शुक्रबार, जेठ ४ गते २०८१    
images
images

मुग्लिन-नारायणगढ खण्डको वैकल्पिक मार्ग : एक दशक बित्दा पनि बनेन घुमाउनेको पुल

images
मंगलबार, साउन १६ २०८०
images
images
मुग्लिन-नारायणगढ खण्डको वैकल्पिक मार्ग : एक दशक बित्दा पनि बनेन घुमाउनेको पुल

सम्झौताअनुसार २०७३ असार ३० गते काम सम्पन्न हुनुपर्थ्यो। दश वर्षको अवधिमा पटक पटक म्याद थप्दा पनि ३५ प्रतिशत मात्र काम सकिएको छ।

images
images

दमौली- एक दशक बित्दा पनि मुग्लिन-नारायणगढ खण्डको वैकल्पिक मार्गका रुपमा विकास गर्न लागिएको बुद्धसिंह मार्गअन्तर्गत घुमाउनेमा निर्माण गर्न लागिएको पक्की पुल अधुरै छ। दश वर्षको अवधिमा ३५ प्रतिशत मात्र काम सकिएको छ।

images
images
images

तनहुँ र चितवन जोड्न त्रिशूली नदीमाथि घुमाउनेमा पुल निर्माण थालिएकामा दश वर्षको अवधिमा भौतिक प्रगति ३५ प्रतिशत मात्रै छ। एक सय पाँच मिटर लम्बाइ सिंगल आर्क ब्रिज निर्माणका लागि २०७० असार २८ गते मृत सञ्जीवनी निर्माण सेवा मकवानपुरसँग सम्झौता भएको थियो। सम्झौताअनुसार २०७३ असार ३० गते काम सम्पन्न हुनुपर्थ्यो। तर चौथो पटक गरी २०८० असार ३० गतेसम्म म्याद थप गरिएको सडक डिभिजन कार्यालय तनहुँका इन्जिनियर विकास लागेले जानकारी दिए।

images

सुरुमा स्टिल ट्रस पुल बनाउने भनेकामा सो बमोजिम पुल बनाउँदा नारायणगढ मुग्लिनखण्डमा खतरामा पर्ने भन्दै निर्माण व्यवसायीले डिजाइन परिवर्तन गरी आरसीसी आर्क ब्रिज बनाउन माग गरेका थिए। उक्त पुलको हालसम्म ३५ प्रतिशत भौतिक र ३४.३२ प्रतिशत वित्तीय प्रगति भएको छ। विसं २०७८ सालको बर्सात मौसममा त्रिशूली नदीमा आएको भेलले पुलको दुवै तर्फको पाँच सय ४० मध्ये दुई सय ५७ वटा डन्डी भाँचिएको कारण काममा ढिलाइ भएको इन्जिनियर लागेले बताए।

images
images

काममा ढिलाइ भएपछि निर्माण व्यवसायीलाई पटक पटक लिखित पत्राचार तथा मौखिक ताकेता गरिएको २०७९ असार १९ गते सूचना प्रकाशित गरी निर्माण व्यवसायीलाई सात दिनको म्याद राखेर स्पष्टीकरण सोधिएको थियो। तत्पश्चात् २०७९ असार २० गते सार्वजनिक खरिद नियमावली २०६४ (१२औँ संशोधन) प्रकाशित भई सो अनुसार विसं २०८० असार ३० सम्म म्याद थप भएको थियो। 

images
images

निर्माण व्यवसायीलाई बारम्बार ताकेता गर्दा पनि हेलचेक्राइँ गरी साइटमा नआएकाले  २०८० वैशाख १५ मा ठेक्का तोडी कालोसूचीमा किन नराख्ने भनी सात दिने म्याद दिई कार्यालयमा उपस्थित भई स्पष्टीकरण पेस गर्नका लागि पत्र पठाइएको थियो। तत्पश्चात् पनि चित्तबुझ्दो जवाफ नआएकाले विसं २०८० असार १३ गते ठेक्का किन नतोड्ने भनी सात दिनभित्र संशोधित कार्यतालिका, सोहीसँग मेल खाने भरपर्दो स्रोत परिचालन योजनासहित कार्यालयमा उपस्थिति हुन अन्तिम पटक अनुरोध गरिएको थियो।

सार्वजनिक खरिद नियमावली, २०६४ (१२औँ संशोधन) अनुसार म्याद थप भएको अवधिभित्र निर्माण कार्य सम्पन्न नभएको अवस्थामा सोही नियमावलीको नियम १२१ बमोजिम पूर्वनिर्धारित क्षतिपूर्ति लगाई ठेक्का कारबाही प्रक्रिया अगाडि बढाउने तयारी गरिएको छ। तनहुँको आँबुखैरेनी गाउँपालिका-५ र भरतपुर महानगरपालिका-२९ घुमाउने जोड्ने त्रिशूली नदीमाथिको घुमाउनेमा सम्झौताअनुसार काम भएको भए यतिबेला पक्की पुल बनिसक्थ्यो।

उक्त पुलको निर्माण सम्पन्नपश्चात् पोखरा र दमौलीलाई नारायणगढ आउनजान हाल सञ्चालन भइरहेको मुग्लिङ-नारायणगढ सडकभन्दा २३ किलोमिटरको दुरी छोटो पर्छ। घुमाउनेमा मोटरेवल पुल नहुँदा यातायातका साधन तनहुँकै सीमानामा पुगेर फर्कन बाध्य छन्। मोटरसाइकल भने दोहोर्‍याएर मुग्लिङ-नारायणगढ सडकखण्डसम्म ल्याउन सकिन्छ।

पृथ्वीराजमार्गको विकल्पका रुपमा रहेको बुद्धसिंह मार्ग कालोपत्रका लागि काम गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि पाँच करोड रूपैयाँ बजेट विनियोजन गरेको छ। पोखरा-नारायणगढ सडकको विकल्पमा तयार गरिएको बुद्धसिंह मार्गको थप स्तरोन्नति र घुमाउनेमा पुल निर्माण सम्पन्न भएपछि यस क्षेत्रका नागरिकलाई चितवन र तराईका विभिन्न जिल्लामा जान समय बचत हुने बुद्धसिंह मार्ग उपभोक्ता समितिका पूर्वअध्यक्ष विश्व बास्तोलाको भनाइ छ।

तनहुँको दमौलीबाट घुमाउनेघाटसम्म नियमित रुपमा साना बसहरू तथा दुईपांग्रे सवारी साधन आउने जाने गरे पनि दुईपांग्रे सवारी साधन भने झोलुंगेपुल तरेर मुग्लिङ-नारायणगढ सडकमा निस्कन्छ भने बस तथा अन्य सवारीसाधन भने पुलको अभावमा उतै रोकिन बाध्य छन्। रासस


प्रकाशित : मंगलबार, साउन १६ २०८०११:१५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend