शुक्रबार, मंसिर ७ गते २०८१    
images
images

वाणिज्य बैंकले कमाए ७० अर्ब नाफा, नबिललाई पछ्याउँदै ग्लोबल, अन्यको कति?

images
आइतबार, साउन २१ २०८०
images
images
वाणिज्य बैंकले कमाए ७० अर्ब नाफा, नबिललाई पछ्याउँदै ग्लोबल, अन्यको कति?

यस्तै दोस्रो स्थानमा रहेको ग्लोबल आईएमई बैंकले ७ अर्ब २५ करोड रुपैयाँ खुद नाफा गरेको छ। अघिल्लो आर्थिक वर्ष ४ अर्ब ९५ करोड खुदा नाफा कमाएको बैंकको नाफा ४६.२६ प्रतिशतले बढेको छ।

images
images

काठमाडौं- वाणिज्य बैंकहरूले आर्थिक वर्ष २०७९/८० को अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेका छन्। विवरणअनुसार वाणिज्य बैंकहरूले गएको वर्ष ७० अर्ब १ करोड रुपैयाँ नाफा कमाएका छन्।  

images
images
images

अघिल्लो आर्थिक वर्षको तुलनामा अधिकांश वाणिज्य बैंकहरूको खुद नाफा बढेपनि इम्प्रियरमेन्ट चार्ज, खराब कर्जा, नियामकीय रिजर्भ बढेकाले वितरणयोग्य नाफामा भने कमी देखिएको छ। हालसम्म प्रकाशित भएको वित्तीय विवरणनुसार सबैभन्दा धेरै खुद नाफा नबिल गर्न सफल भएको छ। अघिल्लो आर्थिक वर्षको तुलनामा ७६.७० प्रतिशतले नाफा बढाएको यस बैंकले ७ अर्ब ५२ करोड रुपैंयाँ खुद नाफा गरेको छ।  

images

बैंकको नाफासँगै वितरणयोग्य मुनाफामा पनि सुधार देखिएको छ। गत आर्थिक वर्ष बैंकको वितरणयोग्य नाफा ३ अर्ब ९६ करोड रुपैयाँ रहेको छ।

images

४६ अर्ब ३८ करोड रुपैयाँ ब्याज आम्दानी गरेको बैंकले २८ अर्ब ३९ करोड रुपैयाँ ब्याज खर्च गरी १७ अर्ब ९८ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। अघिल्लो आर्थिक वर्ष बैंकको इम्प्रियरमेन्ट चार्च १ अर्ब ११ करोड रहेकोमा गत आर्थिक वर्ष बढेर ३ अर्ब ८८ करोड रुपैयाँ पुगेको छ। ११ अर्ब १ करोड रुपैयाँ संचालन नाफा कमाएको बैंकले ३ अर्ब २५ करोड रुपैयाँ सरकारलाई कर तिरेको छ।

यस्तै बैंकको तेस्रो त्रैमासको तुलनामा खराब कर्जा घटेपनि अघिल्लो वर्षको तुलनामा झन्डै शतप्रतिशतले बढेको छ। अघिल्लो आर्थिक वर्ष १.६२  प्रतिशत रहेको खराव कर्जा गत आर्थिक वर्षको अन्त्यसम्ममा ३.२० प्रतिशत कायम भएको छ। यस्तै बैंकको कष्ट अफ फण्ड ७.८१ प्रतिशत आधार दर ९.५२ प्रतिशत र कर्जा निक्षेप अनुपात ८७.६८ प्रतिशत कायम गरेको छ। कर्जा निक्षेप अनुपात बढी रहेकाले आगामी आर्थिक वर्ष नबिल बैंक कर्जा प्रवाह गर्न दबाब रहने देखिएको छ। यस्तै बैंकले स्प्रेड दर ४.९९ प्रतिशत रहेको छ। राष्ट्र बैंकले स्प्रेड दरको सिमा ४ प्रतिशत तोकेपनि यस बैंकले मर्जर तथा प्राप्ति सुविधाको उपयोग गर्दै स्प्रेड दर उच्च राखेको छ।

यस्तै दोस्रो स्थानमा रहेको ग्लोबल आईएमई बैंकले ७ अर्ब २५ करोड रुपैयाँ खुद नाफा गरेको छ। अघिल्लो आर्थिक वर्ष ४ अर्ब ९५ करोड खुदा नाफा कमाएको बैंकको नाफा ४६.२६ प्रतिशतले बढेको छ।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ६६.३७ प्रतिशत, खुद फी तथा कमिसन आम्दानी २२.४८ प्रतिशत, कूल सञ्चालन आम्दानी ५२.४९ प्रतिशत र सञ्चालन मुनाफा ४४.२६ प्रतिशत बढेको छ।

गत आर्थिक वर्षको अन्त्यसम्ममा बैंकको वितरणयोग्य मुनाफा २ अर्ब ९५ करोड ६९ लाख रुपैयाँ कायम भएको छ। यस अनुसार बैंकको लाभांश क्षमता ८.२७ प्रतिशत रहेको छ। अघिल्लो आर्थिक वर्षको तुलनामा बैंकको वितरणयोग्य नाफा करिब २९ करोडले घटेको छ।

अघिल्लो आर्थिक वर्ष बैंकको वितरणयोग्य नाफा करिब ३ अर्ब २४ करोड रहेको थियो। बैंकले नाफा नोक्सान वितरण खाता अन्तर्गत साधारण जगेडा कोषमा १ अर्ब ४५ करोड, क्यापिटल रिडेम्सन कोषमा ७७ करोड ९० लाख रुपैयाँ र गैर बैंकिङ सम्पत्ति अन्तर्गत अल्पकालीन लोन लस प्रोभिजन बापत ७१ अर्ब ६३ करोड रुपैयाँ छुट्याएकाले बैंकको वितरणयोग्य नाफामा कमी आएको हो। 

यस्तै बैंकको खराब कर्जा ३.०८ प्रतिशत पुगेको छ। अघिल्लो वर्ष बैंकको खराव कर्जा १.२८ प्रतिशत रहेको छ। यस्तै बैंकले बैंकको स्प्रेड दर ४.९६ प्रतिशत कायम गरेको छ। बैंक अफ काठमाण्डूलाई प्राप्ति गरेको यस बैंकले मर्जर सुविधाको उपयोग गर्दै स्प्रेड दर ४ प्रतिशतभन्दा बढी कायम गरेको छ। जसले बैंकको खुद नाफा तथा ब्याजदर बढाउन मद्दत गरेको छ।

समीक्षा अवधिमा बैंकको कष्ट अफ फण्ड ८.१८ प्रतिशत र आधार दर १०.२० प्रतिशत र कर्जा निक्षेप अनुपात ८३.३७ प्रतिशत रहेको छ। बैंकले गत आर्थिक वर्षको तुलनामा वितरणयोग्य नाफा बढाएको छ भने तेस्रो त्रैमासको तुलनामा खराब कर्जा घटाएको छ। 

त्यस्तै तेस्रो स्थानमा भने सरकारी स्वामित्वको राष्ट्रिय बाणिज्य बैंक रहेको छ। बैंकले गत वर्ष खुद नाफा ४ अर्ब ९१ करोड रुपैयाँ कमाएको छ। अघिल्लो वर्ष बैंकले ४ अर्ब २९ करोड नाफा गरेको थियो। यस बैंकको खराब कर्जा २.९५ प्रतिशत रहेको छ। अघिल्लो ०.८६ प्रतिशत विन्दुले बढेको छ।

एनआईसी एसिया बैंकले गत आर्थिक वर्ष २०७९/०८० मा ४ अर्ब ६५ करोड १३ लाख ३८ हजार रुपैयाँ खुद नाफा गरेको छ। यो नाफा अघिल्लो आव २०७८/०७९ को भन्दा १०.३५ प्रतिशतले बढी हो। अघिल्लो आवमा बैंकले ४ अर्ब २१ करोड ४९ लाख २६ हजार रुपैयाँ खुद रुपैयाँ नाफा कमाएको थियो।

बैंकको वितरणयोग्य नाफामा पनि केही बढेको छ। बैंको वितरणयोग्य नाफा ३ अर्ब ६९ करोड रुपैयाँ पुगेको छ। अघिल्लो आवको असार मसान्तससम्म बैंकको यस्तो नाफा ३ अर्ब ४२ करोड रहेको थियो।

पाँचौ स्थानमा रहेको नेपाल इन्भेष्टमेन्ट मेघा बैंकले ४ अर्ब २९ करोड रुपैयाँ नाफा गरेको छ। यस बैंकको वितरणयोग्य मुनाफा २ अर्ब ६० करोड रहेको छ। यस बैंकको खराव कर्जा ४.३५ प्रतिशत रहेको छ।

स्ट्ण्डयार्ड चार्टर्ड बैंकले गत आर्थिक वर्ष ३ अर्ब ५२ करोड नाफा गरेको छ। यस बैंकको खुद नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा ५६.२७ प्रतिशतले बढेको छ। आर्थिक वर्ष २०७८/७९ यस बैंकको खुद नाफा २.२५ अर्ब रहेको थियो। 

गत आर्थिक वर्षको अन्त्यसम्ममा बैंकको वितरणयोग्य मुनाफा २ अर्ब ७३ करोड ३९ लाख रुपैयाँ रहेको छ।

यस्तै एनएमबी बैंकले ३ अर्ब ४१ करोड रुपैंयाँ खुद नाफा गर्दा वितरणयोग्य नाफा भने १ अर्ब ५० करोड रुपैयाँ रहेको छ। बैंकको खराव कर्जा २.७२ प्रतिशत रहेको छ। 

नेपाल बैंक लिमिटेडको खुद नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा १६.७० प्रतिशतले बढेको छ।

गत आवमा बैंकले ३ अर्ब ४१ करोड खुद नाफा गरेको छ। अघिल्लो आवमा बैंकको खुदा नाफा २ अर्ब ९२ करोड रूपैयाँ रहेको थियो। नाफासँगै बैंकको प्रतिसेयर आम्दानी पनि सामान्य बढेको छ।

बैंकको वितरणयोग्य मुनाफा ९७ करोड ३३ लाख रूपैयाँ रहेको छ। अघिल्लो आर्थिक वर्षमा  बैंकको वितरण योग्य रकम ३ अर्ब ७२ करोड रूपैयाँ थियो।  यस्तो नाफा अघिल्लो आबको तुलनामा ७१ प्रतिशतले घटेको छ।

सिभिल बैंकलाई प्राप्ति गरेको हिमालयन बैंक लिमिटेडले गत आर्थिक वर्ष ३ अर्ब २६ करोड ६१ लाख खुद नाफा कमाएको छ। जुन अघिल्लो आर्थिक वर्षको तुलनामा ३७.९६ प्रतिशतले बढी हो। अघिल्ल वर्ष बैंकले २ अर्ब ३६ करोड ७५ लाख रुपैयाँ नाफा कमाएको थियो। यस बैंकको खराव कर्जा भने ४.५७ प्रतिशत पुगेको छ।

आर्थिक वर्ष २०७९/८० मा एभरेष्ट बैंकका अधिकांश सुचकहरू आकर्षक देखिएका छन्। गत आर्थिक वर्ष बैंकले ३ अर्ब ३९ करोड रुपैयाँ खुद नाफा गरेको छ। यस्तो नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा ९१ करोड ३७ लाख अर्थात ३६.८५ प्रतिशतले बढी हो। आर्थिक वर्ष २०७८/७९ मा यस बैंकले २ अर्ब ४८ करोड रुपैयाँ बराबर खुद नाफा गरेको 

गत आर्थिक वर्षको अन्त्यसम्ममा बैंकले पुँजीकोष अनुपात १३.३६ प्रतिशत कायम गरेको छ। अघिल्लो वर्ष बैंकको पुँजीकोष ११.८९ प्रतिशत रहेको थियो। गत आर्थिक वर्ष बैंकको खराव कर्जा अघिल्लो वर्षको तुलनामा भने बढेको छ। अघिल्लो आर्थिक वर्ष ०.१२ प्रतिशत रहेको खराव कर्जा गत वर्ष बढेर ०.७९ प्रतिशत कायम भएको छ। 

गत आर्थिक वर्षका लागि बैंकले वितरणयोग्य नाफाका लागि ४ अर्ब ३३ करोड रुपैयाँ छुट्याएको छ। अघिल्लो आर्थिक वर्ष यस बैंकको वितरणयोग्य नाफा ३ अर्ब ८८ करोड रहेको थियो। 

सिद्धार्थ बैंकले गत आर्थिक वर्ष ३ अर्ब १९ करोड रुपैयाँ खुद नाफा गरेको छ। अघिल्लो आर्थिक वर्ष २ अर्ब ९० करोड खुद नाफा गरेको बैंकले गत वर्ष २९ करोड रुपैयाँ नाफा थप्न सफल भएको छ।

यस अवधिमा बैंकका अधिकांश सुचकहरू सकारात्मक देखिएका छन्। गत आर्थिक वर्ष बैंकको खराव कर्जा २.०१ प्रतिशत रहेको छ। बैंकको खराव कर्जा अघिल्लो आर्थिक वर्षको तुलनामा भने बढेको देखिन्छ। अघिल्लो आर्थिक वर्ष बैंकको खराव कर्जा १.०७ प्रतिशत रहेको थियो। 

बैंकको यस अवधिमा वितरणयोग्य मुनाफा भने ७९ करोड ५७ लाख रुपैंयाँ मात्रै रहेको छ। अघिल्लो आर्थिक वर्ष १ अर्ब ३६ करोड रहेको वितरणयोग्य नाफा ४१.४९ प्रतिशतले घटेको छ। 

बैंकले नाफा नोक्सान विवतरण खाता अन्तर्गत क्यापिटल रिडेम्सेन रिजर्भ बापत १ अर्ब ४६ छुट्याएकाले बैंकको वितरणयोग्य नाफामा उल्लेखरुपमा कमी आएको देखिन्छ। अघिल्लो आर्थिक वर्ष बैंकले यस कोषमा ८६ करोड रुपैयाँ राखेको देखिन्छ। यस अवधिमा बैंकले सरकारलाई १ अर्ब ४ करोड रुपैयाँ  आयकर तिरेको छ।

कृषि विकास बैंकले गत आर्थिक वर्ष  करिब ३ अर्ब १० करोड रुपैयाँ खुद नाफा गरेको छ। अघिल्लो आर्थिक वर्ष २ अर्ब २२ करोड खुद नाफा गरेको यस बैंकको नाफा गत आ.बमा  ३९.२५ प्रतिशतले बढेको छ। यद्यपि बैंकको वितरणयोग्य नाफा भने अघिल्लो आ.बको तुलनामा ४३.०१ प्रतिशतले घटेको छ। बैंकको खराव कर्जा गत आर्थिक वर्ष २.४८ प्रतिशत कायम भएको छ। अघिल्लो आ.बको तुलनामा खराव कर्जा  १८.६६ प्रतिशतले बढेको छ। आर्थिक वर्ष २०७८/७९ मा बैंकको खराव कर्जा २.०९ प्रतिशत रहेको थियो। 

सानिमा बैंकले प्रकाशित गरेको आर्थिक वर्ष २०७९/८० को अपरिष्कृत वित्तीय विवरणनुसार बैंकले यस अवधिमा २ अर्ब ६१ करोड रूपैयाँ खुद नाफा कमाएको छ। अघिल्लो आर्थिक वर्षको तुलनामा बैंकले यस अवधिमा ५२ करोड ६१ लाख रूपैयाँ अर्थात् २५.१७ प्रतिशतले नाफा बढाएको छ। 

यस बैंकको वितरणयोग्य नाफा भने अघिल्लो वर्षको तुलनामा बढेको छ। आर्थिक वर्ष २०७८/७९ मा १ अर्ब २४ करोड रहेको वितरणयोग्य नाफा गत वर्ष २ अर्ब २० करोड कायम भएको छ। अघिल्लो वर्षको तुलनामा बैंकको वितरणयोग्य नाफा करिब ९६ करोड १६ लाख रूपैयाँले बढेको छ।  

प्रभु बैंकको वितरणयोग्य नाफा करिब ८४.४ प्रतिशतले घटेको छ। आर्थिक वर्ष २०७८/७९ को तुलनामा आव २०७९/८० मा बैंकको यस्तो नाफा करिब ८७ करोड ७१ लाख रूपैयाँले घटेको छ। अघिल्लो वर्ष १ अर्ब ३ करोड रूपैयाँ वितरणयोग्य नाफा रहेको यस बैंकको गत आर्थिक वर्ष १६ करोड १६ लाखमा सीमित भएको छ। गत आर्थिक वर्ष यस बैंकले खुद नाफा २ अर्ब ८२ करोड रुपैयाँ कमाएको छ। गत आर्थिक वर्ष बैंकको खराब कर्जा १२४ प्रतिशतले बढेर ४.१६ प्रतिशत पुगेको छ। अघिल्लो वर्ष यस बैंकको खराब कर्जा १.८६ प्रतिशत रहेको थियो। 

सिटिजन्स बैंक इन्टरनेशनलले गत वर्ष करिब साढे २ अर्ब रूपैयाँ नाफा गरेको छ। बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म २ अर्ब २१ करोड ४४ लाख २५ हजार रूपैयाँ खुद नाफा आर्जन गरेको हो। अघिल्लो आर्थिक वर्ष बैंकले २ अर्ब ५६ लाख १० हजार रूपैयाँ नाफा आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा गत आर्थिक वर्ष बैंकले १०.४१ प्रतिशत बढी नाफा गरेको हो।

आर्थिक वर्ष २०७९/८० मा माछापुच्छ्रे बैंकले आफ्ना सूचकमा सुधार गरेको छ। यस बैंकको खुद नाफा अघिल्लो वर्षको तुलनामा १० प्रतिशतले बढेको छ। गत आर्थिक वर्ष वर्ष बैंकले १ अर्ब ८५ करोड खुद नाफा आर्जन गर्न सफल भएको छ। आर्थिक वर्ष २०७८/७९ मा बैंकले १ अर्ब ६८ अर्ब नाफा गरेको थियो। 

एकिकृत कारोबार शुरु गरेको लक्ष्मी सनराइज बैंक लिमिटेडले २ अर्ब २६ करोड १८ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ४९.४५ प्रतिशत बढी हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब ५१ करोड ३४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

यता प्राइम कर्सियल बैंकको खुद नाफा भने अघिल्लो आर्थिक वर्षको तुलनामा घटेको छ। अघिल्लो आर्थिक वर्ष २ अर्ब ७८ करोड रुपैयाँ खुद नाफा गरेको यस बैंकले गत आर्थिक वर्ष २ अर्ब २६ करोड रुपैयाँ मात्रै नाफा कमाएको छ। बैंकको खराव कर्जा बढेर ४.२३ प्रतिशत पुगको छ। अघिल्लो आर्थिक वर्ष बैंकको खराव कर्जा १.७७ प्रतिशत रहेको थियो। यस बैंकको खुद नाफा घटेपनि वितरणयोग्य नाफा भने अघिल्लो वर्षको तुलनामा बढेको छ। अघिल्लो आर्थिक वर्ष १ अर्ब ७४ करोड रुपैयाँ वितरणयोग्य नाफा गरेको यस बैंकले गत आर्थिक वर्ष २ अर्ब ५ करोड गरेको छ।

प्राइम बैंकसँगै कुमारी बैंक लिमिटेडको पनि खुद नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा २४.१४ प्रतिशतले घटेको छ।  गत आर्थिक वर्षको असार मसान्तसम्ममा बैंकले १ अर्ब ९५ करोड ७१ लाख रुपैयाँ खुद नाफा कमाएको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले २ अर्ब ५७ करोड ९८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। गत आर्थिक वर्षको अन्त्यसम्ममा बैंकको वितरणयोग्य मुनाफा ८४ करोड ८३ लाख रुपैयाँले ऋणात्मक रहेको छ। अघिल्लो बर्ष बैंकको खराव कर्जा १.११ प्रतिशत रहेको गत वर्ष बढेर ४.७७ प्रतिशत पुगेको छ।

(*शीर्षकमा यसअघि ७१ अर्ब नाफा लेखेकोमा सच्याइएको)


प्रकाशित : आइतबार, साउन २१ २०८००४:०४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend