शनिबार, असोज ५ गते २०८१    
images
images

अझै नियन्त्रणमा आएन ‘लम्पी स्किन’

images
शनिबार, साउन ६ २०८०
images
images
अझै नियन्त्रणमा आएन ‘लम्पी स्किन’

चितवनमा हालसम्म यस रोगका कारण दुई सय २९ वटा गाई मरेका छन्।

images
images

चितवन- जिल्लामा पशुचौपायमा देखिएको लम्पि स्किन रोग अझै नियन्त्रणमा आउन सकेको छैन। संक्रमणदर केही कम भए पनि नियन्त्रणमा आउन नसकेको हो। 

images
images
images

पछिल्लो समय सात पालिकामा नौ हजार पाँच सय ४१ पशु चौपाया प्रभावित भएका छन्। ती मध्ये नौ हजार दुई सय पाँच गाई र तीन सय ३६ भैँसी छन्। जिल्लामा ९३ हजार एक सय ८२ गाई र ७२ हजार नौ सय ७८ भैँसी पालिएको तथ्यांक रहेको छ। तीमध्ये छ हजार पाँच सय ३९ गाई र दुई सय ६० भैँसीमा यो रोगको संक्रमण देखिएको हो।

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र भरतपुरका अनुसार हालसम्म यस रोगका कारण दुई सय २९ वटा गाई मरेका छन्। सबैभन्दा धेरै इच्छाकामना गाउँपालिकामा गाई मरेका छन् भने कम कालिका र खैरहनी नगरपालिकामा मरेको कार्यालयका पशु विकास अधिकृत डा रामचन्द्र आचार्यले जानकारी दिए। उनका अनुसार इच्छाकामना गाउँपालिकामा ६५, भरतपुर महानगरपालिकामा ३५, राप्ती नगरपालिकामा ६२, रत्ननगर नगरपालिकामा ३५, कालिका नगरपालिकामा १०, खैरहनी नगरपालिकामा १०  र माडी नगरपालिकामा १२ वटा गाई मरेका हुन्।

जिल्लाका तीन पालिकामा पालिएका १८ हजार ४० गाईभैँसीमा रोगविरुद्धको खोप दिइएको छ। भरतपुर महानगरपालिकामा तीन हजार सात सय ९०, रत्ननगर नगरपालिकामा आठ हजार दुई सय ५० र राप्ती नगरपालिकामा छ हजार गाईभैँसीमा खोप दिइएको उनले बताए। विज्ञ केन्द्रबाट प्रभावित क्षेत्रका पाँच हजार गाईभैँसीलाई औषधि वितरण गरिएको छ। अन्य पालिकामा जैविक सुरक्षा अपनाउने र अन्य उपचारको काम भइरहेको कार्यालयले जनाएको छ।

images

पछिल्ला दिनहरुमा खोप लगाउने पशुपालक किसानको संख्या बढ्दो क्रममा रहेको उनले जानकारी दिए। जिल्लामा पालिएका पशु चौपायामा ७० प्रतिशतलाई खोप लगाए पछि मात्रै नियन्त्रण उन्मुख आउने उनले बताए। उनले भने, 'अहिले नै नियन्त्रण उन्मुख भन्न मिल्दैन', पहिलेको तुलनामा संक्रमण दर कम भए पनि रोग देखिने क्रम नरोकिएको उनले बताए।

गर्मीयाममा लामखुट्टे, झिंगालगायतका कारण यो रोगको जोसखम देखिने गरेको उनले जानकारी दिए। गाईभैँसीमा यो रोग देखापरेमा उच्च ज्वरो आउने, दानापानी कम खाने, दूध उत्पादन घटाउने, छालामा एकदेखि पाँच सेन्टिमिटरको साह्रो गोलो गिर्खा देखिने, थुतुनो, ओठ, मुख र नाकभित्र घाउ देखिने, आँखा र नाकबाट अत्यधिक मात्रामा तरल पदार्थ आउने, र्‍याल काढ्ने, लिम्फनोड सुक्नेजस्ता लक्षण देखापर्छ।

यो रोग विशेषगरी संक्रमित लामखुट्टे, झिंगालगायतको टोकाइबाट लाग्ने गर्दछ। संक्रमित गाईबस्तुको ओसारपसारबाट, सामुदायिक चरन क्षेत्र तथा दाना एवं पानी खाने ठाउँबाट, प्राकृतिक वा कृत्रिम गर्भाधानबाट यो रोग सर्ने गरेको कार्यालयले जनाएको छ। यो रोग लाग्न नदिनका लागि खोप लगाउने, विश्वसनीय स्रोतबाट गाईभैँसी खरिद गर्ने, गोठलाई झिंगा, लामखुट्टे तथा अन्य कीराबाट मुक्त राख्ने, सरसफाइमा ध्यान दिने र आवश्यकतानुसार कीट विकर्षकको प्रयोग गर्नुपर्ने पशु विकास अधिकृत आचार्यले बताए। रासस


प्रकाशित : शनिबार, साउन ६ २०८००७:०४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend