आइतबार, जेठ ६ गते २०८१    
images
images

हतुवागढीमा पदमार्ग निर्माण गरिँदै, लागत एक करोड ३४ लाख

images
बुधबार, साउन ३ २०८०
images
images
हतुवागढीमा पदमार्ग निर्माण गरिँदै, लागत एक करोड ३४ लाख

शङ्खामचुली डाँडाको उचाइ  समुद्री सतहबाट एक हजार आठ सय ६५ मिटर उचाइमा रहेको  छ। पदमार्ग निर्माणले यहाँको पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने स्थानीयवासीको विश्वास छ। पदमार्ग निर्माणपछि यहाँ आउने पर्यटकको संख्यामा समेत वृद्धि भएको उनीहरुको भनाइ छ।

images
images

भोजपुर- भोजपुरको हतुवागढी गाउँपालिकाले जोर आहाल, शङ्खामचुली र दिमालुङमा पदमार्ग निर्माण गरिँदै छ। प्राकृतिकरुपमा मनोरम ऐतिहासिक हतुवा क्षेत्रलाई समेटेर पदमार्ग निर्माण गर्न लागिएको हो।

images
images
images

एक करोड ३४ लाख रूपैयाँ लागतमा पदमार्ग निर्माण भइरहेको गाउँपालिकाले जनाएको छ। यसलाई मुख्य पर्यटन क्षेत्रको रुपमा स्थापित गराउने लक्ष्यका साथ निर्माण थालिएको गाउँपालिकाको भनाइ छ। आन्तरिक तथा बाह्य पर्यटनको आवागमन बढाएर आर्थिक स्रोतको रुपमा जोड्न यहाँ पदमार्ग निर्माण गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकत महेश निरौलाले जानकारी दिए। यो आर्थिक वर्षमा यो पदमार्गको थप विकास तथा विस्तारको लागि गाउँपालिका र केन्द्र सरकारको साझेदारीमा एक करोड ५० लाख रूपैयाँ बजेट विनियोजन भएको उनको भनाइ छ। 

images

'गाउँपालिकाको मुख्य पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न पदमार्ग निर्माण गरिरहेका छौँ', प्रमुख प्रशासकीय अधिकृत निरौलाले भने, 'हालसम्म करिब छ किलोमिटर निर्माण अन्तिम चरणमा रहेको छ। यसको थप विस्तार तथा विकासको लागि बजेट विनियोजन गरेका छौँ। यसलाई गाउँपालिकाको मुख्य पर्यटकीय गन्तव्य बनाउने हाम्रो लक्ष्य छ।'

images
images

पदमार्गलाई गाउँपालिकाले गौरवको आयोजनामा राखेको गाउँपालिका अध्यक्ष प्रेमकुमार राईले बताए। हतुवागढी भविष्यभक्ता पोखरीलाई आधार मानेर पदमार्ग निर्माण भइरहेको उनको भनाइ छ। दूधकोशी चुहारमा पक्की पुल बनेपछि धरान, इटहरी विराटनगरबाट ६५ किलोमिटर दुरीमा घोडेटार रहेकाले यहाँ आउने पर्यटकको आवगमन बढ्ने उनले जानकारी दिए। 'यो पदमार्गलाई हामीले गाउँपालिकाको गौरवको आयोजनाभित्र राखेका छौँ', उनले भने, 'चुहारमा पक्की पुल बनेपछि यो क्षेत्र तराईका जिल्लाबाट ६५ किलोमिटर मात्र छ। भविष्यमा आन्तरिक तथा बाह्य पर्यटनको विकासमा महत्वपूर्ण भूमिका खेल्ने छ।'

images
images

हरियालीसँगै फाटिला पहाडका चौरले पर्यटकको मन लोभ्याउने गरेको छ। दक्षिणी क्षेत्रबाट तराई जिल्लाबाट नजिक पर्ने भएकाले दूधकोशी नदीमा पक्की निर्माणपछि यहाँ पर्यटकको संख्या अझ बढ्ने गाउँपालिकाको भनाइ छ। यहाँ आउने पयर्टकलाई प्राकृतिक दृश्यको अवलोकन गर्दै एकदेखि दुई दिन पूर्णरुपमा बिताउन सक्ने गरी पदमार्गलाई विस्तार गरिने गाउँपालिका अध्यक्ष राईले जानकारी दिए। किरात राजाहरुले शासन गरेको ऐतिहासिक क्षेत्रमा रहेको यो पदमार्गमार्फत यहाँको विकासमा थप टेवा पुग्ने उनको भनाइ छ। हतुवा क्षेत्रका सम्पूर्ण धार्मिक, पर्यटकीय तथा ऐतिहासिक क्षेत्रलाई समेट्ने गरी योजनाबद्ध विकासमा ध्यान दिएको अध्यक्ष राईको भनाइ छ।

'हतुवागढी आफैमा एक ऐतिहासिक क्षेत्र हो', उनले भने, 'यहाँको छुट्टै विशेषता छ। हामीले यो पदमार्गसँगै यहाँका ऐतिहासिक क्षेत्रको विकासमा ध्यान दिएका छौँ। यसलाई पर्यटकीय क्षेत्र बनाएर गाउँपालिकाको आर्थिक पक्षमा जोड्न लागि परेका छौँ।' यो पदमार्गलाई एक ऐतिहासिक पदमार्गको रुपमा विस्तार गर्ने लक्ष्य लिइएको छ। घोडेटार बजार क्षेत्रबाट नजिक रहेको मदमार्गमा घुम्न आउने आन्तरिक पर्यटकको संख्यासमेत बढेको छ। आउने पर्यटकलाई लक्षित गरेर गाउँपालिकाले होमस्टे सञ्चालन गर्ने अध्यक्ष राईको भनाइ छ। 

प्राकृतिक सुन्दरताले भरिपूर्ण रहेको यो पदमार्ग प्रचारप्रसारको अभावमा ओझेलमा परेको गाउँपालिका उपाध्यक्ष सुनिता किरातीले बताए। पदमार्गसँगै हतुवा क्षेत्रको ऐतिहासिक महत्वलाई विश्वभर चिनाएर पदमार्गलाई गाउँपालिकाको आर्थिक स्रोतको रुपमा स्थापित गराउने लक्ष्य रहेको उनको भनाइ छ।

हतुवागढीको सबैभन्दा अग्लो शङ्खामचुली डाँडा हुँदै पदमार्ग निर्माण भइरहेको यो पदमार्गबाट तराईका फाँटसँगै विभिन्न हिमशृंखलासँगै सगरमाथा पनि देख्न सकिने स्थानीयको भनाइ छ। शङ्खामचुली डाँडाको उचाइ  समुद्री सतहबाट एक हजार आठ सय ६५ मिटर उचाइमा रहेको  छ। पदमार्ग निर्माणले यहाँको पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने स्थानीयवासी प्रकाश बस्नेतले बताए। पदमार्ग निर्माणपछि यहाँ आउने पर्यटकको संख्यामा समेत वृद्धि भएको उनको भनाइ छ। रासस


प्रकाशित : बुधबार, साउन ३ २०८००५:१२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend