शनिबार, असोज ५ गते २०८१    
images
images

किसानको उत्पादन, सहकारीको बजारीकरण

images
सोमबार, साउन १ २०८०
images
images
किसानको उत्पादन, सहकारीको बजारीकरण

सहकारीले महिला किसानसँग बढी कारोबार गर्नुका साथै कृषिउपजका लागिसमेत ऋण लगानी गर्दै आएको छ।

images
images

गलकोट- विसं २०६४ मा गलकोट सदरमुकामको हटिया बजारस्थित शिवालयको चौरबाट सुरु भएको गौमुखी कृषि विकास सहकारी अहिले गलकोटकै अब्बल सहकारीमा गनिन्छ। सहकारीको लक्ष्य, मूल्य र मान्यताबाट परिचालित गौमुखी सहकारी अहिले आफ्नै सुविधासम्पन्न भवन, आफ्नै कृषि फार्म र आफ्नै हाटबजार छ।

images
images
images

सहकारीमार्फत कृषिउपजको बजारीकरणका लागि सहकारीले आफ्नै सवारीसाधनसमेत खरिद गरेको छ। बचत तथा ऋण कारोबार, रेमिट्यान्टस, गौमुखी कृषि फर्म, कृषिउपजको बजारीकरण गर्दै आएको सहकारीले किसानको कृषिउपजलाई बजारीकरणको ग्यारेन्टी गर्ने उद्देश्य कृषि हाटबजार सञ्चालनको अन्तिम तयारीमा जुटेको छ।

गलकोट नगरपालिका-३ सिमखेतमा हालै आफ्नै भवनबाट सञ्चालित गौमुखी कृषि विकास सहकारीले चार रोपनी जग्गा भाडामा लिएर २०७४ सालदेखि व्यावसायिक तरकारी खेती गर्दै गौमुखी कृषि विकास सहकारीका अध्यक्ष शिवकुमारी खत्रीले बताइन्।

'विसं २०६४ मा शिवालयको चौरमा झोलामा बचत संकलन गरेर सुरु गरेको सहकारीको आफ्नै घर, कृषि फार्म, हाटबजार र कृषिउपजको बजारीकरण गर्ने आफ्नै सवारीसाधन छ', उनले भनिन्, 'निकै संघर्ष र मेहनतका कारण कृषि सहकारी यो अवस्थामा आइपुगेको छ, किसानले उत्पादन गरेको कृषिउपज हाटबजारमा बिक्री गर्ने लक्ष्य लिएका छौँ, हाट बजारमा बिक्री नभएको कृषिउपज सहकारीले खरिद गरेर बजारीकरण गर्छ, कृषिउपजको बजारको ग्यारेन्टी गरेपछि गलकोटका किसान उत्साहित भएका छन्।'

images

अहिले गौमुखी कृषि विकास सहकारीको गलकोट नगरपालिका-६ किम्बोटमा चार रोपनी जग्गामा व्यावसायिक तरकारी खेती छ। तरकारी खेतीका लागि पाँच अत्याधुनिक हाइटेक प्रविधिका प्लाष्टिक टर्नेल स्थापना गरिएको अध्यक्ष खत्रीको भनाइ छ। टर्नेलमा गोलभेँडा, काउली, बन्दा, साग, बोडी, सिमीलगायत मौसमी तथा बेमौसमी तरकारी खेती गरिँदै आएको छ। गत वर्ष मात्रै सहकारीले आफ्नो फार्ममा उत्पादन गरेको तरकारी बिक्रीबापत सात लाख रूपैयाँ आम्दानी गरेको थियो।

सहकारीले गौमुखी कृषि फार्म सञ्चालनका लागि जग्गा भाडामा लिएको छ। उक्त जग्गाको वार्षिक ३६ हजार भाडा तिरेर तरकारी खेती गर्दै आएको गौमुखी कृषि विकास सहकारीले जनाएको छ।

सहकारीको कृषिउपजलाई बजारको ग्यारेन्टी गर्ने मुख्य लक्ष्य रहेको भए पनि बचत तथा ऋण र विप्रेषणको समेत कारोबार गर्दै आएको सहकारीका प्रबन्धक खिमबहादुर सहानीले बताए। उनका अनुसार सहकारीले महिला किसानसँग बढी कारोबार गर्नुका साथै कृषिउपजका लागिसमेत ऋण लगानी गर्दै आएको छ। सहकारीले एक करोड ५० लाख रूपैयाँ लगानीमा हटियाको सिमखेतमा सहकारीका नाममा जग्गा खरिद गरेर दुईतले पक्की भवन निर्माण गरेको छ। दश कर्मचारी रहेको सहकारीमा कृषिउपज संकलन कक्ष र बजारीकरणका लागि यातयातकोसमेत सुविधा छ।

'महिलाले नेतृत्व गरेको सहकारीमा ७० प्रतिशत महिला सहभागिता छ, सहकारीमा एक हजार आठ सय शेयर सदस्य छन्', उनले भने, 'कृषिउपजको बजारीकरणको जिम्मा लिन थालेका छौँ, यो महिनादेखि कृषि हाट बजारको सञ्चालन गछौँ, भाडाको जग्गामा १३ सटर बनाएर हाट बजार सञ्चालन गर्ने तयारी छ, हाट बजारमा किसानले कृषिउपजको बजारीकरण गर्नेछन् बिक्री नभएको कृषिउपज सहकारीले खरिद गर्नेछ।'

सहकारीमा हाल एक करोड ९८ लाख रूपैयाँ सेयरपुँजी छ भने सहुलियत ब्याजदरमा किसानलाई ऋण लगानी गरिँदै आएको छ। सहकारीले हाल १७ करोड रूपैयाँको वार्षिक कारोबार गर्दै आएको छ। हटिया बजारको शिवालय चौरमा बसेर महिनाको तीन दिन कारोबार गर्ने सहकारीले अहिले कृषिउपजको संकलन र बजारीकरणमा जिल्लाकै अब्बल सहकारीकारुपमा मान्यता पाएको छ। सहकारीले कृषि क्षेत्रको उत्पादन बढाउन प्रत्यक्ष अप्रत्यक्षरुपमा किसानलाई सहयोग गर्दै आएको छ। रासस


प्रकाशित : सोमबार, साउन १ २०८०१०:१५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend