शनिबार, असोज ५ गते २०८१    
images
images

'हस्तकलाका सामग्री बनाउँदा ज्याला पनि उठ्दैन'

images
शुक्रबार, साउन १२ २०८०
images
images
'हस्तकलाका सामग्री बनाउँदा ज्याला पनि उठ्दैन'

नयाँ पुस्ताले पढाइलेखाइ र रोजगारीलाई बढी जोड दिन थालेकाले परम्परागत सीप हराउने चिन्ता बढेको छ।

images
images

टीकापुर- कैलालीकी छोट्की चौधरी पाँच वर्षअघिसम्म बर्सातका मौसममा निकै व्यस्त रहन्थिन्। खेतीपाती सकेपछि उनले हातको सीप र कला प्रयोग गरेर घरमा आवश्यक ढकिया, ढकली, फेरुवा, भौकाभौकी, डेलुवा, डेलै, पैनछोप्नी, पैन, हाते पङ्खालगायतका हस्तकलाका सामग्री उत्पादन गर्थिन्।

images
images
images

उनले ती सामान आफन्तलाई कोसेली दिने र उनीहरुलाई सरसामान राखेर दिन्थिन्। उनले दुई वर्षदेखि यसरी हस्तकलाका सामग्री बनाउन चटक्कै छाडिन्। 'मलाई आजभोलि समान बनाउन मन लाग्दैन। पहिला फुर्सद हुनेबित्तिकै बनाउँथे', उनले भनिन्, 'आजभोलि ज्यालादारीको काममा जान्छु, काममा गए आफ्नो खर्च निस्कन्छ, त्यसबाहेक फुर्सद मिल्दैन, बनाउन छोडेँ।'

विगतमा खेतीपातीको कामबाट फुर्सदिला बनेलगत्तै थारु महिला हातको कला र सीपको प्रयोग गरी विभिन्न सामग्री बनाउने गर्दर्थे। उनीहरुले प्रायः साउन, भदौ र असोज महिनामा हातका कला र सीप प्रयोग गरी ढकिया, ढकली, फेरुवा, भौकाभौकी, डेलुवा, डेलै, पैनछोप्नी, पैन, हाते पङ्खालगायतका हस्तकलाका परम्परागत सामग्री धेरै मात्रामा बनाउँथे तर अहिले हस्तकलाका सामग्री बनाउने वीरलै भेटिन्छन्।

अहिले पहिलाको जस्तो फुर्सद नहुने विभिन्न कार्यमा थारु महिला पनि व्यस्त हुँदै गइरहेकाले हस्ताकलाका सामग्री बनाउने घटेका जानकी गाउँपालिका-८ भगरैयाका तारा चौधरीले बताइन्। 'आजभोलि बुनेर बस्ने फुर्सद हुँदैन, महिला अन्य सीप र नयाँ काम गर्न थाल्नुभयो', उनले भनिन्, 'अन्य काममा कमाइ र प्रविधिको प्रयोग हुन्छ, त्यसैले पनि यो सीप हराउने चिन्ता छ।'

images

प्रायः घरायसी प्रयोजन तथा श्रृंगारिक वस्तुका रुपमा प्रयोग हुने यी सामग्री बनाउँदा जति कलात्मकरुपमा बनाउन सकिन्छ त्यति राम्रा र आकर्षक देखिन्छन्। ढकियामा वनस्पतिलाई रंगले रंगिन बनाई सीपको प्रयोग गरी आकर्षक बनाउनका लागि बनोटअनुसारका ढाँचा र चित्र बनाउने गरेका हुन्छन्।

उनीहरुले हस्तकलाका सामानमा विभिन्न पशुपन्छीको कलात्मक बुट्टा बनाएका हुन्छन्। यसरी महिनौँ लगाएर सामग्री बनाउने गर्दथे तर अहिले कला र सीप हस्तान्तरण गर्ने, सिकाउने व्यक्तिसमेत कम हुँदै गएका सुमित्रा चौधरीले बताइन्। 'पहिलेका युवती सीप सिक्न चाहन्थे वा अनिवार्य सिकाइन्थ्यो', उनले भनिन्, 'आजभोलिका छोरीहरु पढ्न जान्छन्, पढाइपछिको समयमा अन्य काम थाल्छन्, घरमा बसेर बुन्ने फुर्सद आजभोलिका छोरीबुहारीलाई छैन।'

नयाँ पुस्ताले पढाइलेखाइ र रोजगारीलाई बढी जोड दिन थालेकाले परम्परागत सीप हराउने चिन्ता बढेको छ। हस्तकला प्रयोग गरी श्रृंगारिक वस्तुका रुपमा बनाइने भएकाले सामग्री बनाउनका लागि एक किसिमको वनस्पति प्रयोग गर्नुपर्छ। पुन्च र कसुंगालाई रंगाएर बनाइने भएकाले यी वस्तुसमेत कमै मात्रामा भेटिने गरेको उनीहरुको भनाइ छ। बनाउने व्यक्तिमात्र नभई बनाउने सामग्रीको उत्पादन कम हुने भएकाले पुराना सीप भएका महिलाले समेत ढकियालगायतका सामग्री बनाउने छाडेका छन्।

श्रम र लागतका हिसाबले बजारमा पाइने प्लाष्टिक तथा भाडाका सामग्रीभन्दा यी सामग्री फरक हुन्छन्। आधुनिकता र अभावका नाममा थारु समुदायका महिलाले मात्र कलात्मकरुपमा बनाउने यस्ता सामग्री सिर्जना गर्ने भएकाले यसको सीप विकासका लागि स्थानीय सरकारले ध्यान दिनुपर्ने अगुवा सीता चौधरीले बताइन्। 'कतिपय पालिकामा ढकिया बुन्न सिकाउने गरेको सुनिन्छ, सिकाएर मात्र हुँदैन', उनले भनिन्, 'सीप सिकेकालाई व्यावसायिक बनाउनसमेत आवश्यक छ। व्यावसायिक रुपमा यो व्यवसाय गरेमा आम्दानी पनि हुन्छ।' रासस


प्रकाशित : शुक्रबार, साउन १२ २०८००८:२३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend