शनिबार, असोज ५ गते २०८१    
images
images
आर्थिक वर्ष २०७९/०८०

आर्थि‍क मन्दीको असर लगानीमा : १ खर्ब २५ अर्बले घट्यो उद्योगमा लगानी प्रतिबद्धता, कुन क्षेत्रमा कति?

images
आइतबार, असार ३१ २०८०
images
images
आर्थि‍क मन्दीको असर लगानीमा : १ खर्ब २५ अर्बले घट्यो उद्योगमा लगानी प्रतिबद्धता, कुन क्षेत्रमा कति?

उद्योग विभागको तथ्यांकअनुसार चालु आर्थिक वर्ष २०७९/०८० मा ३ सय २३ वटा उद्योग दर्ता भएका छन्। गत वर्ष  भने ३ सय ८ वटा उद्योग दर्ता भएका थिए। उद्योग दर्ताको संख्या बढेपनि लगानी प्रतिवद्धता रकममा भने ठूलो गिरावट आएको छ।

images
images

काठमाडौं- कमजोर आर्थिक गतिविधिको चौतर्फी असर देखिन थालेको छ। कोभिडको समययता बजारमा घटेको माग र त्यसैका कारणले समग्र अर्थतन्त्रमा आएको शिथिलताको मार अर्थतन्त्रका प्राय: सबै क्षेत्रमा देखिन थालेको छ। अर्थतन्त्रमा देखिएको मन्दी, उच्च मूल्यवृद्धि तथा महँगो पुँजीका कारण लगानीकर्तामा पनि उत्साह हराउँदै गएको देखिन्छ।

images
images
images

स्वदेशी तथा विदेशी लगानीकर्ताको आत्मविश्वास खस्कँदै गएको तथ्यांकले देखाएको छ। भएकै उद्योग व्यवसाय राम्रोसँग नचलिरहेको समयमा नयाँ उद्योग व्यवसायको योजना उद्योगी व्यवसायीले पछि सारिरहेका छन्। यसको प्रभाव नयाँ उद्योगमा आइरहेको लगानी प्रतिबद्धतामा देखिन्छ।

उद्योग विभागको तथ्यांकअनुसार चालु आर्थिक वर्ष २०७९/०८० मा ३ सय २३ वटा उद्योग दर्ता भएका छन्। गत वर्ष भने ३ सय ८ वटा उद्योग दर्ता भएका थिए। उद्योग दर्ताको संख्या बढेपनि लगानी प्रतिबद्धता रकममा भने ठूलो गिरावट आएको छ।

कोरोना महामारीको गहिरो प्रभावबाट माथि नउठेको गत वर्षको तुलनामा यो वर्ष व्यवसायीको आत्मविश्वास झन् खस्किएको यो तथ्यांकले देखाएको छ। उद्योग दर्ताको संख्यामात्र होइन उद्योगको आकार वा उनीहरूले गर्नसक्ने लगानी सक्षमता पनि यो अवधिमा घटेको छ। 

images

उद्योग विभागका अनुसार चालु आवमा दर्ता भएका उद्योगले २ खर्ब १४ अर्ब लगानी गर्नसक्ने प्रतिबद्धता गरेका छन्। लगानीको प्रतिबद्धताको ठूलो हिस्सा जलविद्युत् क्षेत्रमा छ। जलविद्युतमा १ खर्ब १२ अर्बको लगानी प्रतिबद्धता आएको छ। तर समग्रमा चालु आवमा उद्योगमा आएको लगानी प्रतिबद्धता १ खर्ब २५ अर्बले कमी हो। 

चालु आवमा ३ सय ८ उद्योगमा ३ अर्ब ३९ अर्बको लगानी प्रतिबद्धता आएको थियो। हरेक क्षेत्रमा बजारमा माग घट्दा त्यसको प्रभाव भएकै व्यवसाय सञ्चालनमा परेको छ। यस्तोमा नयाँ उद्योग व्यवसायको सुरुवात कठिन हुन्छ। 

राष्ट्रिय तथ्यांक कार्यालयको तथ्यांकअनुसार पनि अर्थतन्त्रमा चरम शिथिलता रहेको देखाएको छ भने नेपाल राष्ट्र बैंकले क्षेत्रगत मन्दी देखिएको स्वीकार गरेको छ। तथ्यांक कार्यालयको तथ्यांकअनुसार मुख्य क्षेत्र पछिल्ला दुई त्रैमासदेखि ऋणात्मक भइरहेका छन्। निर्माण, उत्पादनमूलक उद्योग, खानी तथा थोक र खुद्रा व्यापारको क्षेत्रमा मन्दी देखिन थालेको छ। 

आर्थिक मन्दीको असर समग्र लगानी तथा नयाँ उद्योग व्यवसायको सुरुवातमा पनि देखिएको छ। नयाँ उद्योग व्यवसायमा ऋण माग गर्दै बैंकमा पछिल्लो समय प्रस्ताव पुग्नै छाडेको बैंकहरूले उल्लेख गरेका छन्। भएकै ऋणको भुक्तानी कसरी तिर्ने भन्नेमै उद्योगी व्यवसायीको दबाब भएकाले नयाँमा खासै उत्साह देखिएको छैन। 

चालु आवमा उद्योगमा आएको क्षेत्रगत लगानी प्रतिबद्धता

चालु आवको ३ सय २३ उद्योगमा लगानी प्रतिबद्धता भएको छ। जसमा सबैभन्दा बढी ऊर्जा क्षेत्रमा रहेको छ। ऊर्जा क्षेत्रका ४५ वटा उद्योगमा १ खर्ब १२ अर्बको लगानी प्रतिबद्धता आएको छ।

यसैगरी कृषि तथा वनजन्य १० वटा उद्योगमा १ खर्ब ९९ करोड रुपैयाँको लगानी प्रतिबद्धता आएको छ। यसैगरी १६ वटा आईसीटी उद्योगमा १ अर्ब ७ करोड र एउटा पूर्वाधार उद्योगमा १३ करोड ३१ लाख रुपैयाँको लगानी प्रतिबद्धता आएको छ। 

साथै उत्पादनमूलक क्षेत्रतर्फ १ सय १४ वटा उद्योगमा ४१ अर्ब ९१ करोड, खनिजतर्फ ४ वटा उद्योगमा ७६ करोड ४७ लाख, सर्भिसतर्फका ६६ वटा उद्योगमा ३० अर्ब ८२ करोड ३३ लाख र पर्यटन उद्योगतर्फ ६७ वटामा २५ अर्ब २७ करोड ४५ लाख रुपैयाँको लगानी प्रतिबद्धता आएको छ।

गत आव उद्योगमा आएको क्षेत्रगत लगानी प्रतिबद्धता

गत आवमा ३ सय ८ वटा उद्योगमा लगानी प्रतिबद्धता आएको थियो। ३ खर्ब ३९ अर्ब ५९ करोड १५ लाख ४० हजार ४ सय ३३ रुपैयाँको ३ सय ८ वटा उद्योगमा लगानी प्रतिबद्धता आएको थियो। जसमा सबैभन्दा बढी ऊर्जा क्षेत्रमा रहेको थियो। गत आवमा ऊर्जातर्फ ५० वटा उद्योगमा १ खर्ब ७० अर्बको लगानी प्रतिबद्धता आएको थियो। 

गत आवमा पर्यटनमूलक उद्योगतर्फ ५८ वटा उद्योगमा २६ अर्ब ५१ करोड, सर्भिसमूलक उद्योगतर्फका ४६ वटा उद्योगमा ४६ अर्ब ७५ करोड, खनिजतर्फका २ वटा उद्योगमा २५ करोड ९९ लाख, उत्पादनमूलक उद्योगतर्फ ११५ वटा उद्योगमा ८५ अर्ब ८२ करोड, आईसीटीतर्फका ११ वटा उद्योगमा १ अर्ब ८९ करोड, पूर्वाधारतर्फका ५ वटा उद्योगमा २ अर्ब ७० करोड र  कृषि तथा वनजन्य उद्योगतर्फ २१ वटा उद्योगमा ५ अर्ब २८ करोड ९० लाख रुपैयाँको लगानी प्रतिबद्धता आएको थियो।


प्रकाशित : आइतबार, असार ३१ २०८०१२:४६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend