आइतबार, जेठ २५ गते २०८२    
आइतबार, जेठ २५ २०८२
images
images

खुदोले चिनिएको गाउँ ढोडबेँसी र मालेपाटन : उखुखेतीसँगै पशुपालनमा पनि किसानको आकर्षण

images
मंगलबार, साउन २ २०८०
images
images
खुदोले चिनिएको गाउँ ढोडबेँसी र मालेपाटन : उखुखेतीसँगै पशुपालनमा पनि किसानको आकर्षण

ढोडबेँसी र मालेपाटनमा उत्पादित खुदो पोखरा बजारमा प्रख्यात छ। यतिबेला ढोडबेँसीमा तीन सय र मालेपाटनमा एकसय रोपनी जमिनमा उखु खेती गरिँदै आएको छ। उखु खेती प्रतिवर्ष घट्दो क्रममा छ। यहाँका ७० भन्दा बढी किसान व्यावसायिक उखु खेतीमा लागेका छन्।

images
images

लेखनाथ- पोखरा-३२ मालेपाटन निवासी ७५ वर्षीय लालकान्त अधिकारीले उखु खेती गर्न थालेको ५० वर्ष पुगिसक्यो, बाबुबाजेका पालादेखि अँगाल्दै आएको उखु खेती उमेरले नेटो काटिसक्दा पनि उनले छाड्न सकेका छैनन्।

images
images
images

‘चार छोरा, बुहारी र नातिनातिनी छन् तर उनीहरु उखु खेती गर्दैनन्, उखु खेती गर्न दुःख छ, दुईपटक त गोडमेल नै गर्नुपर्छ, रोगका किराबाट जोगाउनुपर्छ, उत्पादन हुन कम्तीमा १० महिना कुर्नुपर्छ, तर आम्दानी भने धानभन्दा दोबर हुन्छ, कृषक अधिकारीले भने, 'अघिल्लो वर्ष चार रोपनीमा लगाएको उखु र खुदो बिक्रीबाट साढे दुई लाख रूपैयाँ आम्दानी गरेँ।'

images
images

'पुरानो जमाना त्यतिबेला पैसा देख्न पाइँदैन्थ्यो, खेतमा सिँचाइ पनि थिएन, पुर्खाहरुले धानको विकल्पमा उखु खेती गर्दै आएका रहेछन्, वर्षभरि उखु खेती गरी उत्पादन गरेको खुदो बिक्रीबाट छोराछोरीको शिक्षादीक्षा, पालनपोषण र वर्षभरि लागेको ऋण तिर्ने गरेको इतिहास पोखरा-३२ को मालेपाटन र ढोडबेँसीले बोकेका छन्', अधिकारीले भने, 'युवापुस्ता उखु खेतीभन्दा पनि विदेश जान रुचाउने गर्छन्।'

images
images
images

ढोडबेँसी र मालेपाटनमा उत्पादित खुदो पोखरा बजारमा प्रख्यात छ, पुस १५ र माघे सङ्क्रान्तिमा घरबाट खुदो खोसाखोस हुने गरेको उखु किसान यज्ञप्रसाद अधिकारीको भनाइ थियो। विगतका दिनहरुमा खुदो बिक्रीका लागि गाग्री र टिनहरुमा बोकेर पोखरा बजार जानुपर्थ्यो तर १५ वर्षयता  गाउँबाट नै बिक्री हुने गरेको छ, बाँकी रहेको खुदो स्थानीय मालेपाटन कृषि सहकारी संस्थाले  प्रशोधन गरी बिक्रीका लागि बजारमा लाने गरेको छ।

यतिबेला ढोडबेँसीमा तीन सय र मालेपाटनमा एकसय रोपनी जमिनमा उखु खेती गरिँदै आएको छ। उखु खेती प्रतिवर्ष घट्दो क्रममा छ। यहाँका ७० भन्दा बढी किसान व्यावसायिक उखु खेतीमा लागेका छन्। पोखरा महानगरपालिकाको यस वर्ष एक वडा एक पकेट क्षेत्र कार्यक्रमअन्तर्गत पोखरा-३२ को ढोडबेँसी र मालेपाटनलाई उखु पकेट क्षेत्र घोषणा गरी कृषि अनुदान सहयोग सुरु गरेको छ। चार सय रोपनी जमिनमा लगाइएको उखुबाट वार्षिक दुई करोड रूपैयाँको खुदो उत्पादन हुने गरेको किसान पद्मराज तिवारीले सुनाए।

उखु खेतीसँगै उनीहरुले पशुपालनसमेत अगाडि बढाएका छन्। कास्कीमा व्यावसायिक रूपमा उखु खेती गरिने एकमात्र ठाउँ भनेकै ढोडबेँसी र मालेपाटनलाई  मानिँदै आइएको छ। स्थानीय किसान मोहन धमालाले भने, 'चैत, बैशाखदेखि उखु खेतीको तयारी सुरु गरी पुसमाघसम्म बाली भित्र्याउँछौ।'

उखुलाई अन्य बालीमा जस्तो पर्याप्त सिँचाइको आवश्यकता पर्दैन। खेतीयोग्य फाँट भए पनि ढोडबेँसीमा सिँचाइ सुविधा छैन। तराईमा उखुबाट चिनी वा सक्खर बनाइन्छ। पहाडमा भने उखुबाट खुदो नै बनाइन्छ। उखुका लाक्रा पनि बिक्छन्। पहाडमा चाम्रे बनाउँदा पनि खुदो हाल्ने चलन छ। कोदाको ढिँडोलाई खुदोमा डुबाएर खाने पनि गरिन्छ।

उखुको पकेट क्षेत्र घोषणा गर्दै पोखरा महानगरपालिकाले उखु किसानलाई प्रोत्साहन, रोग तथा किरा नियन्त्रण र प्याकेजिङका लागि गत सोमबार १० लाख २० हजार रूपैयाँ प्रदान गरेको थियो। महानगरपालिकाको कृषि तथा पशु विकास महाशाखाका प्रमुख मनोहर कडरियाले उनीहरुलाई उक्त सहयोग रकम हस्तान्तरण गरेका हुन्। उनले उखुसँगै कागती उत्पादनमा पनि उपयुक्त जमिन रहेको जानकारी दिँदै कागती खेतीमा समेत लाग्न किसानलाई सुझाव दिए। 'उखुको पात र बारीमा उम्रिएका घाँस तह लगाउन पनि गाईभैँसी पाल्नुपर्ने रहेछ, स्थानीय कृषक लीलादेवी धमलाले भनिन्, 'उखुबारी भित्रै पनि घाँस खेती गर्न सकिने भएकाले उखु र पशुपालन एकअर्काका सहायक भएका हुन्।'

बाँदर, दुम्सीलगायत जंगली जनावरबाट उखुखेती जोगाउनुपर्ने भएकाले किसानलाई हैरानी भएको कृषक धमलाले सुनाइन्। यहाँका किसानले बाँसकडा, जीतपुर, ग्यामरालगायत स्थानमा उखु उत्पादन गर्दै आएका छन्। पोखरा-३२ का वडासदस्य तीर्थराज ओझाले पकेट क्षेत्र घोषणासँगै रोजगारीका लागि विदेश पुगेका युवालाई पनि उखुखेतीतर्फ आकर्षण गर्नुपर्नेमा जोड दिए। रासस


प्रकाशित : मंगलबार, साउन २ २०८००८:१८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend