काठमाडौं- ललिता निवास प्रकारणमा पक्राउ परेर हिरासतमा रहेका भाटभटेनी सुपरमार्केटका सञ्चालक व्यवसायी मीनबहादुर गुरुङले विभिन्न वित्तीय संस्थाबाट २७ अर्ब रूपैयाँ ऋण लिएको पाइएको छ। जसमा गत असार मसान्तसम्म ८ अर्ब ९३ करोड ६२ लाख रुपैयाँ ऋण चुक्ता गर्न बाँकी रहेको देखिएको छ।
ललिता निवासको जग्गा हिनामिना प्रकरणमा मुछिएका गुरुङसहित उनको परिवारको नाममा ललिता निवासको करिब ३० रोपनी जग्गा भेटिएको छ। यो प्रकरणमा दोस्रोपटक पक्राउ परेका उनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले अहिले सरकारी लिखत कीर्तेको कसुर लगाएको छ। ललिता निवासको जग्गा हडप्नका लागि सरकारी कागजात किर्ते गरेको कसुरमा अनुसन्धान गर्न उनलाई नियन्त्रणमा लिइएको हो।
सीआईबीले गरेको अनुसन्धानका क्रममा गुरुङले पत्नी सावित्री घले गुरुङ, छोरा कल्याण, आफन्त तथा भाटभटेनी डेभ्लपर्सको नाममा जग्गा राखेको पाइएको हो। कतिपय जग्गा भने उनले बिक्री समेत गरिसकेको जनाइएको छ। बालुवाटारस्थित ललिता निवासको १ सय ४३ रोपनी जग्गा विभिन्न चरणमा व्यक्तिका नाममा नामसारी गरेको पाइएकोमा गुरुङ परिवारमा नै करिब ३० रोपनी जग्गा देखिएको हो।
यसअघि २०७६ मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत अकुत सम्पति र भ्रष्टाचारको कसुरमा गुरुङलाई विशेष अदालतमा मुद्दा चलाएको थियो। उनलाई ३९ करोड २७ लाख ६८ हजार रुपैयाँ बिगो, जरिवाना एवं सम्पति जफतको माग दाबी गरिएको छ। अभियोगमा पक्राउ परे पनि उनी पुर्पक्षका लागि धरौटीमा छुटेका थिए। अख्तियारले दर्ता गरेको मुद्दा विचाराधीन छ। अहिले पुन: सीआईबीले अनुसन्धान फाइल खोलेर कीर्तेलगायतमा अनुसन्धान गर्दा गुरुङसहित अन्य दर्जनौँ व्यक्ति पक्राउ परेका हुन्।
उनै गुरुङले विभिन्न बैंक, विकास बैंक र लघुवित्त गरी ३५ वटा संस्थाबाट २७ अर्ब रूपैयाँ ऋण लिएको पाइएको छ। यसमा सबैभन्दा बढी कर्जा स्ट्याण्डर्ड चार्टर्ड बैंकबाट लिएका छन्। देशभरका भाटभटेनी आउलटलेट सञ्चालनका लागि गुरुङले लिएका ऋणमध्ये ८ अर्ब ९३ करोड ६२ लाख रुपैयाँ तिर्न बाँकी देखिएको छ। गुरुङले भाटभटेनीमा मुख्य लगानी गरे पनि ऊर्जा, रेष्टुरेन्ट, स्टिललगायत क्षेत्रमा पनि लगानी गरेका छन्।
कुन कम्पनीबाट गुरुङको कति ऋण?
भाटभटेनी सुपर मार्केट एण्ड डिपार्टमेन्ट स्टोर : ५ अर्ब ३२ करोड
माउन्टेन इनर्जी नेपाल र रोबुष्ट इनर्जी : ६ अर्ब २३ करोड
मरुन्स ट्रेडिङ : १७ करोड ४२ लाख
काठमाण्डू स्टील : १५ अर्ब ४५ करोड
भाटभटेनी ज्वेलर्स : ४ करोड
द अंकल्स स्पाइसी फुड : १ करोड
भाटभटेनी मनी ट्रान्सफर : २ करोड ७२ लाख
भाटभटेनी फर्निचर : ५८ लाख रुपैयाँ
भाटभटेनी इन्टरनेशनल : २८ करोड ४९ लाख