शनिबार, असोज ५ गते २०८१    
images
images

इलाममा चिया प्रविधिसम्बन्धी अध्यापन हुने

images
शनिबार, असार ३० २०८०
images
images
इलाममा चिया प्रविधिसम्बन्धी अध्यापन हुने

विदेशमा चिया क्षेत्रमा छुट्टै अध्यापन हुने गरे पनि नेपालमा भने भर्खरै सुरू हुन लागेको हो। विद्यार्थीले पहिलो तीन महिना शिक्षालयमा पाठ्यक्रमअनुसार अध्ययन गर्नेछन् भने बाँकी समय चिया उद्योगहरुमा चिया प्रविधिसम्बन्धी व्यावहारिक अभ्यास गराइने छ।

images
images

इलाम- नेपालमा चियाखेती सुरू भएको एक सय ६० वर्षपछि इलाममा चियासम्बन्धी औपचारिक अध्यापन हुने भएको छ। इलाम नगरपालिका-१ को साँखेजुङस्थित रत्नकुमार वान्तवा बहुप्राविधिक शिक्षालयमा चिया प्रविधिसम्बन्धी अध्यापन हुने भएको हो।

images
images
images

चिया प्रविधि पढाइका लागि दुई वर्षे पाठ्यक्रम यसअघि नै स्वीकृत भइसकेको छ। पाठ्यक्रम विकास तथा स्तर निर्धारण महाशाखाले चियाको पाठ्यक्रम निर्माण गरेको थियो। पाठ्यक्रम निर्माणपछि प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्बाट उक्त पाठ्यक्रम स्वीकृत भइसकेको शिक्षालयका प्रमुख दीपक खनालले जानकारी दिए। उनले चिया प्रविधि प्री-डिप्लोमा तह (अप्रेन्टिसिप मोडालिटी) मा कक्षा सञ्चालन गर्ने तयारी गरिएको बताए।

खनालका अनुसार इलाममा यो विषय अध्यापन सुरू भएपछि चियासँग सम्बन्धी किसानलाई सहजता हुने भएको छ। उनले कक्षा सञ्चालनको पत्र आउन बाँकी रहेको बताए। पत्र पाएपछि अध्यापन सुरू गरिने उनको भनाइ थियो।

प्रमुख खनालका अनुसार विद्यार्थीले पहिलो तीन महिना शिक्षालयमा पाठ्यक्रमअनुसार अध्ययन गर्नेछन् भने बाँकी समय चिया उद्योगहरुमा चिया प्रविधिसम्बन्धी व्यावहारिक अभ्यास गराइने छ। चिया प्रविधि अध्यापनका लागि एक शैक्षिक सत्रमा २० देखि ४० जना विद्यार्थी समावेश हुने उनले जानकारी दिए। एसइई उत्तीर्ण गरेका विद्यार्थीले यो शिक्षामा सहभागी हुन पाउने उनको भनाइ थियो।

images

सयौँ किसान यस क्षेत्रमा रहेको र हजारौँको रोजगारी हुने गरेको चियामा हालसम्म नेपालमा चियासम्बन्धी प्रविधिको पढाइ नहुनु दु:खद् भएको खनाले बताए। गुणस्तरीय तयारी चिया निर्माणका लागि भारतबाटै प्राविधिकहरु ल्याउनुपर्ने बाध्यता रहँदै आएको थियो। 'चिया प्रविधि पढाइका लागि यो वर्ष कोशी प्रदेशस्थित सामाजिक विकास मन्त्रालयले सहयोग गर्ने भएको छ। मन्त्रालयको सहयोग हुन्जेल यहाँबाट शिक्षा लिने विद्यार्थीले बिनाखर्च अध्ययन गर्न पाउने छन्', उनले भने।

यसअघि सूर्योदय नगरपालिकाले माध्यमिक तहमा चिया विषयलाई पाठ्यक्रमका रूपमा लागु गर्ने योजना अघि बढाए पनि सफल भएको थिएन। त्यस्तै झापाको मेची बहुमुखी क्याम्पसमा केही समयअघि यो विषयको अध्यापन सुरू भए पनि तीन वर्ष सञ्चालन पछि पठनपाठन रोकिएको थियो।

विदेशमा चिया क्षेत्रमा छुट्टै अध्यापन हुने गरे पनि नेपालमा भने भर्खरै सुरू हुन लागेको हो। नेपाली श्रमिकले चिया टिप्ने, उद्योगमा सामान्य काम गर्ने गरेका छन्। जानीनजानी काम गर्ने गरेको भए पनि अब विषयगत रुपमा नै अध्यापन हुन लागेको छ। रासस


प्रकाशित : शनिबार, असार ३० २०८००८:२७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend