शनिबार, साउन १२ गते २०८१    
images
images
images

‘लम्पी स्किन’ ले गोरु मरेपछि किसानलाई खेत जोत्न समस्या

images
शनिबार, साउन ६ २०८०
images
images
‘लम्पी स्किन’ ले गोरु मरेपछि किसानलाई खेत जोत्न समस्या

भानु नगरपालिकाका केही ठाउँमा भने कृषकले पशुलाई यो खोप लगाउन आनाकानी गरेका छन्। अन्य पालिकामा भने खोप लगाइएको छ।

images

दमौली- तनहुँमा लम्पी स्किन रोगका कारण गोरु मरेपछि कृषकलाई खेत जोत्न समस्या भएको छ। धान रोपाइँको चटारोका बीचमा सो रोगबाट गोरु मरेपछि कृषकलाई समस्या भएको हो।

images
images

जिल्लाका दशवटै पालिकाका चार हजार एक सय ७६ पशुमा लम्पी स्किन रोग फैलिएकामा ४७ पशु मरेका छन्। यसमध्ये ४३ गोरु रहेको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहुँका प्रमुख डा बालकुमार श्रेष्ठले जानकारी दिए। उनले भने, 'खेतीपातीको समयमा गोरु मर्दा कृषकलाई खेत जोत्न समस्या भएको छ। गोरुको विकल्प ट्र्याक्टर भए पनि कतिपय किसानले ट्र्याक्टर किन्न सक्ने अवस्था छैन।'

images

उनका अनुसार लम्पी स्किन संक्रमण भएकै अवस्थामा काममा लगाउँदा त्यसैका कारण पशुको मृत्यु भएको हुन सक्ने देखिएको छ। 'लम्पी स्किन संक्रमण हुँदैमा मृत्यु हुने होइन, बिरामी भएको अवस्थामा काम गर्नुपर्दा पशुलाई गाह्रो भएर मृत्यु भएको देखिएको छ', डा श्रेष्ठले भने।

लम्पी स्किनविरुद्ध जिल्लामा दश हजार पाँच सय पशुलाई खोप लगाइसकिएको छ। स्थानीय तहको समन्वयमा लम्पी स्किन संक्रमणबाट बचाउन दश हजार पाँच सय स्वस्थ पशुलाई खोप लगाइएको श्रेष्ठले जानकारी दिए। उनले भने, 'यो खोप संक्रमित भएको पशुलाई नभई संक्रमण नभएका पशुलाई रोगबाट बचाउन लगाउने हो।'

images

सबैभन्दा बढी व्यास नगरपालिकाका पशुलाई खोप लगाइएको छ। व्यासमा तीन हजार पशुलाई खोप लगाइएको कार्यालयले जनाएको छ। खोप लगाउनका लागि स्थानीय तहले आफै खरिद गरेका थिए।

नगरपालिकाले कृषकको गोठमै पुगेर खोप लगाइदिएको नगरपालिकाका पशुपन्छी विकास उपशाखा प्रमुख डा मनोज विश्वकर्माले जानकारी दिए। पशुमा पूर्ण खोप कार्यक्रमअन्तर्गत नगरपालिकाको वडामा खोपकर्ताको रुपमा खटिएका भेटेरिनरी प्राविधिकलाई पुनः यस आकस्मिक अवस्थामा खोप लगाउन परिचालित गरिएको उनले जानकारी दिए।

उक्त रोगबाट धेरैजसो व्यास नगरपालिका-१ चारकुने, व्यास नगरपालिका-१३ बेलबास, पोखरीभज्याङ, व्यास नगरपालिका- ११ फराकचौर र व्यास नगरपालिका-७ मा गाईभैँसी संक्रमित भएका थिए।

जिल्लाको म्याग्दे गाउँपालिकाले दुई हजार गाईभैँसीलाई उक्त खोप लगाएको छ। गाउँपालिकाले सातवटै वडामा पालिएका पशुलाई खोप लगाएको पशु सेवा शाखा प्रमुख डा विनय शाहले जानकारी दिए। उनका अनुसार पहिलो चरणमा दूध उत्पादन धेरै हुने वडाका पशुलाई प्राथमिकतामा राखेर खोप लगाइएको हो।

'व्यावसायिक रुपमा गाईभैँसीपालन गरिएका र दूध उत्पादन बढी गर्ने कृषकको गोठमै पुगेर खोप लगाएका छौँ', उनले भने। पहिलो चरणमा दुई हजार खोपको मात्रा आएकाले सोहीअनुसार खोप लगाइएको र आवश्यक परे थप खोप खरिद गरिनेछ। 

भानु नगरपालिकाका केही ठाउँमा भने कृषकले पशुलाई यो खोप लगाउन आनाकानी गरेका छन्। अन्य पालिकामा भने सहजरुपमा खोप लगाइएको छ। रासस


प्रकाशित : शनिबार, साउन ६ २०८००५:२३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend