शनिबार, असोज ५ गते २०८१    
images
images

बँदेलले पार्‍यो मकैबाली सखाप, चिन्तामा किसान

images
शनिबार, साउन २० २०८०
images
images
बँदेलले पार्‍यो मकैबाली सखाप, चिन्तामा किसान

'मकै छरेपछि लामोसमय खडेरी पर्‍यो, मोटरबाट पानी लगाएर जेनतेन मकै जोगाएका थियौँ। बारीमा बँदेर पसेर मकै सखाप पारेपछि गाईभैँसीलाई दाना खुवाउने मकै पनि किन्नुपर्ने अवस्था आउने भयो।'

images
images

नवलपुर- नवलपरासी (बर्दघाट-सुस्तापूर्व) को मध्यविन्दुमा बँदेलले मकै खाइदिँदा कृषक चिन्तित भएका छन्। चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने मध्यविन्दु नगरपालिका-३ बह्मस्थानमा लगाइएको मकैबाली बँदेलले खाएको हो। 

images
images
images

पछिल्लो एकसातादेखि राति बँदेल बारीमा पसेर मकैबालीमा क्षति पुर्‍याउन थालेको स्थानीय खिमादेवी उपाध्यायले बताए। 'सुरुसुरुमा एक दुईवटा मकै खाने गरेको थियो', उनले भनिन्, 'तर हिजो राति बारीका सबै मकै खत्तमै बनाए छ।' उपाध्यायले सात कठ्ठा बारीमा लगाएको मकै बँदेलले नष्ट गरिदिएको बताइन्।

'केही मकै भर्खरै हारी पस्दै गरेका थिए, कोही पोलेर खाने बेला भएका थिए', उनले भनिन्, 'यो समयमा बर्सेनि बँदेल आएर हामीले लगाएको मकै खाने गरेको छ।' निकुञ्जबाट वन्यजन्तु आएर कृषकको अन्नबाली खाइदिँदा पनि यसको नियन्त्रणमा निकुञ्ज तथा मध्यवर्तीले खासै चासो नदेखाएको उपाध्यायको भनाइ छ। 'हिजो राति सुत्ने बेलासम्म बारीमा सबै मकै राम्रै थिए', उनले भनिन्, 'आज बिहान उठेर बारीमा जाँदा सबै मकै ढलेका, मकैका घोगा कोपरेका थिए, बारीभरि बँदेलको पाइला थियो।'

गाउँमा लगाइएको धेरै कृषकको मकैबालीमा बँदेलले क्षति पुर्‍याएको स्थानीय टीका सापकोटाले बताए। 'दिउँसो सुगासहितका चराचुरुंगी र रातिमा बँदेलबाट मकै जोगाउनुपर्ने चुनौती हामीलाई छ', उनले भने, 'दिउँसोमा चराचुरुंगी धपाउन सकिन्छ, तर राति आउने बँदेल समूहमा आउँछन्, लखेट्न सकिँदैन।' बँदेल लखेट्न गयो भने उल्टै मानिसलाई आक्रमण गर्न आउने सापकोटाले बताए।

images

'मकै छरेपछि लामोसमय खडेरी पर्‍यो, मोटरबाट पानी लगाएर जेनतेन मकै जोगाएका थियौँ', उनले भने, 'बारीमा बँदेर पसेर मकै सखाप पारेपछि गाईभैँसीलाई दाना खुवाउने मकै पनि किन्नुपर्ने अवस्था आउने भयो।' गाउँमा जंगली जनावरको आतंकका कारण कृषकले खेती गर्न छाड्दै गएकोसमेत सापकोटाको गुनासो थियो। यस ठाउँमा निकुञ्जबाट आउने गैँडा र बँदेलका कारण बर्सेनि धनजनको क्षति हुने गरेको उनको भनाइ छ। 

चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी एवं सहायक संरक्षण अधिकृत गणेशप्रसाद तिवारीले मध्यवर्ती क्षेत्रमा जंगली जनावरबाट अन्नबालीको क्षति पुगेको अवस्थामा निकुञ्जले राहत रकम उपलब्ध गराउने गरेको जानकारी दिए। 'बँदेल, हात्ती, गैँडा, बाघसहित विभिन्न १६ प्रजातिका वन्यजन्तुबाट धनजनको क्षति भएमा अवस्था हेरेर राहत रकम प्रदान गर्नेगरी निर्देशिका बनेको छ', उनले भने, 'राहत रकम कृषकले माग दाबी गरेको एक महिनाभित्र उनीहरुको बैंक खातामा दिने गरी निर्देशिकाले व्यवस्था गरेको छ।' निर्देशिकामा उल्लेख भएअनुसार बँदेलबाट मानवीय क्षति (मृत्यु, घाइते) तथा निजी जमिनमा लगाएको बालीमा क्षति भएमा राहत पाइने व्यवस्था भएको तिवारीको भनाइ छ।

वन्यजन्तुबाट मानवीय क्षति, पशुधन, घरगोठ क्षति, खाद्यान्न बाली र भण्डारण गरेको अन्न तथा किसानले खोरमा पालेका कुखुरा तथा पोखरीमा पालेका माछा नष्ट भएमा पनि राहत पाइने निर्देशिकामा उल्लेख भएकोउनले बताए। मगरगोहले माछामा क्षति गरेमा राहत पाइनेछ भने अजिंगर, जंगली कुकुर, ब्वाँसो, ध्वाँसे चितुवा, हिउँ चितुवा र चितुवाबाट कुखुरा नष्ट भएमा पनि क्षतिपूर्ति पाइने उनको भनाइ छ। निकुञ्जले उपलब्ध गराउने राहत क्षतिको मूल्यांकनका आधारमा वर्षमा एकपटक मात्र बढीमा १० हजार रूपैयाँ प्रदान गरिने उनले जानकारी दिए।


प्रकाशित : शनिबार, साउन २० २०८००८:०२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend