शुक्रबार, जेठ ४ गते २०८१    
images
images

हुलाकी राजमार्ग : सिराहा र सप्तरी खण्डमा पुल निर्माणमा ढिलासुस्ती

images
शनिबार, भदौ २ २०८०
images
images
हुलाकी राजमार्ग : सिराहा र सप्तरी खण्डमा पुल निर्माणमा ढिलासुस्ती

सिरहाको औरही गाउँपालिका-५ स्थित गागन खोलामा पुल निर्माणको काम सुरु भएको तीन वर्षसम्म करिब ७० प्रतिशत मात्र काम भएको छ। समयमै पुल निर्माण नहुँदा यात्रु जोखिमपूर्ण यात्रा गर्न बाध्य छन्।

images
images

गोलबजार- पूर्व-पश्चिम हुलाकी राजमार्गअन्तर्गत सिराहा र सप्तरी खण्डमा निर्माणाधीन पुलको निर्माण कार्य लामो समयदेखि अलपत्र पर्दा यात्रुहरु जोखिमपूर्ण यात्रा गर्न बाध्य छन्।

images
images
images

सो खण्डका अधिकांश भागमा कालोपत्रको काम सकिए पनि निर्माणाधीन आधा दर्जन पुलको निर्माण कार्य लामो समयसम्म सम्पन्न हुन नसक्दा यात्रु जोखिमपूर्णरुपमा यात्रा गर्न बाध्य भएका हुन्।

images

निर्माण गर्ने ठेक्का पाएका कम्पनी/व्यवसायीको ढिलासुस्तीका कारण अधिकांश पुल समयमा निर्माण सम्पन्न नहुँदा जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता रहेको स्थानीयले बताएका छन्।

images
images

सिरहाको औरही गाउँपालिका-५ स्थित गागन खोलामा पुल निर्माणको काम सुरु भएको तीन वर्षसम्म करिब ७० प्रतिशत मात्र काम भएको छ। 'तीन वर्षभित्र निर्माण कार्य सक्ने भनी विसं २०७६ मै सो पुलको सम्झौता भएको हो', हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय जनकपुरधामका सूचना अधिकारी इन्जिनियर बेचनकुमार भण्डारीले भने, 'तर पुल निर्माणको समयावधि सकिसक्दा तीन वर्षमा भौतिक प्रगति ७० प्रतिशत मात्र काम भएको छ।' सम्झौता अवधि सकिएकाले पुनःम्याद थपका लागि निर्माण कम्पनीले कार्यालयमा निवेदन दिएको उनले बताए।

images
images

पूर्वमा बलान खोलादेखि पश्चिम सदरमुकाम सिरहा बजारसम्मको सडकमा कालोपत्र सकिएको छ। गागन खोलामा पुल निर्माण हुन नसक्दा सिरहाका एक दर्जनभन्दा बढी गाउँका स्थानीयवासी जोखिमपूर्ण यात्रा गर्न बाध्य छन्। हिराचन रोशन कन्स्ट्रक्सन प्रालिमार्फत रोशन कन्स्ट्रक्सनले सो खोलाको पुल निर्माणको काम गर्दै आएको छ।

हुलाकी सडक सिरहा खण्डको बलान नदीदेखि कमलासम्मको करिब २९ दशमलव ८८ किलोमिटरमा सडक कालोपत्र भइसके पनि गागन खोलामा समयमा पुल नबन्दा सडकमा सहजरुपमा यातायातका साधन सञ्चालन हुन नसकेको सूचना अधिकारी भण्डारीले बताए।

गागन खोलाको पुल नबन्दा अहिले भगवानपुरबाट सिरहाका लागि जाने बसलगायतका ठूला सार्वजनिक यातायातका साधन लहान बजार हुँदै जानुपर्ने बाध्यता रहेको बसका चालक सुभास साहले बताए।

'सडकमा कालोपत्र भइसक्यो, गाडी गुडाउन पनि त्यो बाटो सहज छ', चालक साहले भने, 'गागन खोलामा पुल बन्यो भने भगवानपुरबाट मुस्किलले आधा घण्टादेखि ४५ मिनेटमा सिरहा पुग्छौँ।' गागन खोलाको पुल नबन्दा अहिले पूर्व-पश्चिम राजमार्गअन्तर्गत लहान बजार हुँदै डेढ/दुई घण्टाको बाटो तय गरेर सिरहा पुग्नुपर्ने बाध्यता रहेको उनको भनाइ छ।

यसैगरी सप्तरी खण्डमा निर्माण कम्पनीले पुल निर्माणको कार्य (फिनिसिङ) अन्तिम चरणमा अलपत्र अवस्थामा छाडेका छन्। कञ्चनपुरदेखि बलान नदीसम्म ३२ किमीमध्ये राजविराजदेखि पश्चिम बलान नदीसम्मको २५ किमी  सडकमा कालोपत्र सकिएको करिब एक वर्षभन्दा बढी समय भइसक्दा पनि पुल निर्माणको जिम्मा पाएका कम्पनीले समयमा पुलको काम सम्पन्न नगर्दा सवारी साधन चलाउन सास्ती भइरहेको स्थानीयको गुनासो छ।

'सप्तरी खण्डमा निर्माणाधीन पाँच पुलको निर्माण काम करिबकरिब अन्तिम चरणमा पुगेको छ', हुलाकी सडक निर्देशनालय आयोजना कार्यालय इटहरी सुनसरीका प्रमुख विजयकुमार थापाले भने, 'सबै पुल करिबकरिब तयार भइसकेका छन्, थोरै काम मात्र बाँकी छ।' पुलको दुवैतिर सय/सय मिटरको भागमा ग्राभेल बिछ्याइएर कालोपत्र गर्नुपर्नेमा त्यो हुन नसकेकाले वर्षा भएपछि सडक हिलाम्मे हुने गरेको प्रमुख थापाको भनाइ छ।

पुलको दाँयाबायाँ दुवैतिर ग्राभेल माटो नहाल्दा हिउँदमा धुलाम्य र वर्षामा हिलाम्मे हुने गरेको छ। ठेकेदार कम्पनीको लापर्वाहीले सर्वसाधारण सास्ती खेप्न बाध्य भएका छन्। अहिले पश्चिम सप्तरीको भारतीय बजार लौकहासँग जोडिएको बेल्ही गाउँबाट दैनिक तीन वटा सार्वजनिक बस राजविराजका लागि चले पनि ठाउँठाउँमा पुल नजिक हिलाम्य सडकमा गाडी अडकिएर समस्या हुने गरेको बताइएको छ।

मुतनी नदीको पुल अरनिको/लामा/बामती जेभी काठमाडौंले २०७२ असार २५ मा सम्झौता गरी २०७४ असार २४ मा निर्माण काम पूरा गर्नुपर्ने भए पनि २०८० सम्ममा पनि पुल निर्माण हुन सकेको छैन।

अहिलेसम्म पुल निर्माण कार्यले पूर्णता नपाएकाले सदरमुकाम राजविराज पुग्न निकै सास्ती भइरहेको सप्तरीको बलान बिहुल गाउँपालिका-४ रामशंकर भण्डारीले बताए। समयमा पुल निर्माण नहुनुमा निर्माण कम्पनीसँगै हुलाकी सडक योजना कार्यालय इटहरीको उदासिनता पनि मुख्य कारण रहेको उनको भनाइ थियो।

सडक कालोपत्र भए पनि पुलमा देखिएको समान्य समस्या अड्काएर ठेकेदार कम्पनीले लापरबाही गरेको बोदे बर्साइन नगरपालिका-५ का बृजेशकुमार यादवले बताए। हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय इटहरीका सबइन्जिनियर अमोदकुमार भगतका अनुसार राजविराजदेखि पश्चिममा पर्ने मुतनी, पम्प केनाल, कजरा दहलगायत पुलको ठेक्का म्याद सकिसकेकाले निर्माण कम्पनीले पुनःम्याद थपका लागि कार्यालयमा निवेदन दिएको जानकारी दिए।

कार्यालय र निर्माण कम्पनी प्रतिनिधिबीच भएको बैठकमा आउँदो दशैँभित्र पूर्णरुपले पुल तथा पुल नजिक सडक कालोपत्र गर्ने सहमति भएको हुलाकी सडक निर्देशनालय योजना कार्यालय इटहरीका सूचना अधिकारी प्रमोद खतिवडाले बताए।

यसबाहेक हुलाकी सडकमा पर्ने सप्तरीको बोदे बर्साइन-३ कुसमहार चोक र वडा नं ६ का प्रितमपर कटहा नदीको पुलमा पनि कालोपत्र हुन सकेको छैन। रासस


प्रकाशित : शनिबार, भदौ २ २०८००८:४२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend