शनिबार, असोज १९ गते २०८१    
images
images

यसरी सक्रिय हुँदैछन् कांग्रेसको राजनीतिमा उद्योगी 

images
बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, कात्तिक २९ २०७८
images
images
यसरी सक्रिय हुँदैछन् कांग्रेसको राजनीतिमा उद्योगी 

राजनीति गर्ने यसलाई ‘पेशा’ बनाएको आरोप लागिरहेका बेला उद्योगी व्यवसायी राजनीतिमा आउँदा सकारात्मक हुने दाबी गरिएको छ। जीवनभर राजनीति गरेकालाई पाखा लगाउँदै व्यवसायी राजनीतिमा आउन हुँदैन भन्नेतर्क अघि सार्ने पनि कम छैनन्।

images
images

चितवन- उद्योग वाणिज्य संघ चितवनको अध्यक्ष पदमा अप्रत्यासित जित हासिल गरेर चर्चामा आएका युवा उद्यमी राजन गौतम यतिबेला कांग्रेस राजनीतिमा सक्रिय छन्। संघका पूर्वअध्यक्ष उनले सो निर्वाचनमा कल्पना नै नगरिने गरी जित आफ्नो पक्षमा पारेका थिए। कांग्रेस चितवनको यही मङ्सिर १० गते हुने निर्वाचनमा पनि उनी उपसभापति पदको उम्मेदवार छन्।
 
संघ खैरहनीका पूर्वअध्यक्ष गुणराज श्रेष्ठ कांग्रेस खैरहनी नगर सभापतिमा निर्वाचित भएका छन्। संघ रत्ननगरका पूर्वअध्यक्ष केशवनारायण श्रेष्ठ कांग्रेस रत्ननगर वडा नं २ का सभापतिमा निर्वाचित भएका छन्। राजनीति गर्ने यसलाई ‘पेशा’ बनाएको आरोप लागिरहेका बेला उद्योगी व्यवसायी राजनीतिमा आउँदा सकारात्मक हुने दाबी गरिएको छ। जीवनभर राजनीति गरेकालाई पाखा लगाउँदै व्यवसायी राजनीतिमा आउन हुँदैन भन्नेतर्क अघि सार्ने पनि कम छैनन्। यसो त अग्रणी व्यवसायी उमेश श्रेष्ठ पछिल्लो समय राजनीतिमा सक्रिय नै छन्। उनको राजनीतिक क्षेत्र चितवन हो।
 
क्षेत्रीय होटल संघ सौराहाका तीन पूर्वअध्यक्ष अहिले कांग्रेसको आसन्न महाधिवेशनमा जिल्ला, प्रदेश र संघमा उम्मेदवारी दिँदै छन्। संघका पूर्वअध्यक्ष सुमन घिमिरेका अनुसार हरिभक्त घिमिरे महाधिवेशन प्रतिनिधि, नारायण भट्टराई प्रदेश प्रतिनिधि र ज्ञानेन्द्रकुमार विष्ट जिल्ला सदस्यमा उम्मेदवारी दिँदै छन्। संघका वरिष्ठ उपाध्यक्ष रामहरि खनाल महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी दिँदै छन्।
 
होटल व्यवसायी वासुदेव ढुङ्गाना र शेरबहादुर परियार महाधिवेशन प्रतिनिधिमा र रामकुमार अर्याल प्रदेशमा उम्मेदवारी दिँदै छन्। रेष्टुराँ एण्ड बार एशोसिएशन सौराहाका पूर्वअध्यक्ष राजन भट्ट प्रदेश प्रतिनिधिमा उम्मेदारी दिने तयारीमा छन्।
 
उद्योग परिसंघ बागमती प्रदेशका अध्यक्ष एवं उद्योग संघ चितवनका पूर्वअध्यक्ष भेषराज दुवाडी महाधिवेशन प्रतिनिधि निर्वाचन लड्ने तयारीमा छन्। उद्योग वाणिज्य संघ चितवनका पूर्वअध्यक्ष उत्तमलाल चुके प्रदेश प्रतिनिधिमा उम्मेदवारी दिँदै छन्। कांग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठ जिल्लाका २ हजार ९ सय हाराहारी प्रतिनिधिमा आधा ५० वर्षभन्दामुनिका रहेको बताउँछन्। प्रतिनिधि युवा, व्यवसायी, बुद्धिजीवी, पेशाकर्मीलगायतका छन्। यो निर्वाचनमा उद्योग व्यवसाय क्षेत्रबाट धेरैको प्रतिनिधित्व हुने देखिएको उनको भनाइ छ।

images
images
images

कांग्रेस चितवनका कोषाध्यक्ष शङ्करप्रसाद कँडेल व्यावसायिक पृष्ठभूमिका हुन्। उनी अबका निर्वाचनमा महाधिवेशन प्रतिनिधिको उम्मेदवार मात्रै रहेर स्थानीय तहको निर्वाचनमा भरतपुर महानगरपालिकाको प्रमुख पदमा उम्मेदवार बन्ने तयारीमा लागेका छन्। जिल्ला सभापति श्रेष्ठ उद्योगी व्यावसायिक क्षेत्रमा नेतृत्व गरेका दुवाडी, चुके, गौतम, श्रेष्ठ, दीर्घमान लगायतका व्यक्ति कांग्रेसका राजनीतिमा सक्रिय भएको बताउँछन्।
 
चितवन च्याम्बर अफ कमर्सका अध्यक्षसमेत रहेका कांग्रेस केन्द्रको उद्योग व्यापार विभागका सचिव दीर्घमान श्रेष्ठ उद्योग व्यवसायमा राम्रो सफलता हासिल गरेका व्यक्ति सक्रिय राजनीतिमा आउनु सकारात्मक भएको बताउँछन्। संघका पूर्व जिल्ला अध्यक्ष चुके व्यावसायिक पृष्ठभूमिका व्यक्ति राजनीतिमा आउँदा व्यवसायीका नीतिगत समस्या बुझ्ने र समाधान हुने बताउँछन्। उनी भन्छन्, 'व्यावसायिक व्यक्ति राजनीतिमा आउँदा राजनीतिमा भ्रष्टाचार कम हुन्छ।'
 
संघका पूर्वअध्यक्ष  गौतम व्यावसायिक व्यक्ति राजनीतिमा आउँदा पार्टीका नेता कार्यकर्तालाई राजनीतिसँगै व्यापार व्यवसायमा जोड्ने हुँदा समग्र राष्ट्रका लागि नै हित हुने बताउँछन्। उनी भन्छन्, 'सधैँ चन्दा मागेर पार्टी चल्नुभएन, नेता आउँदा नोट माग्छ कि भोट माग्छ भन्ने हुनु भएन।' पार्टीलाई आर्थिकरुपमा सवल र दह्रो बनाउँदै पार्टीका लागि जीवन र जोवन खर्चिका योद्धाको सम्मानका लागि आफूले उम्मेदवारी दिन लागेको उनले बताए। रासस


प्रकाशित : सोमबार, कात्तिक २९ २०७८०६:२६
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend