रलगायतका काम अघि बढाइने उनी बताउँछन्।

यस्तै हुलाकी सडकअन्तर्गत रौतहटदेखि चितवनसम्म निर्माणाधीन पुलहरुमध्ये आव २०७९/८० मा पाँचवटा पुल निर्माण सम्पन्न भइरहेको सो कार्यालयले जनाएको छ। कार्यालयका इन्जिनियर ठाकुरका अनुसार सो आवमा १४ वटा पुल निर्माण सम्पन्न गर्ने लक्ष्य लिएकामा पाँच वटा पुल निर्माण सम्पन्न भइसकेको र बाँकी नौ वटा पुलको निर्माण काम भइरहेको छ।

गत आवमा बाराको अरुवा खोला, डोरा खोला, पर्साको तिलाबे खोला र चितवनको टुनामुना तथा चिताई खोलाको पुल निर्माण सम्पन्न भइसकेको छ। त्यस्तै रौतहटको बागमती नदी, भकुवा खोला र चितवनको रियू खोला, बगै खोला, घाँघर खोला, भालु खोला, पतरी खोला, बादरमुडे र मुगै खोलाको पुल निर्माणाधीन अवस्थामा रहेको जनाएको छ।

सडकतर्फ बाराको गढीमाई-बरियारपुर-कबही गोठ सडकको १० किलोमिटर सडकमध्ये साढे नौ किलोमिटर सडक कालोपत्र सकिएको छ। यस्तै भरतपुर-ठोरी-माडी देवेन्द्रपुरदेखि बगै बसपार्कसम्म सडकमा भने वन जंगलका कारण निर्माण सामग्रीको अभाव तथा वातावारण प्रभाव मूल्यांकन हुन नसकेकाले करिब २० प्रतिशत मात्र सडकको काम हुन सकेको छ।

चालु आवभित्रै हुलाकी सडक निर्माणको काम सम्पन्न गर्ने लक्ष्य लिए पनि हुलाकी राजमार्गभित्र जंगल तथा सडकमा परेका घरटहरा हटाउन भएको ढिलाइ, ठाउँठाउँमा जग्गासम्बन्धी विवादलगायतका कारण हुलाकी राजमार्ग निर्माणको कार्य केही पछि धकेलिएको हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय वीरगञ्जका प्रमुख इन्जिनियर ध्रुवकुमार झा बताउँछन्।

जग्गा विवादले निर्माण कार्य प्रभावित

राष्ट्रिय गौरव आयोजनामध्ये निर्माणाधीन पूर्व-पश्चिम हुलाकी राजमार्गअन्तर्गत पूर्व सप्तरीदेखि पश्चिम पर्सासम्मको केही भागमा जग्गासम्बन्धी विवादका कारण काम प्रभावित भएको छ। जग्गा विवादलाई लिएर स्थानीयले अदालतमा दिएको मुद्दालगायतका कारणले धनुषाको औरही र तिनकौरिया बजारमा सडक निर्माणको काम प्रभावित भएको हो।

पूर्व कमलादेखि पश्चिम जनकपुरधामसम्मको २७ किलोमिटर सडकमध्ये करिब २५ किलोमिटर सडक निर्माणको काम अन्तिम चरणमा पुग्न लाग्दा बाँकी करिब दुई किलोमिटर सडकमा जग्गा विवादका कारण काम अघि बढाउन नसकिएको लामा रमण जेभीका इन्जिनियर सुनिल मुखिया बताउँछन्।

औरही बजारको इलाका प्रहरी कार्यालय अगाडिको जग्गा आफ्नो हो भन्दै स्थानीय रामबाबु साह सुडीले उच्च अदालत जनकपुरधाममा मुद्दा दिएको र सोही मुद्दामा अदालतले मुआब्जा दिएर मात्र सडक बनाउन आदेश दिएकाले समस्या भएको इन्जिनियर मुखिया बताउँछन्। अदालतले सुडीलाई जग्गाको मुआब्जा दिएर मात्र सडक बनाउन आदेश दिएको छ', मुखिया भन्छन्, 'जग्गाको मुआब्जा उहाँलाई मात्र दिए अरु ठाउँको जग्गाधनीहरुले पनि मुआब्जा माग्छ र विवाद हुन सक्ने बताइएको छ।' जग्गा विवादले औरही बजारको करिब ५०० मिटर सडक निर्माणको काम अझ सुरु हुन सकेको छैन।

यस्तै धनुषाको बिदेह नगरपालिकाको तिकौरिया बजारमा जग्गा विवादलाई लिएर स्थानीयले अवरोध गरेपछि तिनकौरिया बजारदेखि करिब ६०० मिटर सडक निर्माणको काम समेत प्रभावित भएको छ। पछिल्लो समय स्थानीय तहको समन्वयमा समस्या समाधान गरी काम सुरु गर्ने प्रयास भइरहेको हुलाकी राजमार्ग आयोजना कार्यालय जनकपुरधामका प्रमुख कृष्णकुमार महतोको कथन छ।

लामा रमण जेभी २०७८ चैत्र ३० गते स्तरोन्नतिको काम पूरा गर्ने गरी २०७३ असार ३१ गते सम्झौता गरेको थियो। सो मितिमा निर्माण सम्पन्न हुन नसकेपछि पुनः म्याद थप गरी २०७९ चैत्र ३० सम्म कायम गरिएको थियो। थप अवधिभित्रै सडकको सबै काम सम्पन्न गर्ने लक्ष्य भएपनि विभिन्न स्थानका स्थानीयहरुले जग्गा बिवादलाई लिएर अदालतमा मुद्दा हाल्ने र विवाद सिर्जना गर्दा सम्पन्न हुन नसकेको महतोको भनाइ छ।

यस्तै सप्तरी र सिरहाको सिमा छुट्याउने बलान नदीदेखि कमला नदीसम्मको सिरहा खण्डमा करिब २० मिटर सडकमा मात्र कालोपत्र गर्न बाँकी छ। सिरहा खण्डमा ३० किलोमिटरमध्ये २९.५ किलोमिटर सडक कालोपत्रको काम सकिएको छ भने जग्गा विवादका कारण ५०० मिटर सडकमा काम अघि बढ्न सकेको छैन। जग्गा विवादका कारण महोत्तरीको दुधमति बसबिट्टी, भष्वानपुर चौक, बनचौरी तथासर्लाहीको शितलपुर-मलंगवा खरैयाटोल सडक खण्डमा पर्ने सर्लाहीको मलंगवा बजार, ब्रहमचौक, गरहैया बजार, गोबरगञ्ज र हरिपुर्वा बजार क्षेत्रमा पनि काम अवरुद्ध भएको छ।

जग्गासम्बन्धी विवादकै कारण सप्तरीको कञ्चनपुरदेखि बलानसम्मको सडक खण्डमा करिब चार किलोमिटरभन्दा बढी सडकमा काम हुन सकेको छैन। 'स्थानीयहरुले जग्गासम्बन्धी विवाद सृजना गरी न्यायालयसम्म पुगेपछि सदरमुकाम राजविराजमा करिब ८०० मिटर सडकमा काम रोकिएको छ', हुलाकी राजमार्ग आयोजना कार्यालय इटहरी सुनसरीका प्रमुख विजयकुमार थापा बताउँछन्। केही दिनअघि मात्रै राजविराजको राममन्दीरदेखि छिन्नमस्ता डेरीसम्मको सडकमा नगरपालिकाले डोजर चलाएर सडक फराकिलो बनाइसकेकोले केही दिनभित्रै त्यहाँ काम सुरु गरिने उनको भनाइ छ।

हुलाकी सडकअन्तर्गत बाराको गढीमाई-बरियारपुर-कबही गोठ सडकको १० किलोमिटर सडकमध्ये साढे नौ किलोमिटर सडक कालोपत्र सकिएको र बाँकी ५०० मिटर सडक जग्गासम्बन्धी विवादका कारण प्रभावित भएको हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय वीरगञ्जका सूचना अधिकारी इन्जिनियर सञ्जयकुमार ठाकुर बताउँछन्। यस्तै भरतपुर-ठोरी-माडी देवेन्द्रपुरदेखि बगै बसपार्कसम्म सडकमा भने वन जंगलका कारण निर्माण सामग्रीको अभाव तथा वातावारण प्रभाव मूल्यांकन हुन नसकेकाले करिब २० प्रतिशत मात्र सडकको काम हुन हुन सकेको छैन।

मधेसको लाइफलाइनले जगाएको आशा

मधेसकै लाइफ लाइनको रुपमा मानिएको हुलाकी सडकको निर्माणको काम तीव्र रुपमा अघि बढेपछि सो भेगका सर्वसाधारणहरु खुसी भएका छन्। पूर्व पश्चिम राजमार्गको समानान्तर सीमा हुँदै करिब २० देखि ३० किमी दक्षिणतर्फ भएर फैलिएको हुलाकी राजमार्गलाई राणाकालीन समयदेखि नै चिठ्ठीपत्र ओसारपसार गर्ने हुलाकीहरू हिंड्ने छोटो बाटो जसलाई पदमशमशेरले आगाडि बढाएकाले पदम रोड पनि भनिने गरिन्छ।

पूर्व-पश्चिम राजमार्गबाट मधेसका जिल्ला सदरमुकामसम्म जोड्ने ८१७ किमीको ३२ वटा सहायक राजमार्गहरू छन्। भारतका तत्कालीन प्रधानमन्त्री चन्द्रशेखरले २०४७ सालमा नेपाल भ्रमणको क्रममा हुलाकी राजमार्ग निर्माणमा भारत सरकारले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।

भारतीय सहयोगको सैद्धान्तिक सहमति २०६१ सालमा भएपनि नेपालमा २०६/६३ को परिवर्तनपश्चा्त भारत सरकारले नेपाल सरकारबाट छनोट भएका एक हजार ४४० किलोमिटर सडकको डिजाइन सुपरीवेक्षण र निर्माण तीन चरणमा गर्ने गरी सम्झौता गरिएको थियो। यसबापत लाग्ने सम्पूर्ण खर्च भारत सरकारले व्यहोर्ने र जग्गा अधिग्रहण, पोल, रुखहरू हटाउने, हुलाकी राजमार्गमा पर्ने सम्पूर्ण पुलहरूको निर्माण नेपाल सरकारले गर्ने प्रावधानसहितको सम्झदारी भएको थियो। नेपालले गरेको रेखांकनअनुसार हुलाकी राजमार्गको लम्बाइ एक हजार ७९२ किलोमिटर रहेको छ। रासस


प्रकाशित : आइतबार, भदौ ३ २०८००८:४७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend