शनिबार, मंसिर ८ गते २०८१    
images
images

चुहानडाँडा विमानस्थल निर्माणमा १ अर्ब लाग्ने, रुख कटानसँगै वृक्षरोपण तथा संरक्षणका लागि २५ लाख खर्च हुने

images
शनिबार, भदौ २ २०८०
images
images
चुहानडाँडा विमानस्थल निर्माणमा १ अर्ब लाग्ने, रुख कटानसँगै वृक्षरोपण तथा संरक्षणका लागि २५ लाख खर्च हुने

विमानस्थलको रनवे ६ सय ४० मिटर रहने छ। ट्याक्सी मार्ग ३० मिटर र एप्रोन ६० मिटर लामो निर्माण हुने छ। विमानस्थलमा टर्मिनल भवन, स्टाफ क्वाटर र पार्किङलगायतको संरचना निर्माण हुनेछ।

images
images

काठमाडौं- तेह्रथुम जिल्लामा बन्न लागेको चुहानडाँडा विमानस्थल निर्माणमा एक अर्ब रूपैयाँ लाग्ने अनुमान गरिएको छ। विमानस्थल निर्माणका लागि आवश्यक वातावरणीय प्रभाव मूल्यांकन रिपोर्टसमेत तयार भएको छ।

images
images
images

विमानस्थल निर्माणको प्रस्तावक नेपाल नागरिक उड्डयन प्राधिकरण रहेको छ। स‌ंस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमार्फत वातावरणीय प्रभाव मूल्यांकन रिपोर्ट  वन तथा वातावरण मन्त्रालयमा पेस भएको हो।

images

उक्त रिपोर्ट राय सुझावका लागि वन तथा वातावरण मन्त्रालयले सार्वजनिक गरेको हो। कोशी प्रदेशको तेह्रथुम आठराई गाउँपालिका वडा नम्बर ६ थुम्की चुहानडाँडामा आन्तरिक विमानस्थल निर्माण हुनेछ। विमानस्थल समुद्री सतहबाट १ हजार ४ सय ५० मिटरको उचाइमा हुनेछ।

images

विमानस्थलको रनवे ६ सय ४० मिटर रहने छ। ट्याक्सी मार्ग ३० मिटर र एप्रोन ६० मिटर लामो निर्माण हुने छ। विमानस्थलमा टर्मिनल भवन, स्टाफ क्वाटर र पार्किङलगायतको संरचना निर्माण हुनेछ। ११ हेक्टर क्षेत्रफलमा विमानस्थल निर्माण हुनेछ। आयोजनाको लागत सबै प्रकारको करसहित १ अर्ब लाग्ने अनुमान गरिएको छ।

विमानस्थल निर्माण हुँदा २१ वटा आवासलगायतका संरचनाहरुमा स्थायीरुपले असर पर्नेछ। विमानस्थल निर्माण गर्दा स्थायीरुपमा ९.१४९ हेक्टर खेतीयोग्य जमिन, आवास क्षेत्रसहित निजी वनको अधिग्रहण हुनेछ।

अधिग्रहण हुने खेतियोग्य जमिनबाट वार्षिक ७२ मुरी अन्नबालीमा क्षति हुनेछ। विमानस्थल निर्माणका क्रममा ३ सय १० वटा रुख कटान हुनेछ। रुख कटानसँगै वृक्षरोपण तथा संरक्षणका लागि २५ लाख खर्च हुने अनुमान गरिएको छ। अधिग्रहण गरिने निजी जग्गाको क्षतिपूर्तिका लागि १ करोड ७ लाख ९० हजार रूपैयाँ खर्च हुने अनुमान गरिएको छ।

यसैगरी क्षति हुने जाने अन्नबालीको हकमा १ वर्ष बराबरको अन्नबालीको रकमका लागि २ लाख ३५ हजार ५ सय रूपैयाँ खर्च हुने रिपोर्टमा उल्लेख छ। यसैगरी अधिग्रहण गरिने आवासलगायतका अन्य संरचनाहरुको पुनर्वास तथा पुनर्स्थापनाका लागि ३२ लाख १० हजार रूपैयाँ खर्च हुने रिपोर्टमा उल्लेख छ।

आयोजनाको निर्माणबाट विस्थापित हुने घरधुरीहरुको लागि ६ महिनासम्मको अर्को घर निर्माणसम्मका लागि घरभाडामा समेत १ लाख ८० हजार रूपैयाँ खर्च हुने रिपोर्टमा उल्लेख छ। यसैगरी विमानस्थल निर्माणस्थलमा रहेको शिव मन्दिर स्थानान्तरण तथा पुनर्निर्माण र चिहान व्यवस्थापनका लागि ६ लाख रूपैयाँ खर्च हुनेछ।

विमानस्थलमा २ वटा जहाज पार्किङ स्थल समेत निर्माण हुनेछ। सवारी पार्किङ क्षेत्रफल १५ सय वर्गमिटर हुनेछ। विमानस्थलको यात्रु क्षमता ५४ रहनेछ। विमानस्थलमा डीएचसी-६ टिवनअटर, लेट ४१०, डोनिइर-२२८ वा सो सरहका विमानहरु मात्रै सञ्चालन हुन सक्ने छ।

विमानस्थलको धानवमार्ग १७/३५ उत्तर-पश्चिम र दक्षिण-पूर्व रहेको छ। विमानस्थलको एप्रोच दुईतर्फी नै हुनेछ। चुहानडाँडाबाट नजिक रहेका विमानस्थलहरु सुकेटार विमानस्थल ११ नर्टिकल माइल, चन्द्रगढी विमानस्थल ४१ नर्टिकल माइल, विराटनगर विमानस्थल ४७ नर्टिकल माइल र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल १२९ नर्टिकल माइलमा पर्नेछ। 

यो विमानस्थल निर्माण जिल्ला पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको जन्म जिल्ला हो। विमानस्थल निर्माणस्थलको अवलोकन गरी पाथीभरा मन्दिर दर्शन गरेर काठमाडौं फर्कने क्रममा २०७५ फागुनमा तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारी, यती एयरका मालिक आङछिरिङ शर्पालगायत ७ जनाको हेलिकप्टर दुर्घटनामा निधन भएको थियो।


प्रकाशित : शनिबार, भदौ २ २०८००९:५०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend