शनिबार, साउन १२ गते २०८१    
images
images
images

आलु बिक्रीबाट राम्रो आम्दानी गर्दै गंगादेवका किसान

images
सोमबार, साउन १५ २०८०
images
images
आलु बिक्रीबाट राम्रो आम्दानी गर्दै गंगादेवका किसान
फाइल तस्बिर

जेठ पहिलो सातादेखि हालसम्म यहाँबाट करिब १९ हजार क्विन्टल आलु बाहिर गइसकेको छ। यसपटक करिब १२ करोड रूपैयाँ बराबरको आलु बिक्री हुने अपेक्षा गरिएको छ।

images

रोल्पा- गंगादेव गाउँपालिकाका किसानलाई यतिबेला आलु स्याहार्न भ्याइनभ्याइ छ। उनीहरुको दैनिकी बिहानैदेखि बेलुकासम्म आलु खन्ने र प्याकिङ गर्नमै बित्ने गरेको छ। आजभोलि कोही आलु खनेर बोरामा प्याकिङ गर्न त कोही गर्न मोटर बाटोसम्म बोरा ओसार्न व्यस्त देखिन्छन्।

images
images

यहाँ माघ-फागुनमा रोपेको आलु जेठ अन्तिम साताबाटै खन्न सुरू भइसकेको छ। यहाँ हिउँदे र वर्षे गरी दुई किसिमको आलु उत्पादन हुन्छ। सिँचाइको पहुँच भएका ठाउँमा माघको पहिलो हप्तादेखि आलुखेती गरिन्छ भने सिँचाइको पर्‍याप्त सुविधा नहुने स्थानमा फागुन अन्तिम र चैतको पहिलो हप्तादेखि आलुखेती गरिने किसानको भनाइ छ।

images

बाली स्याहार्न धेरै दुःख नहुने र छोटो समयमै उत्पादन दिनुका साथै आम्दानी पनि राम्रो हुने भएकाले गंगादेव गाउँपालिकाका अधिकांश किसान आलुखेतीतर्फ आकर्षित छन्। आलुले सामान्यतयाः ९० दिनमा प्रतिफल दिन सुरू गरिसक्छ।

गंगादेव-३ का किसान पार्वती केसीलाई पनि वर्षभरिको घर खर्चको जोहो आलुखेतीबाटै हुन्छ। 'हामीले घर खर्च चलाउने भनेकै आलुखेती हो। आलु किन्न व्यापारी घरमै आउँछन् बेच्नका लागि कुनै समस्या छैन', केसीले भने। गंगादेव गाउँपालिकाका सबै वडामा आलुखेती राम्रो हुने भए पनि वडा नं ३ आलुखेतीका लागि राम्रो मानिन्छ । 

images

आलु यहाँको मुख्य नगदेवाली भएकाले गाउँपालिकाको कृषि शाखाले आलुखेती विस्तार, बजारीकरणलगायतमा सहयोग गर्दै आएको गाउँपालिकाका कृषिशाखा प्रमुख टीका रामवलीले भने। यहाँ प्रत्येक किसानले न्यूनतम ३० देखि बढीमा दुई सय २० क्विन्टलसम्म आलु उत्पादन गर्ने गरेको उनको भनाइ छ। 

जेठ पहिलो सातादेखि हालसम्म यहाँबाट करिब १९ हजार क्विन्टल आलु बाहिर गइसकेको छ। यसपटक गंगादेवमा करिब ४० हजार क्विन्टल आलु फलेको र असोजसम्म सबै आलु बाहिरिसक्ने गाउँपालिकाका कृषि विकास शाखा प्रमुख वलीको भनाइ छ। यसपटक करिब १२ करोड रूपैयाँ बराबरको आलु बिक्री हुने अपेक्षा गरिएको उनले बताए।

यहाँ उत्पादन हुने आलु दाङ, बुटवल, पोखरा र काठमाडौंसम्म पुग्ने गरेको छ। गंगादेव गाउँपालिकाले विशेष त आलु पकेट क्षेत्र, आलु ब्लक कार्यक्रम जिल्ला, आलु बिकास कार्यक्रम खुमलटारसँगको समन्वयमा काम गर्दै आएको छ। गाउँपालिकाले चालु आवमा विज्ञ नै बोलाएर तालिम समेत दिने योजना बनाएको छ।

गंगादेव गाउँपालिकामा आलु बीउका लागि रष्ट्रिक स्टोरको समस्या भएको हुँदा आलुको बीउ सुधारका लागि विभिन्न खालका रष्ट्रिक स्टोर निर्माण गर्ने र किसानलाई बीउ सुधारको लागि नयाँ आलुको मूल तथा उन्नत बीउको पहिलो पुस्ता नै वितरण गर्ने लक्ष्य लिइएको गाउँपालिकाका अध्यक्ष हरिबहादुर पुनले बताए।

उनले आलुको उत्पादन बढाउन ठाउँमा सिँचाइका पहुँच पुर्‍याउने समेत लक्ष्य लिइएको बताए। 'गंगादेव गाउँपालिकाले कृषिलाई विशेष प्राथामिकता दिएको छ। लुम्बिनी प्रदेशभर यहाँको आलुको चर्चा हुने गरेको छ', उनले भने। रासस


प्रकाशित : सोमबार, साउन १५ २०८०१०:४९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend