शनिबार, असोज ५ गते २०८१    
images
images

विदेशमा सिकेको सिपले स्वदेशमा स्वरोजगार

images
आइतबार, असार ३१ २०८०
images
images
विदेशमा सिकेको सिपले स्वदेशमा स्वरोजगार

अष्ट्रेलियामा सिप सिकेर फर्किएका कमलबहादुर बोहोराले यहाँ अरुलाई रोजगारी समेत दिएका छन्।

images
images

गण्डकी- जागिरको खोजीमा दैनिक हजारौँ युवाहरु विदेशी भूमिमा पुग्छन्। स्वदेशमा भने जस्तो जागिर नपाउँदा श्रमको खोजीमा विदेशी भूमिमा जानु बाध्यता नै हो। तर यहाँका एक व्यक्ति भने विदेशमा सिकेको सिप सदुपयोग गर्दै स्वरोजगार बनेका छन्।

images
images
images

पोखरा महानगरपालिका-१५ वन क्याम्पस लेन नं ११ का ४२ वर्षे कमलबहादुर बोहोराले अष्ट्रेलियामा सिकेको मूर्तिकला प्रयोगमा ल्याउँदै आफू मात्र रोजगार नभई अरुलाई पनि रोजगारी दिएका छन्।

भारतीय सेनामा १७ वर्ष काम गरी निवृत्त भएसँगै उनी जागिरको सिलसिलामा अष्ट्रेलिया पुगे। उनले त्यहाँ रहँदा मूर्तिकारको सहयोगीका रुपमा काम गरे। 'अष्ट्रेलियामा मूर्तिकारले होटल तथा घरमा सौन्दर्यकरणका लागि पानीका झरना सहितका चरनमा रहेका जंगली जनावर र मागअनुसार मूर्ति बनाउनुहुन्थ्यो', उनले भने, 'सहयोगी भएर ६ महिना काम गरेपछि यस्तो काम त म नेपालमा गएर पनि गर्न सक्दछु भन्ने दृढ इच्छा शक्तिका साथ स्वदेश फर्किए।'

उनी अष्ट्रेलियामा काम गर्दा मासिक दुई लाख रूपैयाँ आम्दानी गर्थे। पछि त्यहाँ सिकेको सिपले पोखरामै व्यवसाय गर्न सकिन्छ भन्ने लागेर उनी स्वदेशी फर्किए। छ वर्ष अघि स्वदेश फर्किएका उनले हामी मासिक ७० हजार रूपैयाँभन्दा बढी आम्दानी गरिरहेका छन् भने तीन जनालाई जागिर पनि दिएका छन्।

images

होटल, घर, विद्यालय लगायतका लागि काम गर्ने भन्दै उनले भने, 'पानीको झरना, आसपासमा बच्चा सहितको मृग र ग्राहकको इच्छा अनुसारको देवदेवताको मूर्ति निर्माण गर्दा सामग्री बाहेक १२ हजार रूपैयाँ ज्याला लिन्छु।' आर्टसमा समेत रुचि राख्ने उनले घरको सिलिङ र विद्यालय सौन्दर्यकरणमा समेत काम गर्ने बताए।

उनीसँग हाल ढाकाराम अधिकारीका साथै बर्दियाका समित थारु र विजय थारुले काम गरिरहेका छन्। उनीहरुले मासिक १७ हजार रूपैयाँका दरले पारिश्रमिक पाउँछन्। 'मेरोमा काम नभएको समयमा उहाँहरु अन्यत्र काम गर्न जानुहुन्छ', उनले भने।

पोखरा महानगरपालिका वडा नं १७ सिताको पाइलास्थित ऐतिहासिक धार्मिक क्षेत्र सदाशिव हरिहर मन्दिर परिसरमा १०८ शिवलिंग र १०८ गौमुखे धारा निर्माण गर्दै गरेका मूर्तिकार बोहोरा स्वदेशमा केही गर्छ भन्ने सोच राख्ने हो भने विदेश जानु नपर्ने बताउँछन्।

'एक जोडि शिवलिंग र गौमुखे धारा निर्माण गरेको छ हजार पाँच सयका दरले सात लाख दुई हजार लिने गरी मन्दिर व्यवस्थापन समितिसँग सम्झौता भएको छ', उनले भने। शिवलिंग र पानी झर्ने झरनासहितको गौमुखे धाराले प्रसिद्ध धार्मिक क्षेत्र मुक्तिनाथको झझल्को दिएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष नगेन्द्र भण्डारीले जानकारी दिए। रासस


प्रकाशित : आइतबार, असार ३१ २०८००६:३२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend