काठमाडौं- गत आर्थिक वर्ष बैंक तथा वित्तीय संस्थाले निजी क्षेत्रतर्फ ३.८ प्रतिशत मात्रै कर्जा प्रवाह गरेका छन्। नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत १२.६ प्रतिशत कर्जा प्रवाह गर्ने लक्ष्य राखेको थियो। समीक्षा वर्षमा निजी क्षेत्रतर्फ प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरूको कर्जा प्रवाह ३.५ प्रतिशत, विकास बैंकहरूको कर्जा प्रवाह ७.६ प्रतिशत र वित्त कम्पनीहरूको ०.६ प्रतिशतले बढेको छ।
यो पछिल्लो चार दशककै न्यून कर्जा वृद्धिदर हो। यसअघि आर्थिक वर्ष २०३९/४० मा २ प्रतिशतले यस्तो कर्जा विस्तार भएको थियो।
२०४६ सालको राजनीतिक परिवर्तनपछिको उदार आर्थिक व्यवस्था सुरू भएपछि यसअघि एक पटकमात्र एकल अंकमा निजी क्षेत्रमा जाने ऋणको वृद्धिदर सीमित भएको थियो। आर्थिक वर्ष २०५८/५९ मा ५.२ प्रतिशतले ऋणको वृद्धिदर रहेको थियो।
२०८० असार मसान्तसम्ममा बैंक तथा वित्तीय संस्थाहरूको लागनीमा रहेको कर्जामध्ये ६८ प्रतिशत घरजग्गा धितोमा र ११.६ प्रतिशत कर्जा चालु सम्पत्ति (कृषि तथा गैर-कृषिजन्य वस्तु) को स्रोतमा प्रवाह भएको छ।
२०७९ असार मसान्तमा यस्तो धितो प्रवाहित कर्जाको अनुपात ६६.४ प्रतिशत र १२.३ प्रतिशतले रहेको थियो।
कुन क्षेत्रमा कति कर्जा प्रवाह भयो?
गत आर्थिक वर्ष बैंक तथा वित्तीइ संस्थाहरूको कृषि क्षेत्रतर्फको कर्जा ६.८ प्रतिशत, औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा ८.३ प्रतिशत, यातायात, संचरा तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा २१ प्रतिशत, थोक तथा खुद्रा व्यपार क्षेत्रतर्फको कर्जा ३.९ प्रतिशत र सेवा उद्योग क्षेत्रतर्फको कर्जा ३.७ प्रतिशतले बको छ।
समीक्षा वर्षमा बैंक तथा वित्तीय संस्थाहरूबाट प्रावहि आवधिक कर्जा ३२ प्रतिशत, रियल स्टेट व्यक्तिगत आवासी घर कर्जा समेत ५.६ प्रतिशत र हायर पर्चेच कर्जा १.३ प्रतिशत बढेको छ। यस्तै ट्रष्ट रिसिष्ट (आयात कर्जा) ६.२ प्रतिशत, मार्जिन प्रकृति कर्जाको ५.२ प्रतिशत र चालु पुँजी कर्जा १३.२ प्रतिशतले बढेको छ।
सबैभन्दा धेरै ओभरड्राफ्ट कर्जा ६७.७ प्रतिशतले बढेको छ।