बुधबार, वैशाख ३ गते २०८२    
बुधबार, वैशाख ३ २०८२
images
images

रामेछापका अधिकांश झोलुंगे पुल जीर्ण, स्थानीय तहलाई छैन चासो

images
बुधबार, साउन १७ २०८०
images
रामेछापका अधिकांश झोलुंगे पुल जीर्ण, स्थानीय तहलाई छैन चासो
फाइल तस्बिर

रामेछापमा विभिन्न नदी र खोलामा गरी कुल एक सय ७७ झोलुंगे पुल छन्। तीमध्ये अधिकांश पुल टावर नभएका होचा (सस्पेन्डेड) छन्। टावरवालाभन्दा होचा खालका पुलहरु भने बढी जीर्ण छन्।

images
images

मन्थली- पैदल यात्रालाई छोट्याउने साधनका रुपमा रहेका रामेछापका अधिकांश झोलुंगे पुल जीर्ण बन्दै गएका छन्। पुलका सामग्री नासिन र चोरिन लाग्दासमेत सम्बन्धित निकायलाई चासो छैन।

images
images
images

आधुनिकतासँगै सडक र मोटर पुल निर्माणपछि सरकारले लाखौँ रूपैयाँ खर्चेर निर्माण गरेका यस्ता पुलको पछिल्लो समय प्रयोग पनि घट्दै गएको छ। विभिन्न नदीका प्रमुख घाट एवम् तत्कालीन अवस्थामा अत्यावश्यक भएका ठाउँमा निर्माण गरिएका झोलुंगे पुलको प्रयोग घटेसँगै तिनीहरुको संरक्षण र मर्मतसम्भारप्रति स्थानीय तह उदासीन भएको जनाइएको छ।

images
images

दोलखा र रामेछापलाई जोड्नेमात्र नभई सगरमाथा आधार शिविर जाने पर्यटकलाई सुविधा पुर्‍याएको उत्तरी रामेछापको शिवालयस्थित झोलुंगे पुल हाल जीर्ण अवस्थामा छ। नजिकै अर्को मोटरेबल पुल निर्माणपछि उक्त पुलबाट आउजाउ गर्नेको संख्या घट्दो छ। तर स्थानीयवासीलाई भने यही पुलले गाउँघर र मेलापात जान-आउन सहज बनाएको छ।

images
images

शिवालयमा भएका पुलका पार्टपुर्जा खुस्किएका छन्। वर्षौँदेखि रंगरोगन नगर्दा पुलमा प्रयोग भएको फलाममा खिया लागेको छ। विसं २०४१ मा उक्त पुलको निर्माणपश्चात् त्यसैसँग जोडिएर शिवालय बजार विस्तार भएको थियो। पर्यटक नहुँदा बजारमा पनि चहलपहल घटेको छ। यतिमात्र हैन पुलभन्दा माथिका डाँडाहरुमा सडक खनेर पुलको जगमा ढुंगामाटो फालिदिने गरेका कारण पनि पुलहरु जीर्ण बन्दै गएका हुन्।

रामेछापमा शिवालयमात्र हैन, पहिले निकै महत्व बोकेका जिल्लाका अधिकांश झोलुंगे पुलहरु जीर्ण बनिरहेका छन्। पूर्वी जिल्ला भोजपुरदेखि काठमाडौं आउजाउमा प्रयोग हुने मन्थली घाटमा २०३५ सालमा बनेको तामाकोशी नदीको पुल, रामेछापबाट सिन्धुलीको झांगाझोली रातमाटा हुँदै भकुण्डे-बनेपा-काठमाडौंसमेत आउनेजाने गरिएको २०४१ सालमा (पुछिघाट, चैनपुरमा) बनेको सुनकोशी नदीको पुल भिरपानीको सित्खाघाटमा बनेको पुल र राणाकालमा निर्माण भएको रामेछाप र ओखलढुंगा जोड्ने लिखु खोलामा रहेको साँघुटारको पुलसमेत जीर्ण अवस्थामा छन्।

यसबाहेक रामेछाप -सिन्धुली जोड्ने सुनकोशी नदीमा २०२८ सालमा निर्माण भएको धनेघाटको पुल, विसं २०२५ मा निर्माण भएको रामेछाप र सिन्धुली जिल्ला जोड्ने खुर्कोटकोपुल २०३६ सालमा निर्माण भएको काभ्रे र रामेछाप जिल्ला जोड्ने लुभुघाटमा बनेको सुनकोशी नदीको पुल, तामाकोशी नदीमा रामेछापको आन्तरिक गाउँ जोड्ने २०२७ सालमा बनेको बान्द्रेको पुल र २०२५ सालमा निर्मित अम्बासबेँसी खिम्ती जोड्ने तामाकोशी नदीको लगायतका जिल्लाका अधिकांश पुलहरु जीर्ण रहेका छन्। 

रामेछाप नगरपालिकाका  प्राविधिक  हरिचन्द्र बरालका अनुसार टावरवाला पुल निर्माण गर्नप्रति मिटर ८० हजार रूपैयाँ लाग्छ। उक्त सबै पुलहरू करिब दुई सय मिटर हाराहारीका हुन्। हालको मूल्यमा एउटा पुल निर्माण गर्न कम्तीमा एक करोड ५० लाखभन्दा बढी खर्च लाग्ने गर्दछ।

संघीयताको कार्यान्वयनसँगै पुल हेरालु र मर्मतसम्भारको काम स्थानीय सरकारको जिम्मामा गयो। उनका अनुसार जिल्लामा रामेछाप नगरपालिकाले मात्र पुल मर्मतसम्भारका साथै पुल हेरालुको व्यवस्था गर्दै आएको छ। अन्य निकायमा उक्त व्यवस्था छैन। 'हामीले गत वर्षमात्र साँघुटार, नवलपुर र धनेघाट पुलको मर्मत गरेका छौँ', उनले भने, 'नगरपालिकाभित्र पुल हेरालुका रूपमा ११ जनालाई पारिश्रमिक दिएर जिम्मेवारी दिइएको छ। हेरालुले मासिक पाँच सय भत्ता पाउँछन्।'

स्थानीयवासीलाई चासो छैन, पहुँचवालाहरू सडक मार्गको प्रयोग गर्न थालेपछि पुराना घाटहरूमा रहेका झोलुंगे पुलको संरक्षणमा कसैको चासो नगएको हो। लामो सयमदेखि मन्थली घाटको झोलुंगे पुल नजिक बसोबास गरिरहनुभएका ओमबाबु पुरी भन्छन्, 'पहिले यही पुल नहुँदा हाम्रा कैयौँ पुर्खाले  बगेर ज्यान गुमाए। पुलले हामीलाई सहज बनायो तर अहिले सबैको हेलामा पर्‍यो।'

स्थानीय तहको गठन नहुँदा जिल्लामा झोलुंगे पुलको रेखदेख र सामान्य खालका मर्मतसम्भार तत्कालीन जिल्ला विकास समितिले गर्दै आएको थियो। हरेक पुलमा पुल हेरालु राखिएका थिए। उनीहरूले पुल संरक्षण र हेरालुको काम गरेबापत न्यूनतम पारिश्रमिक पाउँथे। त्यसबाहेक पुलको मर्मतसम्भार स्थानीय विकास मन्त्रालयले गर्ने गरेको थियो। तत्कालीन जिल्ला विकास समितिले पनि पुल मर्मतमा पर्याप्त खर्च गर्ने गरेको पूर्वजिल्ला विसका समितिका सदस्य भुवनविक्रम घिमिरेले बताए। अहिलेका स्थानीय सरकार पुल मर्मतका लागि उदासीन रहेको पनि उनले गुनासो गरे।

जिल्लामा विभिन्न नदी र खोलामा गरी कुल एक सय ७७ झोलुंगे पुल छन्। तीमध्ये अधिकांश पुल टावर नभएका होचा (सस्पेन्डेड) छन्। टावरवालाभन्दा होचा खालका पुलहरु भने बढी जीर्ण छन्। यस्ता पुलकहरुको संरक्षण गरेर परम्परागत पुललाई जोगाई राखेर पछिल्लो पुस्तालाई झोलुंगे पुलको महत्वका बारेमा जानकारी दिइनुपर्ने, ऐतिहासिक रुपमा रहेका त्यस्ता पुलहरु कृत्रिम सम्पदाका रुपमा रहने हुँदा पनि यस्ता पुलहरुको संरक्षणमा सम्बन्धित निकायको ध्यान जानुपर्ने आवश्यकता रहेको मन्थली नगरपालिका-७ का स्थानीय केदारप्रसाद ढुंगेलले बताए। रासस


प्रकाशित : बुधबार, साउन १७ २०८००७:१७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend