बुधबार, कात्तिक १४ गते २०८१    
images
images

अनौपचारिक श्रमिक र स्वरोजगारलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गरिँदै, के-के छन् सुविधा?

images
बुधबार, साउन ३१ २०८०
images
images
अनौपचारिक श्रमिक र स्वरोजगारलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गरिँदै, के-के छन् सुविधा?

अनौपचारिक क्षेत्रका श्रमिकको न्यूनतम आधारभूत पारिश्रमिकबाट ११ प्रतिशत रकम र सरकारबाट थप गरिएको ९ दशमलव ३७ प्रतिशत रकम थप गरी कुल २० दशमलव ३७ प्रतिशत रकम कोषमा जम्मा हुनेछ। स्वरोजगारमा रहेका व्यक्तिले कम्तिमा न्यूनतम आधारभूत पारिश्रमिकदेखि अधिकतम यसको तीन गुणासम्मको रकमको ३१ प्रतिशत रकम योगदान गर्नु पर्नेछ।

images
images

काठमाडौं- अनौपचारिक क्षेत्रका श्रमिक र स्वरोजगारमा रहेका व्यक्तिका लागि योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आज बुधबारदेखि आबद्धता सुरु हुने भएको छ। यी श्रमिकलाई कोषमा जोड्ने कार्यक्रमको सुरुवात प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गर्ने छन्।

images
images
images

बैशाख १ गतेबाट नै अनौपचारिक श्रमिक र स्वरोजगारमा रहेका व्यक्तिलाई कोषमा जोड्ने भनिए पनि केही ढिलागरी साउन ३१ गते बुधबारबाट सामाजिक सुरक्षा योजनामा सूचीकरण गराउन लागिएको हो।

images

सामाजिक सुरक्षा कोषको सुरुवात भने २०७५ मंसिरबाट भएको थियो। सुरुमा ‌औपचारिक क्षेत्रका श्रमिकबाट यसको सुरुवात गरिएको थियो। २०७५ मंसिरमा कोषको काम सुरु भएपनि २०७६ साउनबाट श्रमिकलाई कोषमा जोड्ने काम सुरु भएको थियो।

images

यसैगरी २०७८ चैतबाट वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई पनि कोषमा जोड्ने काम सुरु भएको थियो। 

कोषमा आबद्ध हुन स्वरोजगार व्यक्तिलाई चाहिने कागजपत्र

अनौपचारिक क्षेत्रका श्रमिक र स्वरोजगारमा रहेका व्यक्ति कोषमा जोडिन सक्नेछन्। यसका लागि स्वरोजगारमा रहेको व्यक्तिको नेपाली नागरिकता प्रतिलिपि, स्वरोजगारसम्बन्धी पेसा वा व्यवसायमा दर्ता गरेको भएमा सोको प्रमाणपत्र र त्यस्तो पेसा वा व्यवसाय दर्ता गरेको नभएमा पेसा वा व्यवसाय गरेको स्थानको सम्बन्धित स्थानीय वडा कार्यालयले गरेको सिफारिस पत्र आवश्यक पर्ने कोषले जारी गरेको कार्यविधिमा उल्लेख छ।

यसैगरी कोषमा सूचीकृत भएपछि आफूले मासिकरुपमा गर्ने योगदान रकम, प्यान वा कर दर्ता प्रमाणपत्र प्रतिलिपि र पेसा वा व्यवसायको नाम तथा त्यस्तो पेसा वा व्यवसाय गरेको ठेगाना तथा सम्पर्क नम्बर चाहिने कोषले जनाएको छ। 

अनौपचारिक क्षेत्रमा कार्यरत श्रमिकलाई चाहिने कागजपत्र

- श्रमिकको नागरिकताको प्रतिलिपि।

- आफूले श्रम गर्ने गरेको क्षेत्र (कृषि, यातायात, निर्माण वा घरेलु कामदार)।

- स्थानीय तहको वडा कार्यालयले निज अनौपचारिक क्षेत्रमा कार्यरकत श्रमिक रहेको भनी गरेको सिफारिस पत्र।

सामाजिक सुरक्षा योजनाको सञ्चालन र सुविधाहरु

- औषधिउपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा योजना

- दुर्घटना तथा अशक्तता सुरक्षा योजना

- आश्रित परिवार सुरक्षा योजना 

- वृद्ध अवस्था सुरक्षा योजना

यसरी हुन्छ योगदान रकमको बाँडफाँट

अनौपचारिक क्षेत्रका श्रमिकको न्यूनतम आधारभूत पारिश्रमिकबाट ११ प्रतिशत रकम र सरकारबाट थप गरिएको ९ दशमलव ३७ प्रतिशत रकम थप गरी कुल २० दशमलव ३७ प्रतिशत रकम कोषमा जम्मा हुनेछ।

नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहले जम्मा गर्नुपर्ने रकमभन्दा कम रकम जम्मा गरिदिने वा त्यस्तो रकम जम्मा नगरिदिने अवस्थामा योगदानकर्ताले त्यस्तो बाँकी रकमसमेत आफै योगदान गर्ने गरी सामाजिक सुरक्षा योजनामा सहभागी हुन सक्नेछन्।

योगदानको रकमलाई कोषले देहायका योजनामा देहायबमोजिम बाँडफाँट गर्ने कोषको कार्यविधिमा उल्लेख छ।

- औषधि उपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा, दुर्घटना तथा अशक्तता र आश्रित

- परिवार सुरक्षा योजनाको लागि १० दशमलव ३७ प्रतिशत।

- वृद्ध अवस्था सुरक्षा योजनाको लागि दश प्रतिशत।

यसैगरी स्वरोजगारमा रहेका व्यक्तिले कम्तिमा न्यूनतम आधारभूत पारिश्रमिकदेखि अधिकतम यसको तीन गुणासम्मको रकमको ३१ प्रतिशत रकम योगदान गर्नु पर्नेछ र त्यस्तो रकम कोषले देहायका योजनामा देहायबमोजिम बाँडफाँट गर्नेछ।

- औषधिउपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा योजनाको लागि एक प्रतिशत।

- दुर्घटना तथा अशक्तता सुरक्षा योजनाको लागि एक दशमलव ४० प्रतिशत।

- आश्रित परिवार सुरक्षा योजनाको लागि शून्य दशमलव २७ प्रतिशत।

- वृद्ध अवस्था सुरक्षा योजनाको लागि २८ दशमलव ३३ प्रतिशत। 

स्वास्थ्य  सुविधाको लिनका लागि पूरा गर्नुपर्ने अवधि

सामाजिक सुरक्षा योजनाको सुविधा प्राप्त गर्नका लागि अनौपचारिक क्षेत्रका श्रमिक र स्वरोजगारमा रहेका व्यक्तिले घटना घटेको भन्दा अघिको १२ महिनामा कम्तिमा नौ महिनाको योगदान रकम कोषमा जम्मा गरेको हुनुपर्ने कोषको कार्यविधिमा उल्लेख छ।

यसैगरी सामाजिक सुरक्षा योजनाको सुविधा प्राप्त गर्नका लागि अनौपचारिक क्षेत्रका श्रमिक र स्वरोजगारमा रहेका व्यक्तिको उमेर ६० वर्ष पूरा भएको र कम्तिमा १८० महिना योगदान गरेको हुनुपर्ने कार्यविधिमा उल्लेख छ।

औषधिउपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा योजनाअन्तर्गत पाउने सुविधा 

- चिकित्सकको परामर्श सेवा।

- अस्पताल भर्ना तथा शल्यक्रियाबापतको शुल्क।

- रोगको परीक्षण तथा उपचार बापतको खर्च।

- औषधिको बिल बमोजिमको खर्च।

- अनौपचारिक क्षेत्रका श्रमिक तथा स्वरोजगारमा रहेका महिला योगदानकर्ता वा पुरुष योगदानकर्ताको पत्नी गर्भवती भइ नियमित गर्भ परीक्षण गराउँदाको खर्च, अस्पताल भर्ना भइ प्रसूतिसम्बन्धी शल्यक्रिया वा उपचार गराउँदाको खर्च, अस्पतालमा सुत्केरी हुँदाको खर्च, सुत्केरी भएको ६ हप्तासम्मको सुत्केरीसँग सम्बन्धित उपचार खर्च तथा तीन महिनासम्मको शिशुको उपचारबापतको खर्च।

सुविधाका सीमाहरू

- योगदानकर्तालाई अस्पतालमा भर्ना भइ उपचार गराउनुपर्ने भएमा औषधिउपचार गर्दा लागेको खर्च स्वास्थ्य सुविधाबापत प्रदान गरिनेछ र त्यस्तो रकम सम्बन्धित अस्पताललाई सिधै भुक्तानी गरिने।

- अनौपचारिक क्षेत्रका श्रमिक र स्वरोजगारमा रहेका व्यक्ति वा त्यस्ता योगदानकर्ताको पत्नी तथा नवजात शिशुको उपचार खर्च समेत स्वास्थ्य सुविधाबापत प्रदान गरिने।

- अस्पताल भर्ना भई उपचार गराउनुपर्ने अवस्थाबाहेकका योगदानकर्तालाई चिकित्सकको प्रेस्क्रिप्सन बमोजिमको सुविधा वार्षिक रुपमा बढीमा २५ हजार रूपैयाँसम्म प्रदान गरिने।

- सुविधाको रकम उपयोग गरेका योगदानकर्तालाई समेत निज अस्पताल भर्ना भएर उपचार गराउँदा स्वास्थ्य सुविधा प्रदान गरिने।

- अनौपचारिक क्षेत्रका श्रमिक र स्वरोजगारमा रहेका महिला योगदानकर्ता वा पुरुष योगदानकर्ताको पत्नी प्रसूति भएको अवस्थामा शिशु स्याहारको लागि प्रति शिशु एक महिनाको न्यूनतम आधारभूत पारिश्रमिक बराबरको रकम उपलब्ध गराइनेछ र यस्तो रकम २४ हप्ताभन्दा बढी अवधिको गर्भपतन वा मृत शिशु जन्म भएको अवस्थामा समेत प्रदान गरिने। तर, पति र पत्नी दुवै योगदानकर्ता भएको अवस्थामा भने कुनै एक जनाले मात्र यस्तो सुविधा दाबी गर्नु पर्नेछ।

- सुविधा दाबी गर्ने योगदानकर्ताले कुल दाबी रकमको २० प्रतिशत रकम आफ्नोतर्फबाट बेहोर्नु पर्नेछ र स्वास्थ्य सुविधाबापतको कुल रकम एक आर्थिक वर्षमा एक लाख रूपैयाँ भन्दा बढी हुने छैन।

- सुविधा प्राप्त गर्ने योगदानकर्ताले नेपाल सरकार वा अन्य बिमा योजनाबमोजिम कुनै स्वास्थ्य सुविधा लिन पाउने कुराले बाधा पर्ने छैन।

- प्रसूति सुविधाबापतको रकम भुक्तानीको हकमा अनौपचारिक क्षेत्रका श्रमिक तथा स्वरोजगारमा रहेका महिला योगदानकर्तालाई ९८ दिनबराबरको मासिक न्यूनतम आधारभूत पारिश्रमिकको ६० प्रतिशतले हुने रकम प्रसूति सुविधाबापत उपलब्ध गराइने।

स्वास्थ सेवामा प्राप्त नहुने सुविधा 

na.jpg

वृद्धावस्था सुरक्षा योजनाअन्तर्गत पाइने सेवासुविधा

- योगदानकर्ताको ६० वर्ष उमेर पूरा भएपछि निवृत्तभरण योजनामा जम्मा भएको रकम र सो रकममा कोषले गरेको लगानीबाट प्राप्त प्रतिफलसमेत जोडी हुन आउने कुल योगलाई १६० ले भाग गर्दा हुन आउने रकम प्रत्येक महिना निजको जीवनकालभर निवृत्तभरण पाउने।

- कुनै योगदानकर्ताको सुविधा प्राप्त गर्ने उमेर नपुग्दै मृत्यु भएमा निजको हकवालालाई निजले कोषमा गरेको योगदान र कोषको लगानीबाट प्राप्त प्रतिफल समेत जोडी हुन आउने कुल योगदान रकम एकमुस्टरुपमा प्रदान गरिने।

- कुनै योगदानकर्ताले निवृत्तभरण प्राप्त गर्न सुरु गरेपछि निजको मृत्यु भएमा निजको पति वा पत्नीको वैकल्पिक रोजगारी नभएको वा निवृत्तभरण पाउने अवस्था नभएमा मृतकको पति वा पत्नीलाई योगदानकर्ताले पाईरहेको निवृत्तिभरणको ५० प्रतिशतले हुन आउने रकम आजीवन निवृत्तभरण प्रदान गरिने। तर योगदानकर्तासँग निजको वैवाहिक सम्बन्ध कायम नरहेको अवस्थामा यो सुविधा प्रदान हुने छैन।

आश्रित परिवार सुरक्षा योजना

आश्रित परिवार सुरक्षा योजनाबाट प्राप्त गर्ने सुविधा योगदानकर्ताको मृत्यु भएमा निजको आश्रि परिवारलाई आश्रित परिवार सुरक्षा योजना पति वा पत्नीले निवृत्तभरण, सन्ततिले शैक्षिक वृति र अन्तिक संस्कार खर्च पाउने छन्।  योगदानकर्ताको पति या पत्नीको जुनसुकै कारणबाट मृत्यु भएमा निजको पति वा पत्नीले न्यूनतम आधारभूत पारिश्रमिकको र स्वरोजगार श्रमिकको लागि औसत पारिश्रमिकको ४० प्रतिशतको दरले निजले जीवनभर निवृत्तभरण पाउने कोषले जनाएको छ। तर योगदानकर्ताको पति वा पत्नीले अर्को विवाह गरेमा वा निजको वैकल्पिक रोजगार रहेको अवस्थामा यो सुविधा पाउने छैनन्। 

योगदानकर्ताको मृत्यु भएको अवस्थामा निजको १८ वर्ष उमेर पूरा नभएको सन्ततिले सो उमेर पूरा नभएसम्म शैक्षिकवृत्तिबापत न्यूनतम आधारभूत पारिश्रमिकको ४० प्रतिशत रकम मासिक रुपमा पाउने छन्। तर एकभन्दा बढी सन्तति सुविधा पाउने अवस्थाको भएमा बढीमा दुई सन्ततिलाई ४० प्रतिशत रकम दामासाहीले प्रदान गरिने कोषको कार्यविधिमा उल्लेख छ। 

योगदानकर्ताको कुनै सन्तति निरन्तर अध्ययनरत रहेमा त्यस्तो सुविधा एकाइस वर्षको उमेर पूरा नभएसम्म पाउने छन्। तर निजको विवाह भएमा वा अध्ययनरत नरहेमा त्यस्तो सुविधा पाउने छैनन्।  साथै कुनै सन्तति शारीरिक वा मानसिक रुपमा काम गर्न असक्षम भएमा त्यस्तो सन्ततिको हकमा उमेरको हद लागू  नहुने कोषको कार्यविधिमा उल्लेख छ।

यसैगरी योगदान कर्ताको एकाघरको पति वा पत्नी वा छोरा वा छोरी नभइको तर निजसँग आश्रित बुवाआमा रहेको अवस्थामा न्यूनतम आधारभुत पारिश्रमिकको ४० प्रतिशत रकम निजको जीवनकालभर पाउने छन्। आमाबुवा दुवै जीवत रहेको अवस्थामा भने दामासी हुने छ। अन्तिम संस्कार खर्चबापच २५ हजार रूपैयाँ पाउने छन्। 

दुर्घटना तथा अशक्तता सुरक्षा योजनाबाट पाउने सुविधा

- अनौपचारिक क्षेत्रका  श्रमिक र स्वरोजगारमा रहेका व्यक्ती दुर्घटनामा परी अस्पतालमा उपचार गर्दा लागेको खर्चको अधिकतम ७ लाख रूपैयाँ उपचार खर्च पाउने छन्।

- दुर्घटनाका कारण अस्थायी पूर्ण असक्षमता भएको अनौपचारिक क्षेत्रका श्रमिक र स्वरोजगारमा रहेका व्यक्तिले न्यूनतम पारिश्रमिकको ६० प्रतिशत बराबरको रकम मासिक निज काममा फर्कन सक्ने अवस्था नभएसम्म पाउने छन्। 

- दुर्घटनाका कारण स्थायी असक्षमता भएको अवस्थामा असक्षमता अनुपातमा निजले पाउने न्यूनतम आधारभूत पारिश्रमिकको ६० प्रतिशत बराबरको रकमलाई सतप्रतिशत मानी निजको असक्षमताको प्रतिशतको आधारमा जीवनकालभरी निवृत्तभरण सुविधाबापत मासिकरुपमा रकम पाउने।

- दुर्घटनाका कारण स्थायी पूर्णअसक्षमता भएको अनौपचारिक क्षेत्रका श्रमिक र स्वरोजगार रहेका व्यक्तिहरुलाई निजले आधारभूत पारिश्रमिकको ६० प्रतिशतबराबरको रकम मासिकरुपमा निज जीवत रहुन्जेल पाउने छन्।

साथै यस्ता योगदानकर्ताको हिँड्डुल गर्न नस्कने अवस्था भएमा निजलाई हेरचार गर्ने परिवारको सदस्य वा त्यस्तो सदस्य पनि नभएमा वा भएपनि हेरचाह नगरेकोमा निजलाई हेरचार गर्ने व्यक्ति वा संस्थालाई सम्बन्धित गाउँपालिका वा नगरपालिकाको सिफारिसमा भुक्तानी गरिने कोषको कार्यविधिमा उल्लेख छ। 


प्रकाशित : बुधबार, साउन ३१ २०८०००:१५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend