शनिबार, असोज ५ गते २०८१    
images
images

साँघुरो र जीर्ण सडकले मकवानपुरमा दुर्घटनाको जोखिम बढ्दो

images
बुधबार, साउन ३ २०८०
images
images
साँघुरो र जीर्ण सडकले मकवानपुरमा दुर्घटनाको जोखिम बढ्दो

गत आर्थिक वर्षमा मात्रै मकवानपुरका सडकखण्डमा तीन सय ६३ सवारी दुर्घटना भएका छन्। गत वर्ष जिल्लामा सवारी दुर्घटनाबाट ६१ ज्नाले ज्यान गुमाएका छन्।

images
images

मनहरी- मकवानपुरमा दैनिक रुपमा सवारी दुर्घटना बढिरहेको छ। साँघुरो बाटो र जीर्ण सडकका कारण अधिकांश दुर्घटना हुने गरेको यातयात व्यवसायीको भनाइ छ।

images
images
images

जिल्ला ट्राफिक कार्यालय मकवानपुरका अनुसार गत आर्थिक वर्षमा मात्रै मकवानपुरका सडकखण्डमा तीन सय ६३ सवारी दुर्घटना भएका छन्। गत वर्ष जिल्लामा सवारी दुर्घटनाबाट ६१ जनाले ज्यान गुमाएका छन्। एक सय ८७ मोटरसाइकल, जीप/कार ५१, ट्र्याक्टर ४८, यात्रुवाह बस ३३, टेम्पो १६, टिपर, माइक्रो, साना सवारी साधनलगायत २८ वटा गरी तीन सय ८७ सवारी साधन दुर्घटनामा परेका जिल्ला ट्राफिक प्रमुख प्रहरी निरीक्षक वसन्त आचार्यले जानकारी दिए।

उनका अनुसार सवारीसाधन दुर्घटनामा परी दुईसय पाँचजना गम्भीर घाइते भएका छन् भने तीन सय ६५ जना सामान्य घाइते भएका छन्। गत आवमा सवारी दुर्घटना परेर दुई करोड ५७ लाख ७६ हजार रूपैयाँ बराबर सवारी साधनको क्षति भएको प्रमुख आचार्यले बताए। दुर्घटना हुने सवारीको स्थिति हेर्दा तीव्र गतिमा एक सय ४१ सवारीसाधन, यान्त्रिक गडबडमा ५० सवारी साधन, चालकको लापरबाहीबाट १४ सवारी साधन, ओभरटेक गर्ने आठ सवारी साधन र मापसेबाट १२ सवारी साधन दुर्घटना भएको उनको भनाइ थियो।

जिल्ला ट्राफिक कार्यालय मकवानपुरका अनुसार चालकको लापरबाही, ओभरटेक, तीव्र गति, मोबाइल फोन तथा सवारीको यान्त्रिक गडबडीले गर्दा दुर्घटना बढेको बताइएको छ।

images

पूर्व-पश्चिम राजमार्गअन्तर्गत हेटौँडा उपमहानगरपालिका र मनहरि गाउँपालिकासँग जोडिएको यस सडकखण्डमा मात्र गत आवमा ९० वटा सवारी दुर्घटनामा १८ जनाले ज्यान गुमाएका थिए भने दुई सय ९० जना घाइते भएका छन्।

पूर्व-पश्चिम राजमार्गको हेटौँडा खण्ड साँघुरो र जीर्ण सडकले दुर्घटनाको जोखिम बढेको छ। राजमार्गअन्तर्गत हेटौँडा उपमहानगरपालिका र मनहरि गाउँपालिका पर्दछन्। सडकखण्डको करिब २५ किलोमिटर क्षेत्र हेटौँडामा पर्दछ भने १५ किलोमिटर मनहरि गाउँपालिकाभित्र पर्दछ। दक्षिण तर्फबाट बाराको अम्लेखगञ्ज हुँदै हेटौँडा-१५ चुरियामाईबाट यो सडक मकवानपुर प्रवेश गर्दछ भने पश्चिमतर्फबाट लोथर पुलसम्म पुगेर सिमा समाप्त हुन्छ। लोथर पुल कटेर पूर्व-पश्चिम राजमार्ग सडक चितवन प्रवेश गर्दछ। मकवानपुरतर्फ भने सडक साँघुरो अवस्थामा रहेको र हालसम्म विस्तार हुन सकेको छैन।

दैनिक हजारौँ सवारीसाधन र बढ्दो जनसङ्ख्याको चापका कारण हेटौँडा बजार अव्यवस्थित बनेको स्थानीय बताउँछन्। करिब दश वर्षदेखि मालबहाक सवारी चलाउँदै आएका हेटौँडा-६ का कमल काफ्लेले साँघुरो सडकका कारण सवारी दर्घटना बढेको बताए। निर्वाधरुपमा चल्ने भारतीय सवारी साधनका कारण पनि जोखिम बढिरहेको उनको भनाइ थियो।

राजमार्गमा जथाभावी रुपमा चलेका साना सवारी अटोरिक्सा तथा मयुरीका कारण सवारी चाप बढ्दा दुर्घटनाको जोखिम बढ्दो अवस्थामा रहेको काफ्लेले बताए। ओभरटेक, तिव्रगतिलगायत दुर्घटनाका प्रमुख कारण रहेको उनको भनाइ थियो।

पूर्वतर्फ भारतीय नाकाबाट आयात हुने सामग्री क्षमता भन्दा बढी लोड गरी सवारी साधनमा ढुवानी गर्दा सडक जीर्ण बन्दै गएको हेटौँडा उपमहानगरपाीलकाका उपप्रमुख राजेश बानियाँले बताए। यस सडक भएर सञ्चालन हुने अधिकांश सवारी साधनले उच्च भार बोक्ने गर्नाले पनि सडकको एकतर्फी भाग दबिएर गएको उनले जानकारी दिए।

हेटौँडा-१५ रातोमाटदेखि बजार क्षेत्र एचआईडी, थानाभर्‍याङ, बस्तीपुर क्षेत्रमा अव्यवस्थीत रुपमा ठूला सवारी जथाभावी रुपमा पार्किङ गर्ने गरिएकाले पनि दुर्घटनाको जोखिम बढेको बानियाँले बताए। 'मुख्यगरी सडक नै साँघुरो भएकाले उपमहानगरले दायाँबायाँ २५-२५ मिटर विस्तार तयारी गरिएको छ', उनले भने।

सडकखण्डमा अधिकांश दुर्घटना मुख्य बजार क्षेत्रभन्दा बाहिर हुने गरेको प्रहरीले जनाएको छ। यस खण्डअन्तर्गत पर्ने हेटौँडा बजार क्षेत्रमा गत आवमा सवारी दुर्घटनामा परी एक जनाले ज्यान गुमाएका थिए भने ३९ जना घाइते भएको प्रहरीको तथ्यांकमा उल्लेख गरिएको छ। सो अवधिमा हेटौँडा बजार क्षेत्रमा २८ वटा सवारी दुर्घटना भएका थिए।

यस्तै धरान-चतरा सडक खण्डअन्तर्गत ५२ सवारी दुर्घटना भएकामा १५ जनाले ज्यान गुमाएका छन भने एक सय पाँचजना घाइते भएका थिए। यस सडकखण्ड अन्तर्गत हेटौँडा उपमहानगरपालिका, बकैया गाउँपालिका र बागमती गाउँपालिका पर्दछन्। 

त्यस्तै, कान्तिराजपथ राजमार्गअन्तर्गत गत आर्थिक वर्षमा नौ वटा सवारी दुर्घटना भएकामा एक जनाको ज्यान गएको र १९ जना घाइते भएका तथ्यांक छ। यस सडकखण्डअन्तर्गत भीमफेदी, मकवानपुरगढी, बकैया गाउँपालिका पर्दछन्।

भीमफेदी-पालुङ सडकखण्ड पनि जोखिम क्षेत्र अन्तर्गत पर्ने देखिएको छ। यस क्षेत्रमा गत आवमा १९ सवारी दुर्घटना भएका छन्। जसमा तीन जनाले ज्यान गुमाएका थिए भने ४९ जना घाइते भएका तथ्यांक छ। भैँसे-सिस्नेरी सडकखण्डअन्तर्गत गत आवमा १७ वटा सवारी दुर्घटनामा नौ जनाको ज्यान गएको छ, भने ६६ जना घाइते भएका थिए।

भैँसे-फाखेल सडकअन्तर्गत गत आवमा नौ वटा सवारी दुर्घटनामा तीन जनाले ज्यान गुमाएका थिए भने ३५ जना घाइते भएका थिए। योसँगै बाहिरी सडकखण्ड विभिन्न गाउँपालिकामा १७ वटा सवारी दुर्घटनामा सात जनाले ज्यान गुमाए भने २४ जना घाइते भएका थिए। रासस


प्रकाशित : बुधबार, साउन ३ २०८०११:०३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend