शुक्रबार, मंसिर ७ गते २०८१    
images
images

मर्जरमा इतिहास रचेको ग्लोबल आईएमई बैंक 'पर्फरमेन्स'मा पनि अब्बल हुँदै

images
बिहीबार , साउन ३२ २०८०
images
images
मर्जरमा इतिहास रचेको ग्लोबल आईएमई बैंक 'पर्फरमेन्स'मा पनि अब्बल हुँदै

ग्लोबल आईएमई बैंक नेपाल सरकार तथा नेपाल राष्ट्र बैंकको ठूला, सबल र उत्कृष्ट बैंकिङ प्रणाली विकास गर्ने योजना कार्यान्वयनमा पनि सधैँ अग्रस्थानमा छ।

images
images

काठमाडौं- विभिन्न २१ बैंक तथा वित्तीय संस्थासँग मर्जर तथा प्राप्ति गरेर ग्लोबल आईएमई बैंक नेपालको सबैभन्दा ठूलो बैंक बनेको छ। सन् २००७ मा ग्लोबल बैंक लिमिटेडको रुपमा स्थापित बैंकले सन् २०१२ मा ‘ग’ वर्गको आईएमई फाइनान्सलाई प्राप्ति गरेपछि 'ग्लोबल आईएमई बैंक' बनेको थियो।

images
images
images

वाणिज्य बैंकहरूमा यसले सन् २०१४ मा कमर्स एण्ड ट्रष्ट बैंक, २०१९ मा जनता बैंक र २०२३ जनवरीमा बैंक अफ काठमाण्डूसँग मर्जर गरेको छ। यस्तै सन् २०१३ सोसियल डेभलपमेन्ट बैंक र गुल्मी विकास बैंकसँग एक्वायर गरेको यस बैंकले २०१५-१६ मा आएर थप दुई विकास बैंकहरू प्यासेफिक डेभलपमेन्ट बैंक र रिलायबल डेभपलमेन्टलाई प्राप्ति गरेको थियो।

images

यस्तै ग्लोबल आईएमई बैंकले सन् २०१२ मा आईएमई फाइनान्स कम्पनी र लर्ड बुद्ध फाइनान्स कम्पनी साथै सन् २०१९ मा हाथवे फाइनान्स कम्पनीलाई एक्वायर गरेको थियो।

images

बैंक स्थापना भएको १६ वर्षमा नै २१ बैंक तथा वित्तीय संस्थालाई गाभेर ‘मर्जर किङ’ का रुपमा अगाडि आएको ग्लोबल आईएमई बैंक आफ्नो वित्तीय सूचकमा पनि अब्बल सावित हुँदै आएको छ। धेरै संस्थासँग मर्ज गरेपनि यसले आफ्नो स्थायित्व गुमाएको छैन।

मर्जर आफैमा कठिन काम भएपनि ग्लोबल आईएमई बैंक कति पनि बिचलित छैन। मर्जर तथा प्राप्तिलाई अवसरको रुपमा परिणत गर्दै आफ्नो क्षमता विस्तारका लागि ग्लोबल आईएमई बैंकले युद्धस्तरमा काम गरेको छ। दुई वा दुईभन्दा बढी संस्थाहरू मर्जर तथा प्राप्तिमार्फत एउटा संस्था बन्दा संस्थागत सुशासन, प्रणालीगत अन्तरआबद्धता, जनशक्ति व्यवस्थापन, उच्च व्यवस्थापन र लगानीकर्ताको हित व्यवस्थापनलगायतका चुनौती हुने गर्दछ। तर ग्लोबल आईएमई बैंकले यी सबै चुनौतीलाई अवसरमा परिणत गर्दै देशकै ठूलो बैंक बनेको छ। 

ग्लोबल आईएमई बैंक कुल पुँजी तथा चुक्ता पुँजीका आधारमा नेपालको सबैभन्दा ठूलो बैंक हो। हाल यसको कुल पुँजी ५८ अर्ब ६८ करोड रुपैयाँ छ भने चुक्ता पुँजी ३५ अर्ब ७७ करोड रुपैयाँ रहेको छ। 

'सबैका लागि बैंक' भन्ने नारालाई आत्मसाथ गरेको ग्लोबल आईएमई बैंकले स्थापनाको छोटो समयमै आफूलाई उत्कृष्ट, सबल र विश्वसनीय बैंकको रुपमा स्थापित गरेको छ। 

ग्लोबल आईएमई बैंक नेपाल सरकार तथा नेपाल राष्ट्र बैंकको ठूला, सबल र उत्कृष्ट बैंकिङ प्रणाली विकास गर्ने योजना कार्यान्वयनमा पनि सधैँ अग्रस्थानमा छ।

ग्लोबल आईएमई मुलुकका ७७ वटै जिल्लामा शाखा सञ्जालन रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो। बैंकका ३५९ शाखा कार्यालय, ३६२ एटीएम, ३२२ शाखारहित बैंकिङ सेवा, ६४ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर रहेका छन्। 

मुलुकभित्र मात्र नभइ मुलुकबाहिर पनि यस बैंकले वैदेशिक प्रतिनिधि कार्यालय र अन्य बैंक तथा वित्तीय संस्थाहरूसँग साझेदारी गर्दै आफ्ना ग्राहकहरूलाई सेवा दिँदै आएको छ। 

ग्लोबल आईएमई बैंकको बेलायतको लण्डन, भारतको नयाँ दिल्ली र अष्ट्रेलियाको सिड्नीमा गरी तीनवटा वैदेशिक सम्पर्क कार्यालयहरू रहेका छन्। यसरी बैंकले १ हजार १ सयभन्दा बढी सेवा केन्द्रबाट ४० लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गरिरहेको छ। बैंकमा ४ हजारभन्दा बढी कर्मचारी कार्यरत छन्।

ime chart 1.jpg

बैंक अफ काठमाण्डूसँग मर्जपछि बैंकको वित्तीय विवरणमा छलाङ

बैंक अफ काठमाण्डूसँग मर्जपछि ग्लोबल आईएमई बैंकको वित्तीय विवरणमा उछाल आएको छ। ग्लोबल आईएमई बैंक लिमिटेडले आर्थिक वर्ष २०७९/८० मा ७ अर्ब २५ करोड ३४ लाख रुपैयाँ खुद नाफा गरेको छ। अघिल्लो आर्थिक वर्ष ४ अर्ब ९५ करोड खुदा नाफा कमाएको बैंकको नाफा ४६.२६ प्रतिशतले बढेको छ। समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ६६.३७ प्रतिशत, खुद फि तथा कमिसन आम्दानी २२.४८ प्रतिशत, कुल सञ्चालन आम्दानी ५२.४९ प्रतिशत र सञ्चालन मुनाफा ४४.२६ प्रतिशत बढेको छ।

गत आर्थिक वर्षको अन्त्यसम्ममा बैंकको वितरणयोग्य मुनाफा २ अर्ब ९५ करोड ६९ लाख रुपैयाँ कायम भएको छ। बैंकको लाभांश क्षमता ८.२७ प्रतिशत रहेको छ। अघिल्लो आर्थिक वर्षको तुलनामा बैंकको वितरणयोग्य नाफा करिब २९ करोडले घटेको छ।

अघिल्लो आर्थिक वर्ष बैंकको वितरणयोग्य नाफा करिब ३ अर्ब २४ करोड रहेको थियो। बैंकले नाफा नोक्सान वितरण खाता अन्तर्गत साधारण जगेडा कोषमा १ अर्ब ४५ करोड, क्यापिटल रिडेम्सन कोषमा ७७ करोड ९० लाख रुपैयाँ र गैरबैंकिङ सम्पत्ति अन्तर्गत अल्पकालीन लोन लस प्रोभिजन बापत ७१ अर्ब ६३ करोड रुपैयाँ छुट्याएकाले बैंकको वितरणयोग्य नाफामा सामान्य गिरावट आएको हो।

गत आर्थिक वर्ष अर्थतन्त्रमा देखिएको आर्थिक मन्दीका कारण बैंकको खराब कर्जा ३.०८ प्रतिशत पुगेको छ। अघिल्लो वर्ष बैंकको खराब कर्जा १.२८ प्रतिशत रहेको थियो। बैंक अफ काठमाण्डूसँग मर्ज गरेकाले राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत गरेको व्यवस्थाअनुसार यस बैंकले स्प्रेडदरमा १ प्रतिशत बिन्दुसम्म बढी कायम गर्ने सुविधा पाएको छ। उक्त छुट सुविधाको उपयोग गर्दै बैंकले स्प्रेड दर ४.९६ प्रतिशत कायम गरेको छ। यसले बैंकको नाफा बढाउनलाई मद्दत गरेको छ। गत साउनसम्म मर्जमा नगएका वाणिज्य बैंकहरूले स्प्रेड दर ४ प्रतिशतभन्दा बढी कायम गरेका छन्। 

समीक्षा अवधिमा बैंकको कष्ट अफ फण्ड ८.१८ प्रतिशत र आधार दर १०.२० प्रतिशत र कर्जा निक्षेप अनुपात ८३.३७ प्रतिशत रहेको छ।

ग्लोबल आईएमई बैंकको प्रतिसेयर आम्दानी २० रुपैयाँ २८ पैसामा रहेको छ। असार मसान्तसम्ममा बैंकको मूल्य आम्दानी अनुपात ८.९६ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ १६४ रुपैयाँ ५ पैसा रहेको छ।

३५ अर्ब ७७ करोड १० लाख रुपैयाँ चुक्ता पुँजी रहेको यस बैंकको जगेडा कोषमा २२ अर्ब ९१ करोड १६ लाख रुपैयाँ सञ्चित छ। समीक्षा अवधिमा बैंकको निक्षेप ५३.९३ प्रतिशत बढेको छ भने कर्जा लगानी ३८.०९ प्रतिशत बढेको छ।

ime chart.jpg

यस्तो छ बैंकको लाभांश इतिहास

ग्लोबल आईएमई बैंकले हालसम्म लगानीकर्तालाई निरास बनाएको छैन। आर्थिक वर्ष २०७८/७९ मा यस बैंकले १३.६ प्रतिशत लाभांश दिएको थियो। कर प्रयोजनका लागि ३ प्रतिशत र बोनस सेयर १०.६ प्रतिशत गरी बैंकले १३.६ प्रतिशत लाभांश वितरण गरेको थियो।

आर्थिक वर्ष २०७७/७८ मा बैंकले ३.५ प्रतिशत नगद लाभांश र १० प्रतिशत बोनस सेयर लाभांश गरी कुल १३.५ प्रतिशत लाभांश वितरण गरेको थियो। यस्तै आर्थिक वर्ष २०७६/७७ मा २ प्रतिशत नगद लाभांश र १४ प्रतिशत बोनस सेयर गरी कुल १६ प्रतिशत लाभांश वितरण गरेको थियो। 

आर्थिक वर्ष २०७५/७६ मा १२.७५ प्रतिशत बोनस सेयर र १२.७५ नगद लाभांश गरी कुल १५ प्रतिशत लाभांश वितरण गरेको थियो। 

आर्थिक वर्ष २०७४/७५ मा यस बैंकले १६ प्रतिशत बोनस सेयरमात्रै वितरण गरेको थियो। 

आर्थिक वर्ष २०७३/७४ मा १० प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद लाभांश गरी कुल २० प्रतिशत लाभांश वितरण गरेको थियो। 

आर्थिक वर्ष २०७२/७३ मा १६ प्रतिशत बोनस सेयर वितरण गरेको यस बैंकले आर्थिक वर्ष पनि २३ प्रतिशत बोनस मात्रै लाभांश विरण गरेको थियो।

आर्थिक वर्ष २०७०/७१ मा २१ प्रतिशत बोनस सेयर र ४ प्रतिशत नगद लाभांश गरी कुल २५ प्रतिशत, आर्थिक वर्ष २०६९/७० मा १५ प्रतिशत बोनस सेयर र आर्थिक वर्ष २०६८/६९ मा ३ प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद लाभांश गरी कुल १३ प्रतिशत लाभांश वितरण गरेको थियो।


प्रकाशित : बिहीबार , साउन ३२ २०८००४:२०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend