शनिबार, असोज ५ गते २०८१    
images
images

उपरदाङगढीको जीर्णोद्धार थालियो

images
बिहीबार , साउन ११ २०८०
images
images
उपरदाङगढीको जीर्णोद्धार थालियो

जिल्ला सदरमुकाम भरतपुरबाट झण्डै एक घण्टामा मोटरसाइकल र साना गाडीमा सहजरुपमा उपरदाङगढी पुगिन्छ। शक्तिखोर फिस्लिङ सडकका कारण पनि यहाँ घुम्न आउने बढेका हुन्।

images
images

भरतपुर- चितवनको ऐतिहासिक क्षेत्र उपरदाङगढीको जीर्णोदार सुरु गरिएको छ। इच्छाकामना गाँउपालिकाले जिल्लाको पुरानो सदरमुकामसमेत रहेको उपरदाङगढीको भौतिक संरचना संरक्षणका लागि जीर्णोद्धार सुरु गरेको हो। 

images
images
images

यहाँका संरचना संरक्षणको अभावमा जीर्ण बन्दै गएका थिए। पुरातत्व विभागसँगको समन्वयमा कोत घर, काठे पुल, ढोका र मन्दिरको जीर्णोदार गर्न सुरु गरिएको इच्छाकामना गाँउपालिकाका अध्यक्ष दानबहादुर गुरुङले बताए। उनले पुरातत्व विभागको डिजाइन र अनुगमनमा जीर्णोदारको काम भइरहेको जानकारी दिए।  

'गढीको पुरानोस्वरुप बिग्रँदैन', उनले भने, 'जीर्णोद्धारपछि कोत घरलाई पुरानै अवस्थामा ल्याउँछौँ।' उनले गढी बाहिरको क्षेत्रमा खानेपानीको व्यवस्था, यात्रु प्रतीक्षालय र शौचालय निर्माण गर्न लागिएको बताए।

गाँउपालिकाको आन्तरिक स्रोतबाट जीर्णोदारको काम भइरहेको उल्लेख गर्दै अध्यक्ष गुरुङले गढीको विकासका लागि संघ र प्रदेश सरकारसँग पनि बजेट माग गरिएको उल्लेख गरे। उनले गढीको जीर्णोद्धारसँगै जग्गा संरक्षणको कामलाई पनि अघि बढाएको बताए। चितवन र समग्र देशको इतिहाससँग जोडिएको गढीलाई गाउँपालिकाले प्राथमिकतामा राखेर पर्यटकीय गन्तव्य बनाउन लागिएको छ। 

images

गाउँपालिकाले यस वर्ष उक्त गढीलगायत पर्यटकीय क्षेत्रको विकासका लागि बजेट विनियोजना गरेको छ। 'उपरदाङगढीको विकासका लागि गाउँपालिकाको बजेट पर्याप्त छैन', अध्यक्ष गुरुङले भने, 'प्रदेश र केन्द्र सरकारसँग बजेट मागेर यसको विकास गर्छौं।' पुरानो सदरमुकाम तथा नेपाल अङ्ग्रेज युद्धस्थल उपरदाङगढीसँगै इच्छाकामना मन्दिर, पाथिभरा, सिँराइचुली र जलवीरे झरनालाई एकीकृत पर्यटकीय गन्तव्यको रुपमा अघि बढाइने उनले जानकारी दिए।

सडक सञ्जालले जोडिएपछि र पूर्वाधार निर्माण हुन थालेपछि यस ऐतिहासिक गढी घुम्न आउनेको सङ्ख्या बढेको छ। जिल्ला सदरमुकाम भरतपुरबाट झण्डै एक घण्टामा मोटरसाइकल र साना गाडीमा सहजरुपमा उपरदाङगढी पुगिन्छ। शक्तिखोर फिस्लिङ सडकका कारण पनि यहाँ घुम्न आउने बढेका हुन्। 

स्थानीयवासी गणेशबहादुर थापाले पछिल्लो समय यहाँ घुम्न आउने पर्यटकको सङ्ख्या बढेको बताए। उनले दैनिक सयौँको सङ्ख्यामा यहाँ घुम्न, फोटो खिच्न र एतिहासिक गढीको जानकारी लिन आउने गरेको जानकारी दिए। यहाँ बस्नका लागि केही होमस्टे (घरबास) सञ्चालनमा छन्। उनका अनुसार गढीमा मासिक एक लाखको टिकट बिक्री भएको छ। गढीमा घुम्न आउनेबाट पालिकाले ५० रुपैयाँ शुल्क लिने गरेको छ। 

इच्छाकामनासँग जोडिएको कालिका नगरपालिकाले पनि उपरदाङगढीसँग जोडेर पर्यटन पूर्वाधार निर्माणका गरिरहेको छ। नगरपालिकाका प्रमुख विनोद रेग्मीले उपरदाङगढीसम्म पुग्न सडक पूर्वाधार निर्माण भइसकेको भन्दै दुई पालिका जोडेर पर्यटकीय गतिविधिको विकास गर्ने गरी काम गरिरहेको बताए। चितवनका डाँडाकाँडामा पर्यटन प्रवद्र्धनको राम्रो सम्भावना भए पनि आवश्यक पूर्वाधारको अभावमा ओझेलमा परेको उनको भनाइ छ। 

सन् १९६० को शुरुसम्म उपरदाङगढी चितवनको सदरमुकाम थियो। इतिहासमा उल्लेख गरिएअनुसार सन् १९७० सम्म सरकारी अड्डा यहीबाट सञ्चालन हुन्थ्यो। तल्कालीन बाइसे चौबिसे राज्य एकीकरणका साथै नेपाली भूमिको रक्षाका लागि अङ्ग्रेज फौजविरुद्ध युद्धका बेला सन् १८०० को सुरुतिर पृथ्वीनारायण शाहका नाति तथा बहादुर शाहका छोरा शत्रुभञ्जन शाहले उक्त गढी निर्माण गराएका थिए।

गढी वरपर कुँदिएका ढुंगाको पर्खाल छ। भित्र हतियार घर, कुँवा र दुईकोठे घर छन्। समुद्री सतहबाट एक हजार दुई सय ७५ मिटर उचाइमा रहेको उपरदाङगढीबाट सूर्योदय र सूर्यास्त सहजै अवलोकन गर्न सकिन्छ। स्थानीय बासिन्दाका अनुसार यहाँबाट अन्नपूर्ण, लाम्टाङ, इच्छाकामना, कालिका मन्दिर, देवघाट, गोरखा, तनहुँ र चितवनका ग्रामीण क्षेत्र सजिलै देखिन्छन्। यो रमणीय स्थानमा चेपाङ, मगर र गुरुङको पातलो बस्तीले घेरिएको छ। यी जातजातिको आफ्नै मौलिक परम्परा, संस्कृति र रीतिरिवाज छन्। रासस


प्रकाशित : बिहीबार , साउन ११ २०८००६:०३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend