भादगाउँ- भक्तपुर नगरपालिका-१ की राधा श्रेष्ठले दुवै हातका पाखुराभरि हरियो, रातो, पहेँलो चुरा र घाँटीमा रातो, पहेँलो, हरियो मिश्रित पोते लगाएकी छिन्। दुवै हत्केलामा मेहेन्दी लगाएकी र रातो, पहेँलो सारीमा सजिएकी उनको साथी सीताको पनि दुवै हातमा हरियो चुरा, गलामा पहेँलो र हरियो मिश्रित पोतेका साथै हत्केला र खुट्टा बुट्टेदार मेहेन्दीले भरिएको छ।
साउन महिनामा विवाहित नारीले हरियो, पहेँलो र रातो रंगका पहिरन, पोते, चुरा र हातमा मेहेन्दी लगाई सोमबार शिवजीको आराधना गरी व्रत बसे श्रीमानको आयु लामो हुनाका साथै आफू पनि सौभाग्यवती होइन्छ भन्ने विश्वासले यस्तो चलन बढ्दै आएको छ। खस आर्य समुदायका महिलाबाट सुरु भएको यो चलन अहिले स्थानीय नेवार समुदायका महिलामा समेत फैलिएको छ। यससँगै श्रृंगार सामग्रीको व्यापार गर्ने कस्मेटिक व्यवसायीको व्यापार पनि निकै बढेको छ। हिन्दू परम्पराअनुसार साउन १ गते सङ्क्रान्तिका दिन लुतो फालिन्छ। तर पछिल्लो समय लुतो फाल्ने परम्परा हराउँदै गएको छ भने रातो, हरियो, पहेँलो चुरा र मेहेन्दी लगाउने प्रलचन भने बढेको छ।
साथीसंगीका हातमा चुरा र मेहेन्दी देखेपछि रहरले अरुले रंगीन चुरापोते र मेहेन्दी लगाउने गरेको आहा कलेक्सनका हाकुलाल मानन्धरले बताए। अन्य महिनाभन्दा साउनमा चुरा, पोते र मेहेन्दीको व्यापार तेबर बढ्ने गरेको उनको भनाइ थियो। 'अहिले त झन् फेन्सी डिजाइनको रंगीन चुरा र पोते आएको छ, राख्न नपाउँदै बिक्री भइहाल्छ,' मानन्धरले भने।
पछिल्लो समय साउन महिनामा विवाहित होस् या अविवाहित महिलामध्ये श्रृंगार पटार गरी हातमा हरियो चुरा हत्केलामा र खुट्टामा मेहेन्दीले सजिएर हिँड्नेहरुको कमी छैन। सबै देवीदेवतालाई मनपर्ने भएकाले साउन महिनाभर महिलाहरु रंगीन श्रृंगार गरेर बस्ने कस्मेटिक पसलकी कृषा श्रेष्ठले बताइन्।
'साउन महिना प्राकृतिक रुपमा हरियो महिना हो। जता गए नि हरियाली नै हरियाली देखिन्छ। यो बेला आफूहरू प्रकृतिसँग जोडिएको हिस्साका रुपमा हरियो चुरासँगै रंगीन श्रृंगार पटार गर्ने परम्परा बसालिएको हो,' उनले भनिन्, 'साउन महिना धार्मिक, सांस्कृतिक र प्राकृतिक दृष्टिकोणले अत्यन्त महत्वपूर्ण मानिनाका साथै हरियो रंग प्रेम र वातावरणको प्रतीक पनि मानिन्छ।'
साउनको सोमबार व्रत बस्ने गरिएकाले पनि रंगीन पहिरनसँगै बजारमा हरियो चुरा, मेहेन्दी र पोतेको व्यापार बढेको श्रेष्ठले बताइन्। स्थानीय श्रृंगार कस्मेटिक पसलकी कृषाले साउन महिनामा अरू महिनाभन्दा दोबर तेब्बरै नै व्यापार हुने उनको भनाइ छ। 'यो महिना महिलाहरुले आफू सुन्दर बन्न कुनै पनि सामान किन्न कन्जुस्याइँ गर्दैन जति भन्यो त्यति नै तिरेर सामान लान्छन्। अझ फेन्सी प्रकारको नयाँ के समान आएको छ, त्यसको माग गर्छन्,' उनले भनिन्।
दैनिक १५ हजारदेखि २० हजार रूपैयाँसम्मको श्रृंगारका सामग्री बेच्ने कस्मेटिक पसलमा साउनमा मेहेन्दी, पोते र चुरामात्र दैनिक ३५ हजारदेखि ७० हजार रूपैयाँसम्म व्यापार हुने व्यापारीहरु बताउँछन्। पछिल्लो समय साउनमा हरियो चुरा र मेहेन्दी लगाउने एउटा परम्परा जस्तै बनिसकेकाले हिन्दू महिला मात्र होइन अन्य जातजाति, समूहका महिलासमेत यस परम्परामा जोडिएका छन्। हिन्दू धर्मावलम्बीले भगवान् शिवको पूजाआराधना गरी व्रत बस्ने परम्परा भएकाले साउनलाई धर्म र संस्कृतिको पवित्र महिनाका रूपमा लिइने संस्कृतिकर्मीहरुको भनाइ थियो। रासस