बिहीबार , वैशाख २७ गते २०८१    
images
images

लिफ्टमार्फत घरमै पानी आएपछि भेडिखर्कवासीलाई सहज

images
बिजनेस न्युज
images
images
लिफ्टमार्फत घरमै पानी आएपछि भेडिखर्कवासीलाई सहज

८३ लाख ४६ हजार रूपैयाँ लागतमा खानेपानी पुर्‍याइएको हो। घरघरमा खानेपानी पुगेपछि स्थानीयलाई सहज भएको छ।

images
images

गलकोट- बागलुङको जैमिनी नगरपालिका-१० राङ्खानी भेडिखर्कका ४६ वर्षीय पुष्पा पुनको आगनमा नयाँ खानेपानी धारा निर्माण भएको एक महिना भयो। यसअघि खानेपानीका लागि निकै कष्ट भोग्दै आएकी पुन अहिले लिफ्टमार्फत गाउँमुनिको पानी घरमै आएपछि दंग छिन्।

images
images
images

'बर्खामा घर माथिको समुदायिक धारामा दिनको दुई घण्टा पानी आउँथ्यो, हिउँदमा घर नजिकैको कुवामा पानी लिन जानुपर्थ्यो', पुनले भनिन्, 'एक महिना भयो घरमै खानेपानीको धारा आएको छ, २४ सै घण्टा धारामा पानी खस्दा दैनिकी बद्लिएको छ, अहिले पानीका लागि समय छुट्याउन पर्दैन।'

images

बर्खामा सामुदायिक धारा प्रयोग गरेपनि हिउँदमा कुवाको पानीमा निर्भर रहेका यहाँका स्थानीय अहिले गाउँमुनिको पानी घर-घरमै आउन थालेपछि खुसी भएका छन्। स्रोत अभावका कारण लामो समयदेखि खानेपानीको संकट भोग्दै आएका यहाँका ३९ घरमा नेपाल स्वास्थ्यका लागि पानी (नेवा) ले लिफ्टमार्फत खानेपानी पुर्‍याएको हो। 

images

६ सय ६० मिटर तलको झाँक्रिस्थानको मूलबाट उक्त पानीलाई गाउँमाथि पुर्‍याएर वितरण गरिएको नेवा कार्यक्रमका अधिकृत विनोद कोइरालाले बताए। विसं २०७२ सालको भूकम्पपछि यहाँका खानेपानीको मुहान सुकेपछि खानेपानीको समस्या हुँदै आएको थियो। लिफ्टमार्फत घर-घरमै पानी आउन थालेपछि दैनिकी सहज भएको स्थानीयले बताएका छन्।

images
images

बस्ती भन्दा छ सय ६० मिटर तल रहेको मुलको पानी माथिसम्म आउला भनेर कल्पना नै नगरेको स्थानीय मीना पुनले बताइन्। 'खानेपानीको निकै दुःख थियो, एक गाग्री पानीका लागि एक घण्टा समय लाग्थ्यो। कुवामा अबेर गए पानी नभएर फर्कनुपर्थ्यो', उनले भनिन्, 'पछि सामुदायिक धारा बनेपनि बर्खामा मात्रै पानी आउँथ्यो।' हिउँदमा मूल सुकेर पानी आउन छोडेपछि नेवाको सहयोगमा खानेपानीको समस्या समाधान भएको उनको भनाइ थियो।

जिल्लाका १७ स्थानमा नेवाले आयोजना सञ्चालन गरिरहेको भन्दै ‘एक घर एक धारा’ अभियानअन्तर्गत जैमिनी-१० को भेडिर्खकामा लिफ्टमार्फत खानेपानी पुर्‍याइएको कोइरालाले जानकारी दिए। उनका अनुसार जिआई पाइपमार्फत दुई ठाउँमा मोटर जोडेर बस्तीमा पानी ल्याइएको हो।

'पानीको स्रोत नभएका स्थानमा मात्रै लिफ्ट आयोजना सञ्चालन गरिएको छ। यो धेरै खर्चिलो प्रविधि भएकाले स्रोत भएका स्थानमा आयोजना सञ्चालन गरेका छैनौँ', कोइरालाले भने, 'भेडिखर्कमा पुराना मूल सुकेर खानेपानीको संकट हुन थालेपछि लिफ्टमार्फत खानेपानी ल्याएका हौँ।'

उनका अनुसार ८३ लाख ४६ हजार रूपैयाँ लागतमा खानेपानी पुर्‍याइएको हो। जैमिनी नगरपालिकाको १४ लाख ९८ हजार, नेवाको ५९ लाख ९० हजार, सात लाख २० हजार रूपैयाँ बराबरको स्थानीयको श्रमदान र स्थानीय उपभोक्ता समितिको एक लाख २४ हजार रूपैयाँ लागतमा खानेपानी आयोजना सम्पन्न गरिएको कोइरालाले जानकारी दिए।

अहिले दैनिक दुई घण्टा लिफ्ट आयोजनाबाट पानी तान्दा ३९ घरमा २४ घण्टै खानेपानी पुगेको खानेपानी आयोजनाका व्यवस्थापनक शेरबहादुर विकले जानकारी दिए। उनले हिँउदको समयमा भने दिनको दुई पटक पानी तान्नुपर्ने बताए। रासस

images

प्रकाशित : ११:२०
प्रतिक्रिया दिनुहोस